|

गौर : पप्पु कन्स्ट्रक्सनले ९ वर्षदेखि अलपत्र अवस्थामा पुल निर्माणको काम छोडेको भन्दै पत्रकार सञ्जय सहनी आमरण अनशन बसेका छन्।

जिल्लाको गौर र ईशनाथ नगरपालिका जोड्ने टिकुलिया घाटस्थित लालबकैया नदीमा पुल निर्माणको माग गर्दै सहनीले सोमवारदेखि आमरण अनशन शुरु गरेका हुन्।​

पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको लालबकैयाको पुल यथाशीघ्र निर्माणका लागि सोमबार साँझ ७ बजेदेखि सहनी लालबकैया खोलाको बगरमा आमरण अनशन बसेका छन्।

सहनीले आफ्नो अभियानलाई सकारात्मक सोचका साथ लिन र सहयोग गर्न अनुरोध गरेका छन्। उनले आमरण अनशनबाटै प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री, सभामुख, पूर्व मन्त्री, मुख्य मन्त्री, सभामुख, सांसद, पूर्व सांसद, स्थानीय तह प्रमुख एवम् सरोकारवाला सम्पूर्णमा सम्बोधन गरेका हुन्।

पप्पु कन्स्ट्रक्सनले २०७१ सालमा पुल निर्माणको टेण्डर लिएर सडक डिभिजन कार्यालय हेटौंडासँग २०७४ माघ २९ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता गरेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए।

तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो।

लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर पप्पु कन्स्ट्रक्सनले लिएको थियो। पप्पुले निर्माण गरेको पुलको पश्चिमतिरको दुईवटा गडर पनि गुणस्तरहीन भएको सडक डिभिजनको ठहर छ।

२०७४ सालमा निर्माण पूरा हुनुपर्ने पुलको अधुरो संरचना गुणस्तरहीन भएकै कारण फुटेर झर्न थालेको थियो। म्याद नाघेको वर्षौंपछि पप्पुले गत वर्षदेखि पुरानै संरचनामा जोडेर निर्माण शुरु गर्दा डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले रोक्का गर्दा निर्माण कम्पनीले अटेरी गर्दै आएको थियो।

पछि डिभिजन प्रमुख दारोगा साहले अदालतमा परेको पप्पुविरुद्ध मुद्दाको केही दिनअघि भएको फैसलाअनुसार पप्पुको बैंक ग्यारेन्टी समेत जफत भएको छ।

पुल बनाउन पप्पुले उच्च अदालत वीरगन्जमा मागेको अन्तरिम आदेश खारेज भएपछि सडक कार्यालयले पप्पुको बैंक ग्यारेन्टी जफत गरेको हो।

पुल नबनेका कारण स्थानीय बासिन्दा हिउँदमा बाँसको लच्का बनाएर आवतजावत गर्न बाध्य छन्। पुल नबन्दा बन्जरहा,औरैया, मठिया, जोकहा, नरकटिया, रामपुर खाप डुमरिया परोहा लौतना लगायत दर्जनौं गाउँका बासिन्दालाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्ने बाध्यता छ।

२०७५ भदौ ९ गते साँझ खेतमा काम गरेर फर्केकाहरू सवार डुंगा त्यही पुलको पिलरमा ठोक्किएर पल्टिँदा ५ जनाको ज्यान गएको थियो। डुंगामा सवार २४ जनाले पौडिएर ज्यान जोगाएका थिए।

ती सबै घटनालाई मद्देनजर गर्दै स्थानीय पत्रकार सहनीले अनशन शुरु गरेको बताए। टिकुलिया घाटमा हालसम्म पनि पुल निर्माण नहुँदा बाध्य भएर अनशनमा बसेको सहनीले बताए। गौर टिकुलिया घाट लालबकैया नदीको पुल चाँडै निर्माण गर्ने निर्देशन हरिनारायण रौनियारले टेरेनन्।

सहनीले पुल निर्माणसँगै टेण्डर लिएर लापरबाही गर्ने पप्पु निर्माण सेवाका तत्कालीन सञ्चालक हरिनारायण रौनियारमाथि कारबाहीको माग गरेका छन्। रौनियारको लापरबाहीले ५ जनाको ज्यान गएको भन्दै मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.