‘गाउँपालिकालाई जिल्लाको नमुना शैक्षिक गन्तव्य बनाउनेछौँ’

|

काठमाडौं : पछिल्लो समय बढ्दो शहरीकरणका कारण गाउँघर रित्तिँदै छ। पहिलो त शिक्षा,स्वास्थ्य र रोजगारीकै अभाव भएको भन्दै शहर पलायन हुनेको कमी छैन तर गाउँमै विद्यार्थीलाई शिक्षामा टिकाउन र पढाइप्रति ध्यान आकर्षण बढाउन काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाले विद्यार्थीलाई प्रोत्साहनका विभिन्न कार्यक्रम ल्याएको छ।

गाउँपालिकाका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ए प्लस ल्याउने सरकारी विद्यालयका सबै विद्यार्थीलाई एक लाख प्रोत्साहनले पुरस्कृत गरिने भएको छ। यसका लागि सबै विषयमा अनिवार्य ए प्लस ल्याउनुपर्ने गाउँपालिका शिक्षा शाखाका वि.नि. प्रेमकुमार पुरीले जानकारी दिए।

उनले भने, ‘जो जसले सबै विषयमा ए प्लस ल्याउँछ उसलाई एक लाख प्रोत्साहन दिने निर्णय भएको छ।’ उनका अनुसार पालिका उत्कृष्ट एक छात्र र एक छात्रालाई पनि एक एक लाख प्रोत्साहन रकमले पुरस्कृत गरिनेछ। 

गाउँका विद्यार्थी गाउँकै सामुदायिक विद्यालयमा अध्ययन गरून् भन्ने उद्देश्यले प्रोत्साहन कार्यक्रम ल्याएको गाउँपालिका शिक्षा शाखाका वि.नि. पुरीले जानकारी दिए।

उनले थाहाखबरसँग भने, ‘पछिल्लो समय गाउँघरका विद्यार्थीहरू बोर्डिङमा पढाउन अभिभावकले शहर लगे। यहाँ कम छन्। त्यसैले सामुदायिक विद्यालयमा टिकाइराख्न र पढाइमा सबैको मोटिभेशसन होस् भनेर यो कार्यक्रम ल्याएका हौँ।’ उनले यो यही वर्षबाट नै कार्यान्वयनमा ल्याउने बताए।

एसइई परीक्षा नजिकिँदै छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षा आगामी चैत १७ गतेदेखि चैत २९ गतेसम्म हुने तालिका सार्वजनिक गरेको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। उक्त परीक्षामा गाउँपालिकाका १० सामुदायिक विद्यालयबाट २ सय परीक्षार्थी सहभागी हुने गाउँपालिका शिक्षा शाखाका वि.नि. पुरीले जानकारी दिए।

‘अधिकांश विद्यार्थी बोर्डिङमा पढ्न शहरतिर छिरे। त्यही भएर यस वर्ष एसइई परीक्षा दिने विधार्थी कम छन्’‚ उनले भने। गाउँपालिकाभित्र अहिले ४४ वटा सामुदायिक विद्यालय सञ्चालन छन्। जसमा कक्षासम्म करिब ३ हजार विद्यार्थी अध्ययनरत रहेको गाउँपालिका शिक्षा शाखाका वि.नि‍. पुरीले जानकारी दिए। 

शिक्षकलाई पनि २५ हजार पुरस्कार

गाउँपालिकाले विद्यार्थीका लागि मात्र होइन। शिक्षकहरूलाई राम्रोसँग पढाउनको लागि प्रोत्साहन गराउन कार्यक्रम पनि ल्याएको छ। विषय शिक्षकलाई पनि पुरस्कृत गरिनेछ। गाउँपालिका शिक्षा शाखाका वि.नि. पुरीका अनुसार विद्यालयगत औसत गणना गर्दा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका शिक्षकलाई २५ हजार पुरस्कार दिइनेछ।

‘यो एसइई परीक्षा सकिएर सबै परिणाम आएपछि शिक्षकलाई पुरस्कृत गर्छौ, पछि हामी विद्यालयगत औसत गणना गर्दाको आधारमा शिक्षक छनोट गरिनेछ’‚ उनले भने। उनले पढाइमा विद्यार्थीहरू आकर्षित होऊन् भनेर अन्य कार्यक्रम पनि ल्याएको उनको भनाइ छ। ‘हामीले अहिले विद्यालयमा डान्स टिचर राखेर विद्यार्थीलाई सिकाइरहेका छौँ’‚ उनले भने।

गाउँपालिकालाई जिल्लाको नमुना शैक्षिक गन्तव्य बनाउने नीति

भुम्लु गाउँपालिकाले गाउँपालिकालाई जिल्लाको नमूना शैक्षिक गन्तव्य बनाउने नीति समेत लिएको छ। गाउँपालिकाको आ.व २०७९।०८० को बजेट,नीति तथा कार्यक्रममा भनिएको छ,‘भुम्लु गाउँपालिकाले एक वडा एक नमुना विद्यालयको अवधारणाअनुसार वडामा रहेका प्राथमिक/आधारभूत विद्यालयलाई सम्भाव्यताको आधारमा समायोजन गरिने नीति अवलम्बन गरिने छ। भुम्लु गाउँपालिकालाई जिल्लाको नमुना शैक्षिक गन्तव्य बनाइनेछ।’

गाउँपालिकाले नीति तथा कार्यक्रममा पनि गाउँपालिकाभित्रको विद्यालयमा माध्यमिक र आधारभूत तहको परीक्षामा उत्कृष्ट हुने विद्यालय, शिक्षक र विद्यार्थीलाई निश्चित मापदण्ड बनाई प्रोत्साहन गर्ने कार्यको सुरुवात गर्ने भनिएको थियो। यी नीति कार्यान्वयनमा आएको छ।

‘भुम्लु गाउँपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालन गर्नेछ। यसबाट भुम्लु गा.पा मा १० प्रतिशत प्राविधिक जनशक्ति उत्पादन हुनेछ भन्ने विश्वास लिइएको छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘विद्यालय तह (कक्षा १–१२ सम्म) को शिक्षा निःशुल्क हुनेछ। एक विद्यालय एक स्कुल बसको व्यवस्थाका लागि पहल गरिनेछ।’

शिक्षामा गुणस्तरीयता ल्याउन अन्य स्थानीय तहले पनि शिक्षामा स्थानीय तहको लगानी : कुनै विद्यार्थीलाई डाक्टरी पढाउँदै, कुनै पढाइ भत्ता दिँदै आएका छन्। सुर्खेतको लेकवेशी नगरपालिकाले ५ जनालाई निःशुल्क डाक्टर पढाउने घोषणा गरेको थियो।

यो कार्यान्वयनमा आएको छ। यसैगरी पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.