|

इलाम : चैत ५ मा हुन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले गठबन्धन गरेका छन्।

क्याम्पसमा  राष्ट्रिय रूपमा राजनीतिक दलको गठबन्धनभन्दा भिन्न हिसाबले समेत विद्यार्थीले चुनावी तालमेल गरेका छन्। नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले संयुक्त प्यानल बनाएका छन्। अनेरास्ववियुका दशर्न कुलुङ राई प्यानलबाट सभापतिको उम्मेदवार छन्। उपसभापतिमा अनेरास्ववियुकै सुशान्त चापागाईं (समानुपातिक) सचिवमा अखिल क्रान्तिकारीका राजेन्द्र लोहार, सहसचिवमा पनि अखिल क्रान्तिकारीकै रेविका राई (समानुपातिक) र कोषाध्यक्षमा अनेरास्ववियुका विशाल कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।  

प्रत्यक्षतर्फ अनेरास्ववियुबाट गोपीराज लिम्बू र बबिता खनाल, अखिल क्रान्तिकारीबाट मनिषा दुलाल, ज्ञानेन्द्र चापागाईं, शम्भू राई र पुष्कर बोहोरा तथा राप्रविसं बाट उज्ज्वल पौडेलले सदस्यको उम्मेदवारी दर्ता गराएको सभापतिका उम्मेदवार राईले जानकारी दिए।  

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन र विप्लव नेतृत्वको नेकपानिकट अनेरास्ववियु (क्रान्तिकारी) ले लोकतान्त्रिकक समाजवादी विद्यार्थी प्यानल बनाएका छन्। सो प्यानलबाट नेपाल विद्यार्थी संघका याकु राईले सभापतिमा उम्मेदवारी दिएका छन्।

सचिवमा अनेरास्ववियूका किरण गौतम र कोषाध्यक्षमा समाजवादी विद्यार्थी युनियनकी निवाता राईले उम्मेदवारी दर्ता गराएका छन्। सदस्यहरुमा नेबि संघबाट रेखा बेघा, अनिता राई, राम बिक  र कृष्ण चापागाईले उम्मेदवारी दिएका छन्।

समाजवादी विद्यार्थी युनियनबाट मनिषा लिम्बु र कमला लिम्बु तथा अनेरास्ववियूबाट मनोज पोखरेलले उम्मेदवारी दर्ता गराएको अनेरास्ववियू इलाम सचिव चेतन अधिकारीले जानकारी दिए। उनका अनुसार समानुपातिकबाट निर्वाचित हुने उपसभापति नेपाल विद्यार्थी संघ र सहसचिव अनेरास्ववियूले लिने सहमती भएको छ।

निर्वाचन समितिका अनुसार स्ववियुको १९ सदस्यीय कार्य समितिमा प्रत्यक्षतर्फ सभापति, सचिव, कोषाध्यक्ष र ७ सदस्य निर्वाचित हुनेछन्। उपाध्यक्ष, सहसचिव र ७ सदस्य समानुपातिकबाट आउनेछन्। निर्वाचन तालिकाअनुसार उम्मेदवारी मनोनयनको समय आज (शनिबार)का लागि तय गरिएको छ। समानुपातिकतर्फका पदाधिकारी र सदस्यका उम्मेदवारको बन्दसूची पनि आजै बुझाइनेछ।   

२८ वर्ष ननाघेका उम्मेदवारले मात्रै मनोनयन दर्ता गर्न पाउनेछन्। मतपत्रमा प्रत्यक्षतर्फ उम्मेदवारको नामको छेउमा र समानुपातिकतर्फ विद्यार्थी संगठनको नामको छेउमा रेजा लगाएर मतदान गर्ने व्यवस्था रहेको निर्वाचन अधिकृत कृष्णकुमार खत्रीले जानकारी दिए। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना मतदान भएको बढीमा ७ दिनभित्र आइसक्ने उनले जानकारी दिए। मरब क्याम्पसमा १ हजार ९ सय ४१ विद्यार्थी मतदाता छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.