|

धनकुटा : पछिल्लो समय लोप हुँदै गएको लदि पूजा धनकुटाको कुशेटारका माझी समुदायले मंगलबार धुमधामसँग मनाएका छन्।

सडक निर्माण र नदीहरूमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेशा माछा मार्ने, डुंगा (नाउ) मा मानिसहरूलाई नदी तार्ने काम बन्द भएपछि लदि पूजा पनि बन्द भएको थियो।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३ कुशेटारमा २०५७ सालदेखि लदि पूजा हुन सकेको थिएन। द्वन्द्वकालमा आएको समस्याका कारण नदीमा लदि पूजा हुन सकेको थिएन। तर २२ वर्षपछि कुशेटारका माझी समुदायका लदि पूजा मनाएको स्थानीय फूलमाया माझीले बताइन्।

अल्पसंख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायको परापूर्व कालदेखि नै खोलाको किनारमा बसि माछा मार्ने, डुंगा (नाउ) मा राखि मानिसहरूलाई नदी तारिदिने काम गर्थे। उनीहरू सधैँ खोला तथा नदीको नजिक हुने, त्यहीँ बस्ने र त्यसैमा आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहीआएको बताइन्छ।

लदी पूजा गर्नाले माझी समुदायको मुख्य पेशाको रुपमा परिचित पुर्ख्यौली पेशा नदीमा डुंगा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास रहेको छ।

साथै, नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यतासमेत रहेको छ। वर्षातको समयमा नदीले वर्षेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पुर्‍याइरहेको छ। त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपुर्‍याओस् भनेर नदीको पूजा गरिँदै आएको स्थानीय नवीन माझीले बताए।

लामो समयदेखि लदि पूजा बन्द भएको हुँदा यसको संरक्षण गर्नका लागि यसपटकबाट बुढापाकासँगको सहकार्यमा युवाहरूको अग्रसरतामा पूजा मनाउन थालिएको नवीनले बताए।

लदि पूजामा आएका माझी समुदायले मौलिक पोशाक गुन्यू चोली र फेटा इस्टकोटमा सजिएका थिए। आफ्नै समुदायमा समेत यसको महत्व उजागर गर्न आवश्यक रहेको नवीनले बताए।

माझी समुदायले मुख्य पर्वको रुपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ। माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरूको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.