त्रिविको आग्रह : झगडा होइन शान्तिपूर्ण ढंगले निर्वाचन सकाऔँ

|

काठमाडौँ : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिदै छ। निर्वाचन नजिकिदै गर्दा विद्यार्थी संगठनहरूमा विवाद उत्पन्न हुन थालेको छ।

पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद् बैठकले स्ववियु निर्वाचन चैत ५ गते गर्ने निर्णय गरेको थियो।

कतै क्याम्पसमा ताला लागेको छ भने कतै धारिलो हतियार आतंक मचिएको छ। काठमाडौंको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा चुनावको उम्मेदवारी दर्ताको दिन शनिबार खुकुरीसहित एकजना पक्राउ परेका छन्। प्रहरीका अनुसार नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन्। 

आरआरमा भएको उक्त घटनाको प्रतिकार गर्दै एमाले निकट अनेरास्ववियुले  घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ। अनेरास्ववियुका अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा तत्काल आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ।

‘आगामी चैत ५ गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने क्रममा क्याम्पस हाताभित्र रहेका अनेरास्ववियु आरआर क्याम्पसका नेता तथा कार्यकर्ताहरूमाथि हातहतियार सहित नेकपा एस निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा काठमाडौं उपत्यकाभरका गुण्डाहरू जम्मा गरी गरिएको ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमणप्रति अनेरास्ववियु गम्भीर आपत्ति र दुःख व्यक्त गर्दछ’‚ विज्ञप्तिमा भनिएको छ। 

पराजुलीको दाबी : खुकुरी होइन, रिबन काट्न ल्याएको कैँची हो

नेकपा समाजवादी निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले कैँचीलाई खुकुरी भनिएको दाबी गरेका छन्। रिबन काट्न कैँची लिएर आएका विद्यार्थीलाई खुकुरी बोकेको आरोप लगाइएको र यस्तो आरोप लगाउन नमिल्ने उनको भनाइ छ।

‘मलाई त्यस्तो लाग्दैन, कसैले कैँची ल्याएको देखे, हतियार देखिनँ, क्याम्पसमा रिबन काट्न कसैले कैँची ल्याए होलान्, हाम्रो संगठनबाट त्यस्तो कुनै क्रियाकलाप भएको छैन। यस्ता गलत क्रियाकलापविरुद्ध हामी छौँ’‚ उनले भने।

जताततै क्याम्पसमा ताला

निर्वाचनलाई लिएर पछिल्लो समय विभिन्न विद्यार्थी संगठनले क्याम्पसमै ताला लगाउन थालेका छन्। शनिबार नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र नेकपा (एमाले) निकट (अनेरास्ववियु) ले प्लस टुका विद्यार्थीले भोट हाल्न पाउने/नपाउने विषयलाई लिएर कोटेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी गरे। 

निर्वाचनमा प्लस टु त्रिविअन्तर्गत नपर्ने भएकाले भोट अधिकार दिन नहुने, संगठनका विद्यार्थीहरूमाथि कुटपिट र ज्यान मार्ने धम्की आइरहेकाले तत्काल छानबिन गर्नुपर्ने लगायत उनीहरूको माग छ। 

‘क्याम्पस प्रशासन र प्रहरी प्रशासन समक्ष अराजक विद्यार्थी संगठनद्वारा संगठन अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरूमाथि दुर्व्यवहार र लछारपछार गरेका कारण निम्न लिखित विषयहरूका कारण कोटेश्वर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन २०७९ स्थगित गर्ने माग गछौँ’‚ विज्ञप्तिमा भनिएको छ। 

त्यसैगरी स्ववियुको मनोनयनका दिन नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा पनि नौ विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। स्ववियु निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन माग गर्दागर्दै क्याम्पस प्रशासनले विद्यार्थीको विवरण चुहाएको आरोप विद्यार्थी संगठनको छ।

निर्वाचन समितिको बैठकमा विद्यार्थीको विवरण गोप्य राख्नुपर्ने, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनुपर्ने पनि उनीहरूको माग छ। यसैगरी गत बिहीबार पोखराको पृथ्वीनारायण क्याम्पसको निर्वाचन कार्यालयमा ताला लागेको छ। कर्मचारीले सूचना चुहाएको भन्दै विभिन्न विद्यार्थी संगठनहरूले तालाबन्दी गरेको जनाएका छन्।

आज (आइतबार) सुदूरपश्चिम विश्वविद्यालयमा पनि स्ववियु निर्वाचनकै कारण तालाबन्दी लागेको छ। कञ्चनपुरका चार विद्यार्थी संगठनले निर्वाचनमा विद्यार्थीलाई वञ्चित गराउन खोजेको भन्दै सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेका छन्।

विश्वविद्यालयबाटै विद्यार्थीको हकअधिकार वञ्चित हुने गरी निर्वाचन कार्यविधि बनाइएकाे भन्दै त्यसलाई तत्काल सच्याउनुपर्ने उनीहरूको माग छ।

त्रिविको आग्रह : झगडा गरेर होइन‚ शान्तिपूर्ण निर्वाचन सकाऔँ

विगत १४ वर्षदेखि नियमित स्ववियु निर्वाचन भएको छैन। त्रिविले २०६५ सालअघिसम्म शैक्षिक क्यालेण्डरमा २/२ वर्षमा फागुन १४ गते चुनाव गराउने कार्यतालिका राखेर स्ववियु निर्वाचन गराउँदै आएको थियो तर त्रिविका क्याम्पसमा २०६५ सालयता नियमित निर्वाचन हुन सकेको छैन। त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्।

२०६५ चैत ६ गतेपछि ८ वर्षमा २०७३ चैत १५ गते स्ववियु चुनाव भएको थियो। त्यसवेला देशभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य (आरआर), जनप्रशासनसहित उपत्यकामा ९ आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो। आगामी चैत ५ मा निर्वाचन सम्पन्न भएमा निर्वाचनले नयाँ नेतृत्व जन्माउनेछ। त्यसो त सबै दलका विद्यार्थी संगठनहरू मिलेर शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न  त्रिविले आग्रह गरेको छ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अहिले भइहेका घटना दु:खद भएको बताउँदै उनले भने, ‘त्यस्तो घटना गराउने औचित्य छैन। उद्देश्य पनि होइन, त्यो दु:खद हो।’

उनले कसैसँग पनि झै-झगडा र क्याम्पसमा ताला बन्दी नगर्न नगराउन आग्रह गरे। शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न राज्यसँग पनि सुरक्षा व्यवस्था गर्न अनुरोध गरेको उनले जानकारी दिए। ‘हामीले आवश्यक अनुसार सुरक्षा प्रदान गर्न माग गरेका छौँ। यो राज्यको दायित्व पनि हो’, उनले भने, ‘तर झैझगडा कुटाकुट गरेर समस्या समाधान हुने विषय पनि होइन। यस्तो हुनुहुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.