|

ललितपुर : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा १४ टोली सहभागी छन्। तीन विभागीय टोली र पाँच काठमाडौंका क्लबसँग ललितपुरका ६ क्लबले प्रतिस्पर्धा गर्दै छन्।

ए डिभिजन लिगमा लामो समयदेखि खेल्दै आएका मंगलबजारको थ्रीस्टार क्लब, जावलाखेलको जावलाखेल युथ क्लब र कुपण्डोलको फ्रेण्ड्स क्लब  शुक्रबार सुरु भएको प्रतियोगितामा सहभागी छन्। पछिल्लो एक दशकमा सी डिभिजन छनोट हुँदै सीबाट बी डिभिजन र बीबाट ए डिभिजनमा प्रवेश गरेका ललितपुरका सातदोबाटो युथ क्लब, खुमलटार युथ क्लब र चर्च ब्वाइज क्लब पनि ए डिभिजनका अरु क्लबसँग प्रतिस्पर्धा गर्दैछन्।

सातदोबाटो अघिल्लो संस्करणमा प्रवेश पाउनेवित्तिकै चौथो भएको टोली हो भने चर्च ब्वाइज बी डिभिजन विजेता भएर तथा खुमलटार उपविजेता बनेर ए डिभिजनमा बढुवा भएका क्लब हुन्। ​

ललितपुरे क्लबको इतिहासमा थ्रीस्टार बाहेक अन्य कुनै क्लबले ए डिभिजन लिग जित्न सकेको छैन। २०५४, २०६१ र २०६९ गरी थ्रीस्टारले तीनपटक ए डिभिजन लिगको उपाधि जितेको छ। जावालाखेल र फ्रेण्ड्स क्लब पछिल्ला केही वर्ष ए डिभिजनमै टिकिरहन संघर्ष गर्दै आएका छन्। यसपालि उनीहरूको उद्देश्य शीर्ष ६ सम्म पर्ने रहेको छ। फ्रेण्ड्सले अघिल्लो सिजनको तुलनामा घरेलु फुटबलमा नाम चलेका खेलाडी अनुबन्धगरेको छ। फ्रेन्ड्सका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यो सिजनमा शीर्ष ६ मा पुग्ने  लक्ष्य रहेको बताए।

लिगमा सहभागी तीन विभागीय टोली बाहेक हरेकले विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन्। ललितपुरका ६ वटै क्लबले विदेशी खेलाडीलाई आफ्नो टिममा राखेका छन्। पछिल्ला संस्करणका इतिहास हेर्ने हो भने नवप्रवेशी टिमले समेत ए डिभिजन लिगमा धमाका देखाइरहेका छन्। खुमलटार यो पटक उपाधि जित्ने योजनामै रहेको छ। खुमलटारका कप्तान रेजिन सुब्बा राम्रो खेल प्रदर्शन गर्नेमा आशावादी भएको बताउँछन्। केही दिन अघिसम्पन्न केपीओली कप फुटबलमा पनि राम्रो प्रदर्शन गरेर उपविजेत बनेको सातदोबाटो पनि राम्रो नतिजाको पर्खाइमा छ। क्लबका कप्तान सुदीप गुरुङ सबै खेलाडीले शतप्रतिशत खेलेरै राम्रो नतिजा ल्याउने बताउँछन्। 

ललितपुर–ए डिभिजनमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, एनआरटी क्लब र मनाङ मर्स्याङ्दी क्लबसँगै त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब पनि सहभागी छन्। 

४६ औं संस्करणको यो ए डिभिजन लिग राजधानीका तीन मैदानमा आयोजना हुँदैछन्। डबल राउण्ड रोबिनको आधारमा हुने लिग त्रिपुरेश्वरको दशरथ रंगशाला, ललितपुर सातदोबाटाको एन्फा कम्प्लेक्सको मैदान र  पाटन च्यासलको च्यासल मैदानमा हुनेछ। १४ वटा क्लबबीच  लिगमा कुल १८२ खेल हुनेछ।

लिग विजेताले ७५ लाख  जित्दा उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख नगद  पाउनेछन्। प्रतियोगितामा फेयर प्ले टोलीले ३ लाख पाउने छ। यसैगरी प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने खेल बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 

यसैगरी लिगका हरेक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलरक्षकले २ लाख तथा उदीयमान इमर्जिङ खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.