|

काठमाडौँ : दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताअन्तर्गत बिहीवार भएको महिला एकल कातामा नेपाल पुलिसकी चञ्चला दनुवार र पुरुषतर्फ एपिएफका सोनिम मानन्धरले स्वर्ण पदक जितेका छन्।

ललितपुरस्थित सातदोबाटेको कराते हलमा बिहीवार भएको महिलातर्फको कातामा चञ्चलाले कर्णाली प्रदेशकी एलिसा रासकोटीले पछि पार्दै स्वर्ण पदक जितेकी हुन्।

यसै स्पर्धामा वागमती प्रदेशकी मिरा खाती र प्रदेश १ की रोश्मा राईले काँस्य पदक जिते। पुरुषतर्फ सोनिम मानन्धरले पुलिसका महसुस मोक्तानलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन्। यसै स्पर्धामा मधेश प्रदेशका रेहान जावेद र त्रिभुवन आर्मीका विनय लिम्बूले काँस्य पदक पाए।

यस्तै टिम कातामा एपिएफले स्वर्ण पदक जितेको छ। फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो। फाइनलमा एपिएफले २४.३६ अंक र पुलिसले २३.८२ अंक जोडेका थिए। त्रिभुवन आर्मी क्लब र प्रदेश १ ले काँस्य पदकमा चित्त बुझाए। टिम इभेन्टमा ९ टोली सहभागी थिए।

गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव-२०७९ अन्तर्गत नेपाल कराँते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गर्ने राष्ट्रिय कराँते प्रतियोगितामा १० टोली सहभागी छन्। माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

पहिलो हुने प्रत्येक खेलाडीलाई स्वर्ण पदक सहित स्पोर्टस् ब्राण्डको गिफ्ट भौचर प्राप्त गरिनेछ। दोस्रो र तेस्रो हुनेले पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफी सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागका खेलाडी सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.