|

तुलसीपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले हामी सांस्कृतिक पुनःनिर्माणको सँघारमा रहेको बताएकी छन्।

बुधबार दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद शिक्षण भवनको समुद्घाटन समारोहमा बोल्दै उनले नेपालको राजनीतिक, आर्थिक, सामाजिक नैतिक पुनःनिर्माण गर्दै यी सबैको समष्टि रूप सांस्कृतिक पुनःनिर्माणको सँघारमा रहेको बताइन्।

उनले अहिले सांस्कृतिक पुनरुत्थानको महान् यात्रामा गतिशील रहेको बताइन्। उनले यसलाई नेपाली सम्भ्यताका पुनर्जागरण नाम दिएको पनि उल्लेख गरिन्।

विश्वका हरेक देशमा राष्ट्रिय पुनर्जागरण यात्रालाई त्यहाँका विश्वविद्यालय तथा बौद्धिक संस्थाहरूले नेतृत्व दिएर गन्तव्यमा पुर्‍याएका उदाहरण पाइएको भन्दै नेपालका सन्दर्भमा पनि राष्ट्रिय पुनःनिर्माणको गुरुतर अभियानको नेतृत्व विश्वविद्यालय र प्राज्ञिक संस्थाहरूले लिनुपर्ने सुझाव दिइन्।

उनले भनिन्, ‘नेपाली संस्कृति, नेपाली चेतनाको स्वभाविक उत्तराधिकार बोकेको नेपाल संस्कृत विश्वविद्यालयले सांस्कृतिक पुनरुत्थान र पुनःनिर्माणको यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।’

यसैगरी उनले नेपाल सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मा नेपाललाई हिन्दु, बौद्ध लगायत प्राचीन दर्शन सभ्यता, संस्कृति लगायतको केन्द्रविन्दु बनाई पूर्वीय दर्शन आधारित अध्ययन तथा अनुसन्धान व्यवस्था मिलाउने कुरालाई महत्त्व दिएको पनि बताइन्।

नेपाल संस्कृत विश्वविद्यालयले सरकारको यो सरोकार सम्बोधनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘पूर्वीय दर्शन, चिन्तन, मौलिक दर्शन एवं परम्परा, आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, मानविकी, समाजशास्त्र, जैविक विविधता, पर्यटन, जडीबुटी लगायतका अध्ययन, अनुसन्धान व्यवस्था मिलाउने कुरामा सरकारले जोड दिएको छ।’

यसैगरी उनले हाम्रो परिकल्पना आर्थिक समृद्धि तथा भौतिक सुखसँग मात्र नभई सांस्कृतिक, नैतिक र सभ्यतागत उच्चतासँग सम्बन्धित रहेको पनि बताइन्। उनले हाम्रो पहिचान, स्वाभिमान, सम्मान र निजत्वको खोजी गर्नुपर्ने अवस्था रहेको पनि उल्लेख गरिन्।

उनले अहिलेको व्यस्त जीवनमा जीवनशैली व्यवस्थापनका लागि हाम्रा महर्षिहरूले खोज गरेका विधि र पद्धति निकै महत्त्वपूर्ण सावित हुँदै गएको पनि उल्लेख गरिन्।

नले भनिन्, ‘ती विधि र पद्धतिको प्रचारप्रसार गरी फाइदा लिन सक्नुपर्छ। जीवन एउटा कला हो। यसलाई ढंग पुर्‍याएर जिउन जान्नु पर्छ। हाम्रा महर्षिहरूले सिकाएका अनेकौं कुरा यही जीवन कलाकै व्यवस्थापनका लागि हुन्।’

संस्कृत विश्वविद्यालय नेपालको परम्परागतको संस्कृति, कला, इतिहास र मूल्य मान्यताको अधिकार सम्पन्न संस्था भएको पनि उनको भनाइ थियो। विश्वविद्यालयले विविधताको सम्मान सहित नेपाली समाजको बौद्धिक नेतृत्व गर्दै भावी पुस्तालाई आफ्नो मूल्य र पहिचानप्रति जागरुक तुल्याउन सक्नुपर्नेमा जोड दिइन्।

ऋषिमुनिहरूले नासोको रूपमा सुम्पिएका आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, प्राचीन विधि शास्त्र, वैदिक कृषि, वास्तुशास्त्र जस्तालाई आधुनिक तरिकाले पठनपाठन गराउनेतर्फ विश्वविद्यालयले पहल गर्नुपर्नेमा समेत सुझाव दिइन्।

पूर्वीय वाङ्मयमा आयुर्वेदलाई उपवेद मानेको भन्दै आयुर्वेद हाम्रै माटोको उपज भएको उनको भनाइ थियो। अहिले पनि नेपाली समाजमा आयुर्वेदका सयौँ विज्ञहरू परम्परागत उपलब्ध रहेको उनले बताइन्।

नेपालका आदिवासी समुदायमा समेत आयुर्वेद र जडीबुटीका विशेषज्ञहरू रहेको भन्दै हाम्रो सभ्यताबाट सृजित ज्ञानलाई अझ विकास गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न आयुर्वेद शिक्षण भवनले ठूलो योगदान गर्ने समेत बताइन्।

यस्तै कोरोना महामारीपछि विश्वमा प्राकृतिक जीवन शैली तथा आयुर्वेदप्रतिको विश्वास र आकर्षण बझ बढेको पनि बताइन्। उनले आयुर्वेद पूर्वीय सभ्यताको मात्र नभई संसारकै साझा सम्पत्ति बनेको पनि उल्लेख गरिन्।

उनले भनिन्, ‘हाम्रो मौलिक स्वास्थ्य पद्धतिको रूपमा रहेका आयुर्वेद, योग, प्रणायाम, ध्यान, प्राकृतिक चिकित्साका साथै हाम्रा जनजातीय समुदायमा पाइने शारीरिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित तथा लोप हुन लागेका अनेकौँ उपचार पद्धति र ज्ञानको खोजी, अनुसन्धान, संरक्षणका लागि विश्वविद्यालय क्रियाशील हुन आवश्यक छ।’

यसैगरी उनले विश्वविद्यालय अचल सम्पत्तिको दृष्टिले अत्यन्तै समृद्ध भए पनि उक्त सम्पत्तिलाई विद्यालयको विकास र विस्तारमा सदुपयोग गर्न नसकेको पनि बताइन्।

उनले विद्यालयको चल-अचल सम्पत्तिको संरक्षण र संवर्धन गर्दै त्यसको अधिकतम परिचालन गरी विद्यालयले आर्थिक रूपमा आत्मनिर्भर गर्न प्रयत्न गर्नुपर्ने समेत बताइन्। यस्तै उनले त्यसका लागि सरकारका तर्फबाट सहयोग प्राप्त हुनेमा आफूले विश्वास लिएको पनि बताइन्।

यसैगरी उनले संस्कृतसँग आफ्नो व्यक्तिगत र भावनात्मक सम्बन्ध रहेको पनि उल्लेख गरिन्।

उनले भनिन्, ‘जननेता मदन भण्डारी पनि संस्कृत क्षेत्रकै उत्पादन हुनुहुन्थ्यो। संस्कृत वाङ्मयको अध्ययन गरेको हुनाले नै जननेता मदन भण्डारीमा सृजनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेम जस्ता गुण विद्यमान थिए। उहाँ आफ्नो जीवन कालमा धेरै पटक दाङ आउनु भएको र उहाँले यहाँका समाजिक एवं प्राकृतिक विशेषताको वर्णन गर्नुभएको प्रसङ्ग अहिले मलाई स्मरण भइरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.