|

म्याग्दी : म्याग्दी मगरबहुल जिल्ला हो। मगर कला संस्कृतिले यस जिल्लालाई सिँगारेको छ। यहाँ करिब ४७ प्रतिशतभन्दा बढी बसोबास मगरहरूको छ। मगर र म्याग्दी पर्यायवाची शब्द जस्तै बनेका छन्।

सोमबार ४१औं राष्ट्रिय मगर एकता दिवसका दिन म्याग्दी मगरमय बन्न पुुग्यो। अन्य दिनभन्दा सोमबार म्याग्दीको सदरमुकाम बेनीको माहोल बेग्लै थियो। परम्परागत भेषभूषा र आकर्षक पहिरनमा सजिएका मगर समुदायको जमघट बाक्लो थियो।

छिटको गुन्यू,चौबन्दी चोली अनि रातो घलेकी र पटुका। त्यसैमाथि खुर्पेटो र हँसिया। निधारमा टीका, पहेँलो पोतेमा सिँगारिएका मगरसेनी तथा भोटो, इस्टकोट, कछाड, गलबन्दी, भरकलि लगाएका मगर पुरुषको उपस्थितिले पूरै जिल्ला नै मगरमय बन्यो।

यहाँ भव्य रुपमा विविध सांस्कृतिक कार्यक्रम भए। मौलिक पहिरनमा चिटिक्क परेका मगर समुदायका युवायुवती, प्रौढ र वृद्धवृद्धासमेत कार्यक्रममा सरिक भएका थिए।

परम्परागत मारुनीलगायत नाचहरु प्रदर्शन गरिएको थियो। ठूलो नाच, भैली नाच, सोरठी‚ सालैजोजस्ता गीत गाउँदै मादल ठोक्दै गुन्यू र चोलो र टोपीको पहिरन फूलमाला लगाएर गरिएको नृत्यको दृश्य हेर्दा जो कोहीलाई नाचुँ नाचुँ जस्तो हुन्थ्यो।

म्याग्दी मगर कला संस्कृतिमा धनी रहे तापनि पछिल्लो समय युवाहरू गाउँ छोड्ने‚ रोजगारीका लागि शहर बजार, विदेशिने कारण पाका पुस्ताबाट युवा पुस्तामा मौलिक कलासंस्कृति पूर्ण रुपमा हस्तान्तरण हुन नसकेको मगर समुदायका पाका पुस्ताका व्यक्तिहरूको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.