महानगरपालिका भन्छ- काम हुँदै छ

|

काठमाडौं : ‘हैट कस्तो ढल गन्हाएको छिटो हिँड्नु, किन यसै ढल खनेर अलपत्र पारेको होला! कमसेकम बनाउनु नि!,’ शुक्रबार जयनेपाल सिनेमा हलअगाडि हिँड्दै गरेका एक पैदल यात्रुले उनका साथीलाई भनेको वाक्य हो यो। 

काठमाडौं महानगरपालिकाले जयनेपाल सिनेमा हलको कम्पाउन्डभित्र १५ मिटर गहिराइसम्म खनेर टुकुचा खोला उत्खनन गर्‍याे। तर यो अहिले अलपत्र पारिएपछि यसको दुर्गन्धले पैदलयात्रु र त्यस वरपरका स्थानीय आजित छन्।

ती पैदलयात्रीले ढल देखाउँदै थाहाखबरसँग भने, ‘पहिला त बालेनले ऐतिहासिक खोला उत्खनन गरेर राम्रो गर्‍याे भन्थे तर अहिले अलपत्र पारियो। खनेपछि व्यवस्थित गर्नु नि!’

महानगरपालिकाका प्रमुख बालेन शाह नेतृत्वको टोलीले गत भदौ ३० गते टुकुचा उत्खनन् गरेको थियो। महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको टुकुचा पत्ता लगाएसँगै सामाजिक सञ्चालमा निकै चर्चा भयो।

धेरैले महानगर प्रमुख शाहले गरेको कामको प्रशंसा पनि गरे तर अहिले उनै शाहको विरोध र चर्को आलोचना भइरहेको छ।

महानगरपालिकाले हराएको टुकुचा खोज्न डोजर चलाएपछि यसविरूद्ध प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत ३ जनाले घर भत्काउन रोक लगाउन माग गर्दै  उच्च अदालत पाटनमा रिट दायर गरे।

उच्च अदालत पाटनले रिटको सुनुवाइ गर्दै टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दियो।

गत असोज २ गते न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले कानुनबमोजिम उचित क्षतिपूर्ति नदिई घरलगायतका संरचना नभत्काउन महानगरपालिकाका नाममा सो आदेश जारी गरेको थियो। त्यसपछि यो विवाद अझ बढी सतहमा आएको छ।

टुकुचा खनेको ६ महिना बितिसक्दा पनि जस्ताको त्यस्तै छ। ढलका लागि बनाइएको सुरूङ ह्वांगै छ। ढल भने निरन्तर बगिरहेको छ। इँटा छरपस्ट छन्।

फुटपाथ नै बन्द हुने अवस्थामा पुग्दा पैदल यात्रुलाई ओहोरदोहोर गर्न सकस परेको छ तर मर्मत तथा व्यवस्थापनको सवालमा मौन छ महानगरपालिका यति वेला। 

स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार शाह निर्वाचित भएपछि काम गर्दै गए। अनधिकृत संरचनामा डोजर चलाए।

चर्चा पनि पाए तर अहिले भने उनी पछि हटेका छन्। उनी निर्वाचित भएपछि काम थालेका योजनाहरू अहिले सबै अलपत्र अवस्थामा छन्। 

सुकुम्बासी हटाउनमा विवाद 

थापाथलीस्थित बागमती किनारका सुकुम्बासी बस्ती भत्काउन गत मंसिरमा डोजरसिहत महानगरपालिकाको टोली त्यहाँ पसेपछि बस्तीका बासिन्दा भड्किए। आफूहरू वर्षौँंदेखि बस्दै आएकाले कुनै हालतमा नछाड्ने अडान राख्दै हतियारसहित तत्काल प्रतिकारमा र पछि आन्दोलनमा उत्रिए।

उनीहरूले पहिला आफूहरूलाई व्यवस्थित गरेर मात्र बस्ती भत्काउन माग गरे। निरन्तर आन्दोलनमा उत्रिए उनीहरू। तर महानगर पनि बस्ती नभत्काई पछि नहट्ने भन्दै पछिल्लो समय भत्काउने तयारी गर्‍यो। तर विरोधकै कारण महानगरपालिकाले सकेन। अहिले यो पनि रोकिएको छ। 

फुटपाथ व्यापारीसँग महानगरको व्यवहार 

महानगर प्रमुख शाहले आफू निर्वाचित भए फुटपाथ व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए। तर उनी निर्वाचित भएपछि यही फुटपाथमा गर्ने व्यापारीमाथि हटाउने नाममा नगरप्रहरीले गरेको बर्बर व्यवहारकै कारण उनी आलोचित बन्न पुगे।

फुटपाथ व्यवस्थापन गर्ने नाममा नगर प्रहरीले सामान फाल्नेदेखि जबर्जस्ती ठेलागाडा र सामान जफत गर्ने गरेका भिडियो अहिले पनि वेला वेला सामाजिक सञ्जालमा भाइरल हुन्छन्। यी भिडियोले धेरै जनाले उनीमाथि आक्रोश पोख्ने गरेका छन्। तै पनि हालसम्म यसको यथोचित व्यवस्थापन महानगरले अझै गर्न सकेको छैन। 

अलपत्र शौचालय

महानगरपालिकाले उपत्यकामा भएको सार्वजनिक शौचालयको समस्या समाधान गर्न भन्दै होटल, रेष्टुरेन्ट, बैंकका शौचालयलाई सार्वजनिक गर्ने निर्णय गर्‍याे। महानगरप्रमुख शाहले तामझामका साथ शौचालयको उद्‍घाटन पनि गरे। तर ती सार्वजनिक शौचालय यति वेला अलपत्र अवस्थामा छन्।

शौचालयका लागि बैंक,रेष्टुरेन्टलगायतका ३३ वटा संस्थाले महानगरपालिकासँग सम्झौता गरेका थिए। अहिले खुला भएका शौचालय कति खुला छन् र कति बन्द भए यसको यकिन तथ्यांक महानगरसँग नै छैन।

हटेनन् मुख्य बजारका होर्डिङ बोर्ड 

मापदण्डविपरीतका होर्डिङ बोर्डले काठमाडौं कुरूप बनाएको भन्दै महानगरपालिकाले ती बोर्ड हटाउने अभियान थाल्यो। बबरमहल, माइतीघर मण्डलालगायत ठाउँका बोर्डहरू हटायो पनि।

तर बागबजार, पुतलीसडक, चावहिललगायत मुख्य चोकका अनधिकृत होर्डिङ बोर्ड महानगरले अझै हटाउन सकेको छैन। ती क्षेत्रमा यही बोर्डले कुरूप देखिएको छ।

आफ्नै स्टाटसले आफैँ आलोचित

पछिल्लो समय महानगर प्रमुख शाहले फेसबुकमा राख्ने गरेको स्टाटसले समेत उनलाई आलोचित बनाउने गरेका छन्।

उनले वेला वेलामा स्टाटस राख्ने गरेका छन्। उनले फागुन १३ गते फेसबुकमा स्टाटस हाले, ‘मेयर पोजिशनबाट मलाई आज राजीनामा दिन लाउन खोजिँदै छ, यो देश कहिलै बन्दैन।’

त्यही दिन फेरि अर्को ‘अटल, अजर, अडिग, निडर कसैले नि सक्दैन,आई डन्ट गिभ अप’ भन्दै स्टाटस राखे।

उनले फेरि ६ दिनअगाडि सेल्फी तस्वीर राख्दै यस्तो एउटा स्टाटस राखेका छन्, ‘के छ त हौ खबर।’ यो स्टाटसमा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ठट्टा गर्दै कमेन्ट गरेर जिस्काएका छन्।

महानगरपालिका भन्छ- काम हुँदै छ

शुक्रबार थाहाखबरकर्मी महानगरपालिकाको कार्यालयमा दिउँसो १ बजे पुग्दा महानगरप्रमुख शाह र उपप्रमुख सुनिता डंगोल कार्यकक्षमा थिएनन्। सेवाग्राहीहरू भने पर्खिरहेका थिए जनप्रतिनिधिलाई। कर्मचारीले काम परेकाले दुवै जना बाहिर गएको जानकारी दिए।

तर अहिले महानगरप्रमुख शाह जनताको सेवा सुविधाको काम गर्नभन्दा पनि बढी व्यस्त राजनीतिक नेतासँग भेटघाट गर्नमा देखिन्छन्।

दुवै जना जनप्रतिनिधि नभेटिएपछि पछिल्लो समय महानगरपालिकाले गरेका कामबारे जानकारी लिने प्रयासमा महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यलाई भेटियो।

उनी पनि आफू बाहिर जान हतार भएको बताए। त्यही हतारोबीच प्रश्न गर्दा उनले भने, ‘म मिडियामा बोल्न मिल्दैन, मलाई अधिकार छैन। काम बाँडफाँड भएको छ, प्रवक्तासँग नै बुझ्नु।’

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भने होर्डिङ बोर्ड हटाउने, अनधिकृत संरचना भत्काउने लगायत काम नरोकिएको र काम भइरहेको दाबी गरे। उनले भने, ‘अनधिकृत संरचना भत्काउने कामहरू हुँदै छ, जहाँ जहाँ त्यस्ता संरचना भेटिन्छन् भत्काइन्छ।’

टुकुचाको विषयमा भने उनले अदालतबाट पूर्ण पाठ आएपछिमात्रै भन्न सकिने बताए। ‘अदालतबाट अन्तिम टुंगो आएपछि मात्र त्यहाँ काम हुन्छ, अनधिकृत संरचना भत्काउने काम कहिले रोकिन्छ कहिले हुन्छ, हटाउँदै जान्छौँ,’ उनले भने। 

तस्वीर : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.