४ अर्ब जुटाउन नसक्दा रोकियो जग्गा अधिग्रहण

|

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट आवतजावत गर्ने  विदेशी पाहुना हुन् या नेपाली सर्वसाधारण सबैले आकाशबाट देख्ने दृश्य हो–तीनकुनेको जग्गा। उक्त खाली जग्गामा अनेक संरचना बनाउन केन्द्र सरकार र स्थानीय सरकारको समेत आँखा लाग्ने गरेको छ।

अनेक योजना बनिन्छ तर कार्यान्वयनमा ल्याउन नसक्दा तीनकुनेको खाली जग्गा : अनेक योजना, तर अलपत्र छ। त्यसो त सरकारकै टाउको दुखाइ बनेको छ यो जग्गा। सबैकाे आँखा त्यहाँ पर्ने तर कुरूप दृश्य देखिने हुँदा सरकारले वेला बखत ती ठाउँ ढाक्न देखावटी भए पनि सजावट गर्छ। 

२०७५ साल भदौमा भएको बिमस्टेक सम्मेलनमा विदेशी पाहुनाले कुरूप दृश्य नदेखून् भनी चौरको चारैतिर मौलिक पहिचानका चित्रले घेरिएको थियो। त्यस्तै, २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि उक्त खाली जग्गाको डिलमा विभिन्न संरचनाले सजावट गरियो।

ती हालिएका हात्तीका आकृतिलगायत संरचना फुटिसके। केही भने अराजक व्यक्तिले ढालिदिए। तैपनि हालसम्म अघि सारिएका कुनै पनि योजना कार्यान्वयन भएनन्।

काठमाडौं महानगरपालिकाले हरेक वर्षको नीति तथा कार्यक्रममा उक्त तीनकुनेको जग्गा छुटाउँदैन। कहिले ‘आधुनिक बगैंचा’ बनाउने, कहिले ‘तीनकुने शान्ति मण्डल’ त कहिले बुद्ध पार्क निर्माण गर्ने योजना महानगरको नीति तथा कार्यक्रममा समेटिन्छ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७२/७३ को बजेटमै त्यस ठाउँमा आधुनिक पार्क बनाउने योजना समेट्यो। महानगरपालिकाले ‘कोटेश्वर तीनकुने पार्क निर्माण’ शीर्षकमा १ करोड रूपैयाँ बजेट पनि विनियोजन गरेको थियो।

१ अर्ब २३ करोड ४६ लाख ७५ हजार ८९४ रूपैयाँ ८ पैसा लागतमा पार्क बनाउने प्रारम्भिक प्रस्ताव पनि गरियो।

आर्किटेक्टस् डिजाइन एशोसिएट्सले महानगरमा प्रस्तुत गरेको डिजाइनमा पार्कको मध्य भागमा १६ मिटर अग्लो बुद्ध मूर्ति राख्ने प्रस्ताव गरेको थियो। तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यको कार्यकाल बित्यो‚ काम भने भएन।

अहिले बालेन्द्र साहले काठमाडौं महानगरपालिका सम्हालिरहेका छन्। उनी नगरपालिका प्रमुख भएपछि पनि आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा  महानगरपालिका वडा ३२ स्थित तीनकुने जग्गाको मुआब्जासम्बन्धी विषयको समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक पहल गर्ने भनेर समेट्यो।

‘समस्या समाधान भएपछि उक्त स्थानमा अन्तरराष्ट्रिय स्तरको पार्क निर्माण गरिनेछ’‚ नीति तथा कार्यक्रममा भनिएको छ। साह नगर प्रमुख निर्वाचित भएको ९ महिना बितिसक्दा पनि त्यहाँ कुनै योजना अघि सार्न सकेका छैनन्।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर जग्गा विवादका कारण पार्क बनाउने प्रक्रिया अगाडि बढ्न नसकेको बताउँछन्। ‘जग्गा विवाद छ, अरू थप के के भयो भन्ने जानकारी मलाई छैन, नेपाल सरकारलाई मात्रै थाहा छ’‚ उनले जवाफ दिए। 

अब पार्क होइन ‘फ्लाई ओभर’ बन्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले तीनकुनेको उक्त खाली जग्गामा अब पार्क नभई ट्राफिक जाम व्यवस्थापनका लागि ‘फ्लाई ओभर’ निर्माण गरिने बताए।

उनले थाहाखबरसँग भने, ‘अब त्यहाँ पार्क होइन ‘फ्लाई ओभर’ निर्माण गर्ने भनेर प्रक्रिया अगाडि बढिसकेको छ, एअरपोर्टको जग्गामा गएर टनेल बनाउने हो, अहिले जग्गा अधिग्रहणले काम रोकिएको छ।’ 

उनका अनुसार त्यहाँ जम्मा ३५ रोपनी जग्गा छ। २२ रोपनी जग्गा काठमाडौं महानगरपालिकामार्फत अधिग्रहण भइसकेको छ।

‘करिब २४ रोपनी सरकारी जग्गा भइसक्यो, ११ रोपनी निजी जग्गा अधिग्रहण गर्न बाँकी छ, यही जग्गा कसरी सल्टाउने भनेर टाउको दुखाइको विषय भइरहेको छ’‚ उनले भने।

अर्कातर्फ जापान सहयोग नियोग (जाइका) ले त्यहाँको जग्गा विवाद सल्ट्याएर मात्र ‘फ्लाई ओभर’ निर्माणको काम अगाडि बढ्ने र यसका लागि कहिलेसम्म समस्या सल्टिन्छ भनेर बारम्बार सोधिरहेको उनले बताए।

‘जाइकाले कसरी जग्गा विवाद सल्टयाउँछाै भनेर सोधेको साेध्यै छ’‚ उनले भने, ‘हामीले जवाफ दिन सकेका छैनौँ, जाइकाले चक्रपथ अतिक्रमण क्लिएर गर अनि मात्र काम सुरु हुन्छ भनेजस्तै यहाँ नि त्यही सन्देश दिएको छ।’

उनका अनुसार उक्त जग्गाको सबै तथ्यांक निकालिसकिएको छ तर जग्गा अधिग्रहण गर्न आर्थिक स्रोत जुटाउन नसकिएको उनको भनाइ छ।

‘हामीले महानगरपालिकासँग तथ्यांक मागेर कुन कुन कित्ता रहेछ भनेर अध्ययन गरिसक्यौँ। सबै यकिन पनि भइसक्यो’‚ उनले भने, ‘तर जग्गा अधिग्रहणलगायत कामका लागि करिब ४ अर्ब चाहिने रहेछ। यो पैसा कताबाट जुटाउने भनेर टाउको दुखाइ नै बनेको छ।’ यसका लागि आर्थिक स्रोत जुटाउन मन्त्रालय लागिपरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.