|

तुलसीपुर :  दाङको बबई गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स १७ महिनादेखि बेवारिसे अवस्थामा रहेको छ। बबई गाउँपालिका-६ पञ्चकुले स्वास्थ्यचौकीद्वारा सञ्चालित ‘ग’ वर्ग प्राप्त रा १ झ २४३ नम्बरको एम्बुलेन्स करिब १७ महिनादेखि बेवारिसे अवस्थामा रहेको छ।

२०७८ असोज १४ गते दुर्घटनामा परेको उक्त एम्बुलेन्स अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको बाहिर धुलाम्मे अवस्थामा बेवारिसे अवस्थामा छ।

पश्चिम दाङबाट तुलसीपुरतर्फ आउँदै गरेको उक्त एम्बुलेन्स बागर नजिक मोटरसाइकलसँग ठोक्किएको थियो। दुर्घटना भएपछि उक्त एम्बुलेन्स प्रहरीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याएर राखिएको थियो।

एम्बुलेन्स राखेको १७ महिना हुँदा समेत न त गाउँपालिकाले चासो दिएको छ,  न त पञ्चकुले स्वास्थ्यचौकीले नै। एम्बुलेन्स लैजाने विषयमा ती दुवै संस्थाले चासो देखाएनन्।

लामो समयदेखि एम्बुलेन्स थन्काएर राख्दा एम्बुलेन्स धुलाम्मे हुनुका साथै इन्जिनमा खिया लागेको छ। विरामीको सहजताका लागि राज्यले लाखौँ रकम खर्च गरेर किनेको एम्बुलेन्स बेवारिसे अवस्थामा राख्दा गाउँपालिकाको चौतर्फी आलोचना समेत हुँदै आएको छ।

स्वास्थ्यचौकीमा एम्बुलेन्स नहुँदा उपचारका लागि स्वास्थ्यचौकी बाहिर जाने विरामीले समेत समस्या भोग्नु परेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले पटकपटक गाउँपालिकालाई एम्बुलेन्स लैजानका लागि लिखित तथा मौखिक जानकारी गराउँदा समेत लिन नआएको जनाएको छ।

निवर्तमान जनप्रतिनिधिहरूको पालामा दुर्घटनामा परेको उक्त एम्बुलेन्स लैजानेतर्फ त्यो वेलाका जनप्रतिनिधिले पनि चासो नदेखाएको र नयाँ जनप्रतिनिधि आएपछि पनि जानकारी दिँदा समेत अहिलेसम्म एम्बुलेन्स लैजाने विषयमा कुनै प्रतिक्रिया नआएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ।

‘हामीले एम्बुलेन्स लैजानुस् भनेर पालिकालाई खबर गरेकै हो। उहाँहरू लिन आउनु भएको छैन। उहाँहरूको सम्पत्ति सुरक्षित तरिकाले हामीले राखेका छौँ’, इप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले भने, ‘लाने नलाने उहाँहरूको कुरा हो। एम्बुलेन्सको विषयमा गाउँपालिकाका कर्मचारीहरूसँग फोनमा कुरा गर्‍यौँ। अहिलेसम्म उहाँहरू हामीकहाँ आउनु भएन।’

गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले एम्बुलेन्सका बारेमा गाउँपालिकामा कुनै अभिलेख नरहेको जानकारी दिए। उनले भने‚ ‘अघिल्लो जनप्रतिनिधिहरूका पालामा एम्बुलेन्स दुर्घटना भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा राख्नु भएको रहेछ। अहिले हामीले अभिलेख हेर्ने वेला केही भेटाएनौँ।’ 

पञ्चकुले स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुनाले दुर्घटना लगायतका अन्य गतिविधि तत्कालीन वडाध्यक्ष र गाउँपालिका प्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई जानकारी हुने उनको भनाइ छ।

यस्तै पञ्चकुले स्वास्थ्यचौकीका इन्चार्ज हेमराज वलीले आफू माघ महिनादेखि मात्रै स्वास्थ्यचौकीमा सरुवा भएर आएकाले सबै कुराको जानकारी नभएको भन्दै एम्बुलेन्स ल्याउने विषयमा पहल गरिरहेको बताए।

दुर्घटना हुँदा मोटसाइकल चालकको नै गल्ती रहेको भन्ने ट्राफिक प्रहरीले भनेको तर मोटरसाइकल चालकले उपचार खर्च मागेकाले पनि कुरा मिल्न नसकेको उनको भनाइ छ।

एम्बुलेन्सको आम्दानी केही रहेन छ तर मोटरसाइकल चालकले उपचारका लागि ५ लाख खर्च मागेकाले त्यो पैसा कसले दिने विषयमा समस्या भएकाले पनि एम्बुलेन्स निकाल्न नसकिएको उनको भनाइ छ। आफूले गाउँपालिकामा एम्बुलेन्स झिकाउने विषयमा पहल गर्दै आएको र गाउँपालिकाबाट कुनै जानकारी नआएको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.