|

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जे थुम्कीमा निर्माणाधीन जनजाति पार्क निर्माण अलपत्र बनेको छ। गाउँपालिकाकै ठूलो पार्कका रुपमा विकास गर्ने उद्देश्यले निर्माण कार्य थालिएको उक्त पार्क बजेट अभावमा अलपत्र परेको हो। जनजाति पार्क साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माण थालिएको थियो।

अमेरिकी टेलिभिजन च्यानल सिएनएनले घुम्नैपर्ने विश्वको १२ औँ गन्तव्य सूचीमा राखेको नाम्जेमा आर्थिक वर्ष २०७५÷७६ मा पार्क निर्माणको काम सुरु गरिएको थियो।

एक करोड ३५ लाख रुपैयाँको लागत रहने अनुमान गरिएको पार्कको निर्माण सुरु गरिएको थियो। पार्कमा हालसम्म प्रदेश सरकारको एक करोड ४४ लाख रुपैयाँ खर्च भइसकेको छ। आदिवासी जनजातिको भाषा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारको ससर्त लगानीमा सो पार्कको गत वर्षदेखि निर्माण सुरु गरिएको थियो।

तर निर्माण सुरु भएको यतिका वर्षसम्म निर्माण पूरा नहुँदा निर्माणाधीन पार्क आधा बनेर अलपत्र अवस्थामा रहेको छ।

पार्कमा एक सभाहल र विभिन्न जातिका पहिचानको प्रतिमा राख्नका लागि विभिन्न स्तम्भ बनाइएको छ। पार्क निर्माणका लागि गाउँपालिकाको बजेटले धान्न नसक्ने भएपछि प्रदेश र संघ सरकारलाई निर्माण सम्पन्न गर्न आग्रह गरेर आगामी वर्षसम्ममा सञ्चालनमा ल्याउने गरि पहल गर्ने गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए।

जनजाति पार्क निर्माणस्थल जाने बाटोको सीमाका विषयमा केही समयअगाडि विवाद भएका कारण पनि बजेट निकासामा ढिलाइ भएको बताइएको छ।  गाउँपालिकाको पहलमा अब चाँडै काम सुरु हुने विश्वास अध्यक्ष राईले व्यक्त गरे।

पार्क स्थानीय ग्रामीण जनता माविको छ रोपनी जमिनमा गाउँपालिका र विद्यालयले आम्दानीमा साझेदार गर्ने गरी बन्न लागेको हो। पार्क निर्माणका लागि आर्थिक वर्ष २०७८-७९ मा ७५ लाख रुपैयाँको काम हुन नसकी रकम फिर्ता गएको थियो भने चालु आर्थिक वर्षमा २०७९-८० मा १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

समयमा काम पूरा गर्न पर्याप्त बजेट नआएकाले पार्क निर्माण पूरा हुन नसकेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए।

पार्क समयमै निर्माण पूरा नहुँदा जीर्ण बन्न थालेकोले पार्कको संवर्द्धन गर्न तत्काल पार्क सञ्चालक समिति गठन गरेर बाँकी काम पूरा गर्ने योजनामा रहेको गाउँपालिका अध्यक्ष राईले बताए।

जनजाति पार्क निर्माण भएपछि यस क्षेत्रका आदिवासी जनजातिको भाषा, धर्म, संस्कृतिको प्रचार–प्रसार, संरक्षण, संवद्र्धन हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल समेत बन्ने अपेक्षा गरिएको छ। पार्कमा आदिवासी जनजातिको बाजागाजा राख्ने पिलर, बौद्ध स्तुपा, पहुँच मार्ग निर्माण, शौचालय र घेराबारको काम भने अन्तिम चरणमा पुगेको छ। पार्क सहित नाम्जेको बृहत् विकास गर्नका लागि आठ करोडको डिपिआर रहेको स्थानीय बालकृष्ण राईले जानकारी दिए। जसमा पार्कका लागि तीन करोड ७७ लाख ८७ हजार लागत रहेको छ भने अन्य बौद्ध गुम्बा, अतिथि गृह र शौचालय डिपिआरमा समावेश छन्।

जनजातिको कला, संस्कृति, संस्कार, परम्परा, भेशभूषा लोप हुँदै गएकाले पार्क निर्माण गरी संरक्षण गर्न लागिएको हो। पूर्वकै प्रमुख पर्यटकीय नगरी भेडेटारको दुई किमी दक्षिण–पूर्वमा रहेको नाम्जे गाउँ मगर संस्कृति र घरबास (होमस्टे)ले परिचित छ। जसले गर्दा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न जनजाति पार्क निर्माण सुरु गरिएको थियो।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.