दु:खसँग लड्दै राजकुमारी, डाक्टर बन्ने पुष्पाको सपना

|

म्याग्दी : सामुन्ने निरन्तर सुसाउँदै बगिरहेको छ म्याग्दी नदी। पछाडि मंगलाघाट–डम्मरा सडकमा गुडिरहने सवारी साधनको चर्को आवाज। नदी र सडकको माझमा छ, बंगुरको खोर। त्यही खोरको एउटा कोठामा जिन्दगीको अत्यासलाग्दो समयसँग जुधिरहेकी छन्, ४५ वर्षीया राजकुमारी राई र उनकी छोरी १५ वर्षीया पुष्पा।

म्याग्दी नदीको सुसाइसँगै दिनहुँ मिसिन्छन् राजकुमारीका दुःखका सुस्केराहरु। उनले भोगेका दुःखको कहानी र म्याग्दी नदीमा बगिरहेको पानीको आवाज सुन्दा उस्तै उस्तै लाग्छ। बगेर कहिल्यै नसकिने म्याग्दी नदीको पानी जस्तै जति भोगे पनि नरित्तिने छ उनको दुःखको कहानी।

श्रीमानले दोस्रो विवाह गरेर चरमा यातना दिन थालेपछि छोरी लिएर राजकुमारी ६ वर्षअघि खोटाङबाट म्याग्दीको सदरमुकाम बेनी आइपुगेकी हुन्। म्याग्दी आएपछि दुई वर्ष गिट्टी कुट्ने,वालुवा चाल्ने काम गरिन्। विगत ४ वर्षदेखि  बेनी नगरपालिका–७, मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्मको छाप्रोमा उनी छोरीसँग बस्दै आएकी छन्।

‘अफ्रिकन स्वाइन फिवर’ संक्रमणले बंगुर रित्तिएपछि खोरका मालिक समेत सम्पर्कमा छैनन्। खान बस्न र छोरीको शिक्षादीक्षाका लागि मासिक ५ हजार दिने सहमति भए पनि साहुले कहिल्यै तलब नदिएको उनले बताइन्। ‘साहु पनि सम्पर्कमा छैनन्। पेटभर खाने अन्न छैन। कैयौँ रात भोकै सुत्नु परेको छ’, राजकुमारीले भनिन्।

कोठामा एउटा भाँचिएको खाट छ। खाटैभरि पुराना कपडा, छोरीका किताब असरल्ल छन्। खाने खर्च छैन। दैनिक ज्यालामजदुरी गरी कमाएको २ हजार समेत केही दिनअघि दिउँसो आएका चोरले लगेपछि भोकै रात काट्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्।

आमाको दुःख देखेकी र चरम गरिबीसँग जुधेकी पुष्पा पढाइमा अब्बल छिन्। उनी बेनी नगरपालिका–२,बगरफाँटस्थत सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ पढ्छिन्।  कक्षामा सधैं प्रथम हुने गरेको शिक्षक प्रेमबहादुर कार्कीले बताउँछन्। आमाको काममा समेत सहयोग गदैं पढाइमा मेहनत गरिरहेकी पुष्पा धेरै पढेर डाक्टर बनी आमाको सपना पूरा गर्ने बताउँछिन्।

९ वर्षको उमेरमा आमासँगै घर छाडेकी पुष्पालाई बुबाको अनुहारसमेत याद छैन। उनी बुबाले आजसम्म छोरी भनेर फोनसमेत नगरेको गुनासो गर्छिन्। ‘बुबाले घरबाट निकाले पछि हाम्रो अवस्था अत्यन्त खराब छ’ उनले भनिन्, ‘तर पढाइमा मेहनत गरेको छु। ठूलो भएपछि डाक्टर बन्ने हो। आमासँग पैसा नभएका कारण विद्यालयबाट स्टेसनरी, पोशाक सहयोग मिलेको उनले सुनाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.