|

काठमाडौं : सरकारले बिहीवार (आज)देखि १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०३० सम्म नेपालमा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिई यो अभियान सञ्चालन गरेको हो।

यसअघि सन् २०२० मा नै निवारण गर्ने लक्ष्य लिएर कार्यक्रम सञ्चालन गरे पनि सफल हुन सकेन। त्यसैले १० वर्षको समय बढाइएको हो। 

नेपालमा सन् २००३ मा पर्सा जिल्लाबाट औषधि खुवाउन सुरु गरिएको थियो। पछि ६४ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि अभियान सञ्चालन गरिएको थियो।

तीमध्ये ४८ जिल्लामा विरामी फेला नपरेपछि औषधि खुवाउन बन्द गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।

‘हाल ४८ वटा जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन बन्द गरिएको छ तर यो जिल्लाका बासिन्दामा हात्तीपाइलेको जीवाणु छ‚ छैन भनेर समुदायस्तरमा रगत परीक्षण गरेका छौँ’‚ डा. दाहालले भने।

सरकारले हरेक दुई-दुई वर्षमा रगत जाँच गर्ने र यी रोगको दरको अवस्था हेर्ने र जोखिम भए कार्यक्रम सञ्चालन गर्ने गरेको छ।

आजबाट १५ जिल्ला (झापा, मोरङ, महोत्तरी, धनुषा, बारा, सर्लाही, रौतहट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली)का ८४ लाख ९८ हजार ५०० जनालाई यो औषधि खुवाउन थालिएको छ। गत वर्ष यी १५ वटा जिल्लामा समुदायमा परीक्षण गर्दा हात्तीपाइलेको जीवाणु फेला परेकाले औषधि खुवाउन थालिएको डा. दाहालले बताए। रसुवामा समुदायस्तरमा परीक्षण गर्दा हात्तीपाइलेको जीवाणु भेटिएको हुँदा यो वर्षदेखि रसुवामा  पनि औषधि खुवाउन शुरु गरिएको हो। अपेक्षाकृत रूपमा नघटेका जिल्लामा लगातार दुई वर्ष औषधि खुवाइन्छ।

औषधि खानै मान्दैनन् जनता

सरकारले निकै महत्त्वका साथ न कार्यक्रम सञ्चालन गरे पनि जनताले त्यस किसिमले औषधि खाएको पाइएको छैन।​ यसको औषधि धेरै पटक खानुपर्ने हुँदा पनि जनतामा खाने इच्छा कम भएको बताउँछन् डा. दाहाल। सन् २०२१ सम्म पाँचपटक औषधि खानुपर्थ्यो।

लगातार पाँचपटक नखाइदिँदा समस्या भएको उनले बताए। यसैले गत वर्षदेखि  एकपटकमा तीन प्रकारका औषधि दिन थालेको डा. दाहालले बताए।

‘यो औषधि सेवन गर्दा कसै कसैलाई हल्का असर देखिए पनि डराउनु पर्दैन। यस्ता लक्षण कसैलाई केही घन्टामा ठिक हुन्छ भने कसैलाई अलि समय रहन सक्छ तर असर भने गर्दैन‘‚ डा. दाहालले भने।

पहिलो कुरा हात्तीपाइले रोगका लक्षण नदेखिए पनि रोगका परजीवी शरीरमा हुनसक्छन् र औषधि खाएपछि ती परजीवी मर्छन्। औषधि सेवन गरेमा शरीरमा भएका हात्तीपाइलेका परजीवी अरूमा सर्दैनन्। केही घण्टामा आफैं हराउँछन्।

केही गरी लामो समयसम्म लक्षण रहिरहे नजिकको स्वास्थ्य संस्थामा सल्लाह र उपचारका लागि सम्पर्क गर्न दाहालको सुझाव छ।

हाल हात्तीपाइलेविरुद्धको औषधि  खुवाउँदा जुकाको औषधि (एल्वेन्डाजोल) पनि खुवाइन्छ।

के हो हात्तीपाइले रोग?

हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपांग बनाउने सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। एकपटक यो रोग लागेपछि पूर्णरूपमा सन्चो नहुने हुँदा रोगबाट बच्नुपूर्व औषधि खानुपर्छ।

शरीरमा हात्तीपाइले रोगको परजीवी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन। यो परजीवी केही वर्षसम्म मानिसको शरीरमा सुषुप्त रहन्छ। शरीरमा प्रवेश गरेको केही वर्षपछि यो रोगका लक्षण देखिन थाल्छन्।

यो रोगका प्रमुख लक्षण भनेको खुट्टा हात्तीको जस्तो ठूलो हुँदै जाने र अण्डकोष सुन्निने हो। रोगका लक्षण देखिइसकेपछि निको पार्न सकिँदैन। धेरैजसो संक्रमण लक्षणविनाको हुन्छ।

विश्वमा सन् २००० मा ७२ देशमा १२ करोड मानिसमा हात्तीपाइले रोग पुष्टि भएको थियो। तीमध्ये जम्मा ४ करोड विरामीमा मात्र लक्षण देखिएको थियो। त्यो संख्या अहिले आएर ५ लाखमा झरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.