काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते च्याम्पियनसिपअन्तर्गत दोस्रो दिन शुक्रबार ५ वटा स्वर्ण पदक जित्न सफल भएको छ।
ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगितामा शुक्रबार नेपाल एपिएफ क्लबले एउटा स्वर्ण पदक थप्दा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको हो।
प्रतियोगिताको पहिलो दिन बिहीबार पुलिसले ३ र एपिएफ क्लबले २ वटा स्वर्ण पदक जितेको थियो। १७ इभेन्ट्समध्ये १२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक ८, एपिएफले ३ र आर्मीले एउटा स्वर्ण पदक जितेको छ।
प्रदेशका टोलीले भने अहिलेसम्म स्वर्णको खाता खोल्न सकेका छैनन्। प्रतियोगिताको अन्तिम दिन ५ वटा इभेन्ट्समा प्रतिष्पर्धा हुनेछ।
पुरुष कुमुते ६० केजी तौल समूहमा एपिएफका मीनबहादुर तामाङले स्वर्ण, आर्मीका किर्तन महर्जनले रजत तथा लुम्बिनी प्रदेशका यामबहादुर समाल र गण्डकी प्रदेशका सक्षम लामाले कास्य पदक जितेका छन्।
यसअघि शुक्रबारै नेपाल पुलिस क्लबकी सोनी राई महिला कुमुते ६१ केजी तौल समूहमा स्वर्ण, एपिएफकी रमिता माझीले रजत तथा आर्मीकी सानुमाया थिङ र मधेस प्रदेशकी खुस्बु खड्काले कास्य पदक प्राप्त गरिन्।
पुलिसका सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए। त्यसमा एपिएफका सुविन खत्रीले रजत तथा गण्डकी अंकित गुरुङ र राम बिसीले कास्य पदक जितेका थिए।
त्यसअघि महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठ स्वर्ण पदक जित्दा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्लले रजत, पुलिसकी सविना श्रेष्ठ र बागमती प्रदेशकी सोनु श्रेष्ठले कास्य पदक प्राप्त गरिन्।
यसअघि पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपिएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कास्य पदक प्राप्त गरेका थिए।
पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। त्यसमा आर्मीका विभूषा थापा रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गरे।
दिनको पहिलो खेलमा पुलिसका सञ्जय मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जितेका थिए। त्यसमा बागमतीका साइमन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।