काठमाडौँ : नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले अहिलेसम्म आफ्ना माग सम्बोधन नगरेको भन्दै पुन: चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारले माग पूरा गर्ने आश्वासन दिए पनि हालसम्म यसको कुनै संकेत नदेखिएपछि आन्दोलन कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको बताए।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले तेस्रो राष्ट्रिय सम्मेलनद्वारा आफ्नो घोषणापत्र जारी गरेको छ। फागुन १५ गतेदेखि फागुन मसान्तसम्म ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने र चैत्र १ गतेदेखि ७ गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइहरूमा ध्यानाकर्षण पत्र बुझाउने घोषणापत्रमा उल्लेख छ।
यसैगरी चैत २१ गते संघीय सरकारका सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ। यो समयसम्म पनि सरकार सकारात्मक नबने देशभरका विद्यालय अनिश्चितकालसम्म बन्द गर्ने कार्यक्रम घोषणा गर्ने परिषद्को चेतावनी छ।
परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल)हरूको तलब ३४ हजार ७३० र सहयोगीको २४ हजार २१० रुपैयाँ हुनुपर्ने, कर्मचारीलाई दरबन्दीमा समायोजन गरी एकपटकका लागि प्रक्रिया पुर्याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने लगायत माग राख्दै गत भदौ १२ गतेदेखि १८ गतेसम्म सामुदायिक विद्यालय बन्द आह्वान गरेको थियो।
यसै आह्वानमा ऐक्यबद्धता जनाउँदै केही स्थानीय तह र विद्यालय बन्द गरिएका थिए। त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलन कार्यक्रम स्थगित गर्न लगाई वार्तामा बोलाएको थियो। वार्तामा माग सम्बोधन गर्ने भनिए पनि हालसम्म कुनै प्रक्रिया अघि नबढाएको भन्दै कर्मचारीहरू पुन: आक्रोशित बनेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।