चालकको चिन्ता : कुन दिन दुर्घटनामा परिन्छ‚ थाहा छैन

|

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण र ठेकेदारले बिजुलीको तार भूमिगत गर्ने नाममा सडक खनेर खाल्डैखाल्डा छाडेका छन्। महिनौँ बितिसक्दा पनि खाल्डा नपुर्दा सवारीसाधन दुर्घटना हुने जोखिम बढेको छ। 

धोबीखोला करिडोर,चावहिलस्थित ओम अस्पताल अगाडि,चुच्चेपाटीस्थित पानीट्यांकी लगायत अन्य काठमाडौं उपत्यकाको क्षेत्रमा तार भूमिगत गर्न सडक खनेर काम सकिँदा पनि ती खाल्डा अझै पुरिएको छैन। ती खाल्डामा ढल जमेको छ।

खाल्डा पिच नहुँदा सर्वसाधारणको ज्यान जोखिममा परेको छ। यस्तो अवस्थामा पनि सम्बन्धित निकायले ती खाल्डा पुर्ने चासो देखाएको छैन। अर्कोतर्फ तार भूमिगत गर्ने र खानेपानीको पाइप जडान गर्न समन्वय छैन।

प्राधिकरणले भूमिगत तारका लागि सडक खन्दै जान्छ भने फेरि अर्कातर्फ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)ले सडक खन्दै जाने प्रवृत्ति कायम छ।

खानेपानीको पाइप तिनचुली क्षेत्रमा सडक खनेर गाडिएको छ तर ती खनेका सडक अहिलेसम्म न पिच भएको छ ग्राबेल नै हालियो।

चालकको चिन्ता : कुन दिन दुर्घटनामा परिन्छ‚ थाहा छैन

बिहीवार धोबिखोला करिडोरमा भेटिएका जोरपाटीका रामप्रसाद भण्डारीले सडक खनेर समयमा नपुरिँदा जोखिम बढेको बताए। उनी बाइक चालक हुन्।

उनले भने, ‘म प्रायः यही बाटो हुँदै हिँड्छु तर कुन दिन खाल्डोमा परेर दुर्घटनामा परिन्छ थाहा छैन। दुई महिना भइसक्दा पनि यताका खाल्डा पुरिएका छैनन्।’

समयमा सडक पिच नगरेका कारण पिच भएको सडक पनि जीर्ण बन्दै गएको उनले बताए। ‘केही ठाउँमा सडक पूरै चिल्ला छ, आफू केही छैन होला भनेर सररर जाँदा बीच सडकमा त खाल्डा बनाएर तार गाडिएको रहेछ। त्यही खाल्डामा अब कुन परिने भन्ने थाहा छैन। धन्न अहिलेसम्म ज्यान जोगाउन पाइएको छ’‚ उनले भने।

कहीँ वर्षौदेखि सडक पिच भएको छैन। पिच भएको सडक पनि खन्दै पुर्दै फेरि खन्दै गर्नाले सडक भद्रगोल अवस्थामा पुगेको उनले बताए। ‘अब वर्षा समय आउँदै छ’‚ उनले भने, ‘त्यो समयसम्म पनि यी खाल्डा पुरेर पिच भएन भने त्यहाँ पानी जमेको हुन्छ। झनै ज्यान धरापमा पर्छ। अहिले धुलो उडिरहेको छ, धन्न स्थानीय बसिरहेका छन्।’

यतिखेर उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सडक अनुगमनमा जान भ्याइ नभ्याइ छ। हिजो (बिहीवार) भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गर्न पुगेका थिए। यसरी खनेर अलपत्र परेका सडकको अनुगमन भने उनले गरेका छैनन्। 

फुटपाथ पनि गायब

अहिले कुरूप देखिएको बिजुली, इन्टरनेट लगायतका तार व्यवस्थित गर्ने भन्दै सरकारले तारलाई भूमिगत (अन्डरग्राउण्ड) गर्न वि.सं. २०७४ सालमा प्रक्रिया अघि बढाएको थियो। 

तार व्यवस्थित गर्न नेपाल विद्युत् प्राधिकरण र भारतीय निर्माण कम्पनी एइआई इन्डस्ट्रिजबीच सन् २०१९ मार्चमा ठेक्का सम्झौता भयो। यी कम्पनीले रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा सम्पूर्ण विद्युत् वितरण लाइन भूमिगत गराउने सम्झौता भयो।

पछि २०७६, फागुन ५ गते मात्रै पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जको विद्युत् वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा तार भूमिगत गर्ने काम भएको हो।

त्यसैगरी केइआई इन्डस्ट्रिज लिमिटेड इन्डियाले पाएको ठेक्का सम्झौतानुसार रत्नपार्क‚ नयाँबानेश्वर‚ तीनकुने‚ एयरपोर्ट‚ गौशाला‚ चाबहिल‚ चुच्चेपाटी‚ बौद्ध, जोरपाटी क्षेत्रमा भूमिगत गर्नुपर्ने छ तर हालसम्म तार भूमिगतकाे काम पनि सकिएकाे छैन। अर्कातर्फ भूमिगत गरिएको ठाउँमा पनि फुटपाथ छेक्ने गरी इलेक्ट्रिक क्याबिनेट बक्स राखिएको छ।

त्यस्ता समस्या अनामनगर, चावहिल, महाराजगञ्ज लगायतका क्षेत्रमा छ। सडक विस्तार गर्दा साँघुरिएको फुटपाथ ढाक्ने गरी ती बक्स राखिँदा पैदल यात्रीलाई आवतजावत गर्न सास्ती छ। प्राधिकरण यी ठाउँका बक्स सार्ने भनेको थियो तर हालसम्म केही गरिएको छैन।

सडक विभाग भन्छ : जसले खनेको छ, उसैले पिच गर्ने हो

सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेलले जसले अहिले सडक खनेको, उसैले सडक पिच गर्नुपर्ने बताए। उनले थाहाखबरसँग भने, ‘विद्युत प्राधिकरण होस् या अन्य निकायले सडक खनोस्, जो निकायले खन्छ उसैले जस्ताको त्यस्तै सडक बनाउनुपर्छ, सबै उसैको जिम्मेवारी हो।’

सडक खनेर अलपत्र छाड्न नपाउने उनले बताउँदै अलपत्र पारिएका ती ठाउँमा तत्काल पिच गर्न निर्देशन दिए। सडक विभागसँग स्वीकृति लिएर मात्र सडक खन्न पाइने उनको भनाइ छ। 

ढिलो, छिटो पिच हुन्छ : प्राधिकरण 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जहाँ तार भूमिगत गर्दा सडक खनिएको छ ती ठाउँमा पिच गरिने प्रतिबद्धता जनाए। ‘सबै काम सकेपछि ठेकेदार आफैँले सडक पिच गर्छ, ठेकेदारले नै जे अवस्थाबाट खनेको छ त्यही अवस्थामा ल्याउनुपर्छ, अस्तव्यस्त बनाएर छाड्न पाउँदैन’‚ उनले भने।

महिनौँ बित्दा पनि खाल्डा नपुरिँदा सवारी चालकहरूको ज्यान जोखिम भयो भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई पनि समस्या थाहा छ, सडकमा काम गर्न नखनी भएन, सडक नै व्यस्त‚ हिँड्न गाह्रो, काम पनि गर्न सजिलो छैन, हामीले सबैले नकारात्मक लिएर हुँदैन।’

ठेकेदारले काम सक्ने त्यसपछि सफा गर्दै सडक पिच गर्ने उनको भनाइ छ। ‘मान्छे हिँड्नै नमिल्ने ठाउँमा काम भइरहेको छ, कसरी काम गर्दै छ भनेर सोध्दैन, केही त समस्या आइहाल्छ’‚ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.