|

दाङ : रामप्रसाद न्यौपाने तुलसीपुर उपमहानगर–१९ हाडिमे दाङमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रमा ५ वर्षदेखि कार्यरत छन्।

उनी विद्यालय पढ्दै गर्दा लागुऔषध दुर्व्यसनमा फसेपछि नयाँ पाइलामा कुलतबाट मुक्त हुन २०७२ फागुन ११ गते आएका थिए। शुरुमा विद्यालय पढ्दै गर्दा साथीभाइको सङ्गतले चुरोट खान सिकेका उनी पछि लागुपदार्थ दुर्व्यसनमा फसे।

उनले भने, ‘शुरुमा चुरोट खान शुरु गरेँ। कुलतमा फसेको थाहा पाइनँ। घरबाट खाजाका लागि ५० रुपैयाँ दिए, २० रुपैयाँको खाजा खाने १० रुपैयाँको गुट्खा, २० रुपैयाँको चुरोट खाइन्थ्यो।’

उनका अनुसार सुधारगृहमा आएपछि लागुपदार्थ खान नपाएर छटपट्टी लाग्ने, निद्रा नलाग्ने, दिमागले काम नगर्ने, शरीरमा केही नपुगेको जस्तो हुने समस्या हुन्थ्यो। त्यसपछि यहाँबाट उपचार तथा परामर्श लिँदै गएपछि विस्तारै सबै लत छुट्दै गएको पनि उनको भनाइ छ।

यस्तै उनले सुधार केन्द्रमा बसेर दुर्व्यसनीलाई सुधार्न मौका पाउँदा निकै खुशी लाग्ने पनि बताए। नयाँ पाइलाका कारण आफ्नो घरपरिवारले गरेको मेहनतको कदर गर्न पाएको भन्दै हिजो दिनमा घरपरिवार तथा समाजबाट हेर्ने दृष्टिकोण र आजको दिनमा हेर्ने दृष्टिकोण पनि फरक पाएको र सबैले साथ र सहयोग दिएको पनि उनको अनुभव छ।

उनले आफ्नो छोराछोरी कुन अवस्थामा के गर्दै छ भन्नेमा अभिभावकले ध्यान दिनुपर्ने उल्लेख गरे। उनले अभिभावकले छोराछोरीलाई पैसा दिँदा के कारणले मागेका छन् भन्नेमा सजग रहे बच्न र बचाउन सकिने बताए।

यस्तै उनले अहिले सुधार केन्द्रमा दुर्व्यसनमा फसेकालाई ६ महिनासम्म मात्र उपचार गर्ने गरेकोमा एक वर्षसम्म उनीहरूलाई उपचार तथा परामर्श दिनुपर्ने बताए।

सुधार केन्द्रमा आनीबानी र आचरणको थेरापी, आध्यात्मिक तथा काउन्सिल जस्ता कुरा दिएर कुलतबाट मुक्त बनाउने पनि उनको भनाइ छ।

जिल्लामा लागुऔषध नियन्त्रण तथा रोकथामका लागि विभिन्न किसिमका कार्यक्रम भइरहेका छन्। नेपाल प्रहरी पनि यसलाई रोकथामका लागि काम गर्दै आएको छ। जिल्लामा १९ वटा सुधार केन्द्र छन्।

यस्तै दाङ लमही नगरपालिकाका युवराज डाँगी पनि अहिले करिब डेढ वर्षदेखि नयाँ पाइलामा स्वयंसेवककै रूपमा काम आएका छन्। उनी पनि कक्षा ४ मा पढ्दादेखि नै चुरोट खान शुरु गरेका थिए। उनले भने, ‘अरूले चुरोट खाएको देखेर मैले पनि चुरोट खान शुरु गरेँ। पछि चुरोटको लतले नपुगेपछि गाँजा, चरेस, ब्राउन सुगरसमेत खान थालेँ।’

उनले आफू त्यो लतबाट मुक्त भएर नयाँ जीवन पाएको भन्दै खुशी व्यक्त गरे। उनले कुलतमा फसेर आफ्नो पढाइ बिग्रिँदा अहिले धेरै पछुतो लागेको भन्दै समाजमा केही गरेर देखाउने पनि बताए। यस्तै उनले सुधार केन्द्रमा बसेका व्यक्तिलाई अहिले पनि समाजले नराम्रो दृष्टिले हेर्ने गरेको गुनासो गरे।

उनले भने, ‘सुधार केन्द्र भन्नेबित्तिकै त्यहाँ बिग्रेका मान्छे मात्र बस्छन् भन्ने हाम्रो समाजले सोच्छ।’ उनले नशाका कारण स्वास्थ्यमा असर, पैसा जाने र आफ्नो र घरपरिवारको समाजमा इज्जत जाने भएकाले पनि त्यसबाट बच्न अभिभावक जिम्मेवार बन्नुपर्ने बताए। 

उनले भने, ‘आफ्ना छोराछोरीले के कस्ता कार्य गरिरहेका छन्। त्यसबारे नजिकबाट बुझिरहनु पर्छ। छोराछोरीसँग बुबाआमा पनि नजिक हुनुपर्छ। आज मेरो साथीले यस्तो भन्यो, उसले यस्तो गर्‍यो भन्ने कुरा सजिलै बुवाआमालाई भन्न सकेमा उनीहरूको बानी पनि थाहा हुन्छ।’

यस्तै छोरोछोरी घरबाट कापीकलम किन्न पैसा लगेमा उसले साँझ कापीकलम किनेर ल्याउँछ कि ल्याउँदैन भन्नेमा पनि अभिभावकले ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले आफ्नो छोराछोरीको जीवनशैली फरक पाएमा वा कतैबाट पैसा ल्याएको खण्डमा पनि त्यसको सोधीखोजी गर्नुपर्ने बताए।

उनले भने, ‘परिवारले आफ्ना छोराछोरी कुलतमा फसेर अन्तिम अवस्थामा पुगेको थाहा पाउँछन्। जसले गर्दा उनीहरूलाई लागुऔषध नभई नहुने अवस्था हुन्छ।’

करिब १ हजार ३ सयजनालाई नयाँ जीवन 
नयाँ पाइला पुनःस्थापना केन्द्र अर्थात् लागुपदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्रले स्थापना भएदेखि हालसम्म १३ सयभन्दा बढी व्यक्तिलाई दुर्व्यसनबाट मुक्त गराएर नयाँ जीवन दिएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले बताए।

२०७१ साल माघ २१ देखि सञ्चालनमा आएको सुधार केन्द्रले दाङ लगायत विभिन्न जिल्लामा १३ सय व्यक्तिलाई कुलतबाट मुक्त बनाएको र करिब ३० हजार परिवारलाई लागुऔषधको बारेमा काउन्सिलिङ दिएको उनले बताए।

यस्तै आफूले कुलतबाट मुक्त गराएकामध्ये केही व्यक्ति फेरि कुलतमा फस्ने गरे पनि ८० प्रतिशत व्यक्ति समाजमा स्थापित भएको पनि बताए। यहाँबाट मुक्त भएका केही व्यक्ति दुर्व्यसनमा फसेको र केही कारागारमा समेत रहेको र केहीको निधन भएको उनको भनाइ थियो। 

उनले भने, ‘परिवारले सन्तानको हाउभाउ कस्तो छ के गरिरहेका छन् भन्नेमा ध्यान नदिएसम्म प्रहरीले यसलाई रोक्न सक्दैनन्। दुर्व्यसनबारे सचेतनामूलक कार्यक्रम गर्दा परिवारको उपस्थिति कम हुन्छ।’ 

ब्राउन सुगर‚ ट्याब्लेट र गाँजा खाने धेरै 
भुसालका अनुसार पछिल्लो समय ब्राउन सुगरसहित अस्पतालमा पाइने ट्याब्लेट र गाँजा प्रयोग गर्नेहरू धेरै आउने गरेका छन्। डाक्टरहरूले प्रयोग गर्ने औषधि दुरुपयोग भएकाले यसमा ध्यान दिनुपर्ने पनि बताए।

उनले भने, ‘अहिले १३ वर्षदेखि माथिका युवाले ट्याब्लेट प्रयोग गरेको पाइन्छ। दुर्गम क्षेत्रमा मादक पदार्थ र गाँजा प्रयोग गर्ने पाइन्छ भने सुगम क्षेत्रमा ब्राउन सुगर, ट्याब्लेट, सुई प्रयोग गर्ने धेरै छन्।’

उनका अनुसार जिल्लामा महिलाका २ वटा र पुरुषका १७ वटा सुधारगृह रहेका छन्। यस्तै पछिल्लो समय महिलाहरू पनि लागुऔषधको कुलतमा फस्ने गरेको उनको भनाइ छ। विगत २ वर्षमा करिब ३० जना महिलाहरूलाई महिला सुधारगृहमा आफूले पठाएको समेत उनले बताए।

तुलसीपुरमा पनि लागुऔषध सेवन व्यापक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताए। विशेष गरी युवाहरू कुलतमा फसेको उनको भनाइ छ।

यस्तै उनले लागुऔषध न्यूनीकरण गर्न प्रहरी एक्लैले मात्र नहुने भएकाले परिवार तथा समाजको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.