|

विराटनगर : बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विराटनगरका ३ जना सञ्चालक पक्राउ परेका छन्। उनीहरुलाई बचतकर्ताको १२ करोड ९ लाख रूपैयाँ ठगीको आरोप लागेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लाबारी नगरपालिका–६ की अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ की सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–२ का मन्दीप खवास रहेको जानकारी दिएको छ।

सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता नगरी यही फागुन १ देखि सम्पर्कविहीन भएका थिए। फरार सञ्चालकविरुद्ध सहकारीका १ सय २१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।

सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए।

मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी ३ वटा सेवा केन्द्रमा गरी २१ हजार ७ सय १३ सदस्यमध्ये विराटनगरमा नै ४ हजार रहेका छन्।

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब १ अर्ब ५० करोड रूपैयाँ रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ५ जना अझै फरार रहेकाले खोजी जारीरहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सञ्चालकहरुले योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी सहकारीका सदस्य एवं बचतकर्ताहरुलाई ठगी गरेको देखिन आएको छ।

विसं २०५२ मा सहकारी विभागमा दर्ता रहेको सो सहकारीको कार्यक्षेत्र नेपालभर रहेको छ। प्रहरीले उक्त संस्थामा बचत गर्ने बचतकर्ता एवं पीडितहरुलाई ५ दिनभित्र कार्यालयमा जाहेरी दरखास्त दिन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङमा पीडित बचतकर्ताहरुको जाहेरी दरखास्त दिनेको सङ्ख्या बढेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.