|

ललितपुर : आईसीसी विश्वकप लिग–२ अन्तरगत त्रिकोणात्मक सिरिजमा बिहीबार नेपालले घरेलु टोली यूएईसँग खेल्दै छ। नेपाल–युएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो।

नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई हराएमा अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेटमा स्थान बनाउनेछ। पाँच छुट्टाछुट्टै क्षेत्रीय छनोट प्रतियोगिताबाट शीर्ष स्थान हासिल गर्ने एक–एक वटा गरी पाँच टोली विश्वकपका लागि छनोट हुनेछन। 

एसियाबाट नेपालले विश्वकपका लागि छनोट हुने मौका बनाएको हो। ६ राष्ट्र सहभागी प्रतियोगितामा अहिलेसम्म खेलेका ४ वटै खेलमा नेपाल र घरेलु टोली यूएई अपराजित छन्। यो खेलको विजेता विश्वकपमा पुग्ने र हार्नेको विश्वकपको सम्भावना सकिने हुँदा दुवैका लागि बिहीबारको खेलमा ‘गर या मर’को अवस्था छ। 

दुवै टोली सम्पूर्ण शक्ति लगाएर जित हासिल गर्दै छनोट हुन भरमग्दुर प्रयास गर्नेछन्। सिंगल राउण्ड रोविनका आधारमा चलिरहेको प्रतियोगितामा खेलेका अहिलेसम्मका सबै खेल जितेकाले दुवै उच्च मनोबलका साथ मैदानमा उत्रिँदैछन्। 

नेपालले जुन–जुन टिमलाई हराएको छ, त्यही टिमलाई नै यूएईले पाखा लगाएको छ। नेपालले सिंगापुरलाई ९६ रनले हराउँदा युएईले आठ विकेटले हराएको छ। नेपालले कुवेतलाई २४३ रनले पराजित गर्दा युएईले कुवेतलाई आठ नै विकेटले हराएको छ। हङकङ नेपालसँग ९ विकेटले हार्दा यूएईसँग १६३ रनले पराजित भयो। यसैगरी नेपालले मलेसियालाई १० विकेटले निराश पार्दा यूएईले सात विकेटले हरायो। 

सन् २०१६ मा पछिल्लो पटक बंगलादेशमा भएको यू–१९ विश्वकप खेलेपछि यो उमेर समूहको टिमले त्यसपछिका तीन संस्करणमा दोस्रो भएर छनोट हुन सकेन। सन् २०१८ को यू–१९ विश्वकपमा अफगानिस्तान बाधक बन्दा २०२० र २०२२ मा पनि यूएई नै विश्वकपमा नेपाललाई छनोट हुन नदिने तगारो बनेको थियो। यो पटक नेपाललाई अघिल्ला संस्करणको छनोटको बदला लिने सुनौलो अवसर मिलेको छ। यद्यपि यूएईको घरेलु मैदान भएकाले उसलाई खेल्न केही सहज हुने अनुमान गरिएको छ। 

नेपाली प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको युवा टोली उच्च मनोबलका साथ मैदान उत्रिँदैछ। टमाटा नेपाललाई एकदिवसीय मान्यता दिलाउने प्रशिक्षक हुन्  भने उनले नै यसअघि नेपाली यू–१९ टिमलाई २०१६ को विश्वकपसम्म पुर्‍याएका थिए।  नेपाली टिम पनि निकै फर्ममा देखिएको छ। ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट भइरहेको छ। विगतका म्याच हेर्ने हो भने अहिलेको सिनियर टिम भन्दा निकै सन्तुलित बनेको छ, यू १९– टिम। 

प्रतियोगितामा शतक हानिसकेका कप्तान देव खनालसँगै अर्का शतकधारी अर्जुन कुमालको पनि ब्याटिङ चलिरहेको छ। अन्य ब्याट्स्म्यानको पनि प्रदर्शन सम्झिनलायक छ। बलिङतर्फ तीब्र गतिका बलर आकाश चन्द र हेमन्त धामीको प्रर्दशन निकै लयमा देखिएको छ। उनै आकाशले कुवेतविरुद्धको खेलमा एक्लैले ६ विकेट लिएका थिए। उनले तीन खेल खेल्दै नेपालका लागि सर्वाधिक ११ विकेट लिइसकेका छन्। 

विकेट लिनेमा स्पिनर दिपेश कँडेल, सुवास भण्डारी र मिलन बोहराले किफायती बलिङ गर्दै विकेट पनि झारेका छन्। सिनियर टिममा जस्तै बलिङ गर्नेको कमी यहाँ छैन। ब्याटिङको ओपनिङ लाइनअप पनि मिलेको छ। छनोटको होडबाट सिंगापुर, मलेसिया, हङकङ र कुवेत बाहिरिसकेका छन्। केही दिनअघि नेपालमै भएको लिग– २ को त्रिकोणात्मक श्रृङ्खलामा एकपक्षीय नतिजा ल्याएर जित्दा खेलाडीको मनोबल बढेको क्रिकेट विश्लेषक बताउँछन्। विश्लेषक राजु बस्नेत पछिल्लो समय नेपाली टोलीले ल्याइरहेको नतिजाले उत्साह मात्र नभई आत्मविश्वास पनि बढाएको तर्क गर्छन्। 

अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा आयोजकसहित अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेष्ट इण्डिज र जिम्बाबेले भाग लिएका छन्। अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया र एसिया गरी पाँच क्षेत्रबाट उत्कृष्ट हुने एक–एक गरी १६ टोलीले विश्वकप खेल्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.