काठमाडौँ : शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि दुबै टोलीले बराबरी खेल्दै एक–एक अंक बाँडेका हुन्। बराबरीसँगै पछि पाँच अंक बटुलेको मनाङ लिगको पाँचौँ स्थानमा उक्लिएको छ। जितविहीन रहेको मच्छिन्द्रले बराबरीपछि १ अंक जोडेको छ।
आजै भएको अर्को खेलमा न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। च्यासल मैदानमा आज भएको खेलमा आर्मी र एनआरटीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको १४ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि जित दिलाउन सकेनन्। एनआरटीका लागि ल्यालुन जामाले दुई तथा जीन एनसेट बोउमीले एक गोल गरे।
आर्मीका सुदिल राई र दिनेश हेञ्जनले गोल गरे। बराबरीसँगै आर्मी ५ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ। जारी लिगमा ९ अंकसहित चर्च ब्वाइज शीर्ष स्थानमा छ। समान अंक जोडेको सातदोबाटो दोस्रो तथा ७ अंक सहित जावलाखेल तेस्रो स्थानमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।