निर्धन लघुवित्तले दिँदैन बचत गरेको पैसा

|

रौतहट : चन्द्रपुर नगरपालिका- ५ नहर टोलकी सीता देवी दास गाँउमा कसैले मोटरसाइकल रोक्यो भने छिमेकीको घर पस्छिन् नत्र खेततिर कुद्ने गरेकी छन्।

३६ वर्षकी दासले ८ वटा विभिन्न लघुवित्तबाट ऋण लिएकी छिन्। सोही ऋणको किस्ता माग्न लघुवित्तका कर्मचारी आउने गरेका छन्।

गाँउमा नयाँ मान्छे आयो भने लुक्ने कसरी भनेर नै दैनिकी बितेको छ। विगत ४ वर्षदेखि साउदीमा रहेका उनका श्रीमानले पनि यतिबेला पैसा पठाउन छाडेपछि उनी नयाँ मान्छे देख्यो कि भाग्नुपर्ने अवस्थामा पुगेकी हुन्।

चन्द्रनिगाहपुरको देउराली चोकमा कस्मेटीकको पसल गरेर बसेकी शिला साहको चक्करमा परेर सीता यतिबेला नयाँ मान्छे देख्यो कि लुक्न बाध्य हुने गरेकी हुन्। उनी सहकारी लघुवित्तको ७ हजार, नेशनल लघुवित्तको २० हजार, विजय लघुवित्तको ७० हजार, ज्योति लघुवित्तको १३ हजार, निर्धन लघुवित्तको ५० हजार, आशा लघुवित्तको ७० हजार, समता लघुवित्तको ४० हजार र स्वावलम्बन लघुवित्तको ७५ हजार तिर्नुछ।

 यी सबै लघुवित्तबाट लिएको पैसा उनले शिला साहलाई दिइन्। पहिला पहिला दुई चार किस्ता ती लघु वित्तको किस्ता साहले नै  तिरिन्। एकवर्ष पहिला आफ्नो कस्मेटिक पसल बेचेर साह सम्पर्कविहीन भएपछि आठवटै लघुवित्तका कर्मचारी उनको घरमा पैसा उठाउन जान थाले।

केही समय पहिला दुई वर्षमा साउदीबाट घर आएका उनका रामचन्द्र दासले नभएको ऋण टाउकोमा बोकाएको भन्दै सीतालाई कुटपिट गरे।

आफूले कमाएको एक पैसा लघुवित्तको ऋण तिर्दिनँ भन्दै रामचन्द्र साउदीतिर लागेपछि सीताको समस्या सुरु भएको हो। शिलाको इसारामा पैसा ऋण दिने लघुवित्तका कर्मचारी उनी बेपत्ता भएपछि यतिबेला सीताको घरमा आउने गरेका छन्।

श्रीमानले विदेशबाट पैसा पठाउन छाडेपछि ६ वटी छोरी र एउटा छोरा पाल्नका लागि उनी गाँउघरमा कमाउने जाने गरेकी  छिन्। कमाएर छोराछोरी पाल्नु कि लघुवित्तको किस्ता तिर्नु उनलाई यतिबेला मर्नु न बाँच्नुको अवस्था भएको छ।

८ वटा लघुवित्तको ऋणका कारण आफूलाई श्रीमानले छाड्ने अवस्था आएको उनले दुखेसो पोखिन्। 'लघुवित्तबाट लिएको ऋणको ब्याज समयमा चुक्ता गर्न नसकेपछि लघुवित्तले ब्याज पनि सावाँमा जोड्ने गर्छ।

यसरी छिटो–छिटो ब्याज समेत सावाँमा जोडिँदै गएपछि आफ्नो ऋण कति पुग्यो ऋणीलाई थाहा हुन छाड्छ। ब्याज पनि सावाँमा जोड्यो भन्छन्', उनले भनिन्,  सीता भन्छिन्, ऋण कति पुग्यो भन्ने थाहै छैन। यस्तै अवस्था अहिले यो टोलका दर्जनौँ व्यक्तिसँग छ।'

प्रेमा परिन् लघुवित्तको पासोमा

चन्द्रपुर नगरपालिका- ५ की ३४ वर्षीया प्रेमादेवी गोसाई यतिबेला आधा दर्जन लघुवित्तको पासोमा परेकी छन्। एकवर्ष पहिला मुटु रोगका कारण श्रीमान शंकर गोसाईंको मृत्यु भएपछि आधा दर्जन लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ।

आफ्नो नाममा एक धुरसमेत जमिन नभएका शंकर गोसाईं बागमती सिंचाई आयोजाको नहरको डिलमा साना घर भनाएर बसेका थिए। उनी राज मिस्त्रीको काम गर्थे। उनलाई मुटुसम्बन्धी रोगले च्यापेपछि लघुवित्तबाट ऋण लिएर उपचारमा खर्च भयो।

 चार लाख पनि सकियो श्रीमानको समेत ज्यान गएपछि यतीबेला प्रेमा देवीलाई आफ्ना दुई छोरा र एक छोरीको पालन पोषणका लागि हातमुख जोड्न नै समस्या परेका बेला आधा दर्जन लघु वित्तका कर्मचारीको दिनकै गाली सुन्न उनी बाध्य भएकी छिन्।

नेशनल लघुवित्त एक लाख,डिप्रोक्स लघुवित्तबाट एक लाख ५० हजार, आशा लघुवित्तबाट एक लाख, समता लघुवित्तबाट ७० हजार, हम सव लघुवित्तबाट ८० हजार, निरुडे लघुवित्तबाट एक रुपैयाँ उनले ऋण लिएकी थिइन्।

उनले मासिक रुपमा नेशनललाई १३ हजार, डिप्रेक्सलाई १७ हजार, आशालाई १० हजार, समतालाई सात हजार, हमसवलाई ८ हजार र निरुडेलाई १० हजारमा दरले किस्ता तिर्नुपर्ने अवस्था रहेको छ।

दिनको पाँच सयको पनि व्यापार नहुने उनको सानो घुम्ती पसलबाट उनले लघुवित्तको मासिक किस्ता तिर्न नसकेपछि उनी दिनकै लघुवित्तका कर्मचारीको गाली बेइजती सहन बाध्य भएकी हुन्। नहर टोलमा समूह बनाएर समूह बनाएर विभिन्न लघुवित्तले ऋण दिएका थिए।

'कुन लघुवित्तमा कति किस्ता बुझाएभन्नेसमेत मलाई थाहा छैन। लघुवित्तका कर्मचारीले ऋणीलाई दिनुपर्ने पासबुकसमेत आफैँले लिएर गए', प्रेमादेवी भन्छिन्। लघुवित्तका कर्मचारी दिनकै घरमा आएर ऋण तिरेन भने तेरो नागकिरता खारेज हुन्छ, छोरा छोरीको नागरिकता बन्दैन् ,विद्यालयमा पढ्न पाउँदैन,पत्रिकामा तीन पुस्ताको नाम छापिन्छ भन्दै तर्साउने गरेको उनको गुनासो छ। पहिला सबै लघुवित्तका कर्मचारी आएर समूह बनाएर ऋण लिन उकासेको र अहिले आएर घरमा बस्नै नदिने अवस्थामा पुर्‍याएको उनको भनाइ रहेको छ।

निर्धन लघुवित्तले दिँदैन बचत फिर्ता

विगत विस वर्षदेखि निर्धन लघुवित्तसँग कारोबार गरेकी एक वृद्ध महिलाको १ लाख ५० हजार बचत सो संस्थाले फिर्ता गरेको छैन। चन्द्रपुर ५ कै नहर टोलकी ६५ वर्षकी समिता संहनीको बचत गरेको एक लाख ५० हजार रकम निर्धन उत्थान लघुवित्तले फिर्ता नगरेको हो।

निर्धन उत्थानको नाममा संचालित यो संस्थाले ती वृद्धाको रकम फिर्ता नदिनुको कारण भने उनको समूह हो।

गाउँमा पाँच जनाको समूह बनाएर ऋण लिएकोमा चारजना महिलाले साँवा र ब्याज तिरेनन्। उनीहरूले ऋणको र सावाँ ब्याज नतिरेका कारण उनले जम्मा गरेको बचत फिर्ता गर्न सो संस्थाले नमानेको हो। 'अरूले तिरेन भनेर मेरा बचत गरेको पैसा पनि फिर्ता दिएनन्', उनले भनिन्।

घरमा एक जना कमाउने मान्छे देख्योकी गाउँमा समूह बनाउनुस ऋण लिनुस भन्दै लघुवित्तहरू घरघर आउने एकजनाले पैसा तिरेन् भने अर्कोबाट असुल्ने काममा सक्रिय हुने गरेको समूहमा आबद्ध महिलाहरूको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.