|

पर्सा : उद्योगी व्यवसायीले बारा औद्यौगिक करिडोरका उद्योगमा नियमित सञ्चालन विद्युत् आपूर्ति गर्न आग्रह गरेका छन्। 

वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औँ साधारणसभामा सहभागी करिडोरका उद्योगीले नियमित सञ्चालन विद्युत् आपूर्ति नहुँदा उद्योग व्यवसायी धरासायी भएको भन्दै चिन्ता व्यक्त गरका  हुन्। 

वीरगञ्जको नाका व्यापार तथा राजस्व दुवैका लागि महत्त्वपूर्ण भए पनि सरकारले उद्योगीको हितलाई ध्यान नदिएको गुनासो गर्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले केही महिनायता भइरहेको अघोषित लोडसेडिङका कारण करिडोरका उद्योग झन् धेरै धरासायी बन्दै गएको बताए।

बैंकको ऋण प्रवाह र ब्याजदर सम्बन्धमा उद्योगी व्यवसायीले सरकारको ध्यानाकर्षण गराउँदासमेत कुनै पहल नभएको गुनासो गर्दै उनले बैंकको ब्याजदरबारे सरकारले पहल गर्नुपर्नेमा जोड दिए। उनले बैंक ब्याजदरविरुद्ध डटेर लाग्नुपर्नेमा जोड दिए।

‘कञ्चनजङ्गादेखि कञ्चनपुरसम्मका उद्योगी हाल काठमाडौंमा बैंक व्याजको विरोधमा सडकमा ओर्लिएको अवस्था छ’, उनले भने, ‘सबै उद्योगी अहिलेको अवस्थामा मिलेर दबाब दिन आवश्यक छ।’

कार्यक्रममा सांसद अजय चौरसियाले उद्योगी व्यवसायीको साथ र समर्थनका कारण नै आफ्नो कुरा सरकारसमक्ष राख्न सक्ने पदमा पुगेकाले उद्योगी व्यवसायीको वास्तविक समस्या संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरे। 

सांसद चौरसियाले विकास निर्माणदेखी कुनै पनि राम्रो हुन सक्ने कुरामा वीरगञ्जसँग हुँदै आएको विभेदको स्थिति समाप्त पार्न सबै दलका सांसदसँग पहल गर्ने व्यक्त गरे। पूर्वसांसद ओमप्रकाश शर्माले बैंकले जनता तथा उद्योगीलाई पीडा मात्रै दिइरहेको गुनासो गरे। 

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा सुबोध गुप्ताले बै‌कको ब्याजदर एकल अङ्कमा राख्नुपर्ने, वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरलाई सरकारले विधिवत् मान्यता प्रदान गर्नुपर्ने, क्रेडिट एक्ट–चेम्बर एक्ट लागू गर्नुपर्ने, उद्योगमा चाहिने विद्युत् आपूर्तिलाई नियमित गरिनुपर्ने लगायत धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.