|
प्रतीकात्मक तस्विर

ललितपुर : दशरथ रंगशालामा ​फुटबल प्रतियोगिता ​भइरहेको समयमा हावाहुरी चलेर भागदौड मच्चिँदा ७३ जनाले ज्यान गुमाएको ३५ वर्ष पूरा भएको छ। 

२०४४ फागुन २९ गते भएको यो दुर्घटना अहिलेको पुस्तालाई एकादेशको कथा जस्तै लाग्छ। त्यो घटनालाई प्रत्यक्ष देखेका र भोगेकालाई भने यो दुर्घटनाले बारम्बार झस्काइरहन्छ। 

हावाहुरी चलेर भागदौड मच्चिएका बेला अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा त्रिभुवन च्यालेञ्ज सिल्डको फाइनल खेल भइरहेको थियो। 

जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धा क्लबबीच खेल जारी रहँदा अचानक हावा हुरी चलेपछि दर्शकले खचाखच रंगशालामा एकाएक भागदौड मच्चियो।

रंगशालाका अरु ढोका बन्द हुँदा एउटा ढोकाबाट सबै निस्कन खोजेको अवस्थामा भिडमा एक अर्काले थिच्दा ७३ जनाको ज्यान गएको थियो। ​यो घटनामा करिब २०० जना घाइते भए। 

तत्कालीन समयमा ‘खेलकुद’ शिक्षा तथा संस्कृति मन्त्रालयभित्र राखिएको थियो। मन्त्री थिए, केशरबहादुर विष्ट। प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ थिए। विष्ट रंगशाला दुर्घटनाको त्रास सम्झिन्छन्। ‘अचानक हावाहुण्डरी चलेपछि दर्शकले खचाखच भरिएको रंगशालामा एकाएक भागदौड मच्चियो’, उनले भने, ‘बाहिर निस्कने सबै गेट बन्द थिए। त्यसैले दर्शक निस्कन सकेनन्।’

रंगशालामा यो घटना हुँदा मन्त्री विष्ट लामाटारमा एउटा स्कुलको कार्यक्रममा थिए। रंगशालामा भएको दुर्घटनाले खेल भइरहँदा ढोका खोल्ने, बन्द गर्नेलगायत सावधानीको पाठ सिकाएको बताउँछन्, उनी।

आफ्नो मन्त्रालय अन्तर्गतको निकायमा ठूलो दुर्घटना भई ७३ जनाको ज्यान गुमाएको भन्दै विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए। नैतिक जिम्मा आफैँले लिने भन्दै पदबाट राजीनामा दिएको विष्ट सम्झिन्छन्।  

‘त्यो घटनाले हरेक क्षण पीडा दिइरह्यो। भित्री आत्माले कतै म नै जिम्मेवार पो हुँ कि जस्तो लाग्यो र मैले राजीनामा गरेँ’, भावुक हुँदै विष्टले भने। हाल राष्ट्रिय शक्ति नेपालका संयोजक रहेका विष्ट अहिलेका नेतामा त्यस्तो नैतिकता नभएको दाबी गर्छन्।  

घटनाको भोलिपल्ट गोरखापत्र दैनिकमा प्रकाशित समाचार

रंगशालामा दुर्घटना हुँदा तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव शरदचन्द्र शाह थिए भने अखिल नेपाल फुटबल संघका अध्यक्ष कमल थापा थिए। यो विपत्तिपछि एन्फाका तत्कालीन अध्यक्ष कमल थापाले पनि नैतिकताको आधारमा राजीनामा दिएका थिए।

‘आफ्नै आयोजनामा भइरहेको खेलमा अचानक धेरैले ज्यान गुमाउनुपरेका कारण मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ’, हाल राप्रपा नेपालका अध्यक्ष रहेका थापाले त्यो क्षण सम्झँदै भने,  ‘रंगशालामा बसेर हामीले फुटबल हेरिरहेका थियौँ। अकस्मात डरलाग्दो हुरी–बतास र आँधी आयो, धेरै दर्शक ज्यान जोगाउन भाग्न थाले। तर ,दुर्भाग्य ! भागदौडकै कारण धेरैको ज्यान गयो।’ 

खेलको मध्य समयमा भएको त्यो घटनाले चुरोट कारखानाका तत्कालीन प्रशिक्षक योगम्बर सुवाललाई पनि बारम्बार झस्काइरहन्छ। ’जिन्दगीमा मैले भुल्नै नसक्ने घटना त्यही हो’, सुवाल भन्छन्। 

फुटबल हेर्न रंगशाला पुगेका फ्रेन्ड्स क्लब कुपण्डोलका पूर्वखेलाडी श्रीराम श्रेष्ठ पनि यो घटनालाई भुल्न सक्दैनन्। ‘कक्षा–७ मा पढ्थेँ। साथीभाइसँग फुटबल हेर्न गएको थिएँ, उनले भने, एक्कासी आकाशमा कालो मैलो हुँदै हावा–हुरी चल्यो, चारैतिर होहल्ला मच्चिए पछि हामी मैदानमा छिरेर बाँच्यौँ, तर घर फर्किएपछि पो थाहा भयो। घर नजिकैका पसले एक दाइको निधन भइसकेको रहेछ।’

पछिल्लो समयमा रंगशालामा कुनै पनि ठूला प्रतियोगिता भइरहँदा कुनै किसिमको समस्या आइपरे माइकबाट दर्शकलाई संयमित हुन आग्रह गर्नुका साथै खेल सकिनै लाग्दा रंगशालाका सबै ढोका खुला छन् भन्ने जानकारी गराइन्छ। एकैपटक ढोकामा भिड हुन पाउँदैन। तैपनि अहिले साधारण प्याराफिटबाट बाहिरिने सिँढीको संरचनाले पनि केही समस्या ल्याउन सक्नेतर्फ खेलकर्मी चिन्ता व्यक्त गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.