|

काठमाडौं : जन्मेदेखि पाँच वर्षमुनिसम्मका ४३ प्रतिशत बालबालिकामा रक्तअल्पता (एनेमिया) भएको पाइएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को रिपोर्टले हाल नेपालमा जन्मिएका पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिकामा एनेमियाको समस्या रहेको देखाएको हो।

यति मात्रै नभएर विगत हाल नेपालमा रहेका १० देखि १९ वर्षमुनिका किशोरकिशोरीमा पनि पर्याप्त मात्रामा पोषण अभाव रहेको देखाएको छ। रिपोर्टले १० देखि १९ वर्षका किशोरकिशोरीमा २५ प्रतिशतमा उमेर अनुसारको तौल नभएको (दुब्लोपना) को समस्या समेत देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार  बदलिँदो जीवनशैलीका कारण पछिल्लो समयमा बालबालिका, किशोरकिशोरी तथा अन्य उमेर समूहमा उमेर अनुसार शरीरमा आवश्यक पोषण घट्दै गएको देखिएको छ।

३५ प्रतिशत महिलामा मोटोपनको समस्या

स्वास्थ्य मन्त्रालयले पूर्णरूपमा सार्वजनिक नगरेको जनसांख्यिक सर्वेक्षण २०२२ ले हाल नेपालमा १५ देखि ४९ वर्षका  ३५ प्रतिशत महिलामा मोटोपनाको समस्या रहेको देखाएको छ। पोषण शाखाका प्रमूख थापाका अनुसार महिलामा मोटोपनाको समस्या बढ्दै गर्दा ती महिलाबाट जन्मेका शिशुमा समस्या देखिने जोखिम बढ्ने बताए। ‘जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकामा एनेमिया देखिनु भनेको जनस्वास्थ्यको समस्याकै रूपमा लिनुपर्छ। अधिक मोटोपना तथा दुब्लोपनाको समस्या  भएका आमाबाट जन्मने बच्चामा समस्या देखिन थालेको छ’, उनले भने।

उनका अनुसार १९ वर्ष मुनिका ५३ प्रतिशत किशोरकिशोरीमा पनि मोटोपना बढेको देखिएको छ। ‘अधिक मोटोपना पनि कुपोषण हो। यसरी नै यो समस्या बढ्दै जाने हो यी उमेर समूहबाट जन्मिने बालबालिकामा समस्या हुन सक्छ’, थापाले भने।

ग्रामीण भेगको तुलनामा शहरका महिलामा मोटोपनाको समस्या धेरै देखिएको र पहाडमा भन्दा तराईका महिलामा मोटोपनको समस्या धेरै देखिएको समेत थापाले बताए।

जंक फुड धेरै खानाले समस्या भयो

पोषण शाखा प्रमुख थापाका अनुसार पछिल्लो समयको बदलिँदो जीवनशैली नै र धेरै जंक फुडको सेवनले गर्दा मानिसलाई कम पोषण, अति पोषण र पोषण नै नपुग्ने समस्या देखिएको हो।‘ पछिल्लो समय खानेशैलीमा धेरै परिवर्तन आएको छ, बजारिया खानेकुरा धेरै खाने, अझै त्यसमा पनि जंक फुड धेरै खाने गर्नाले मानिसमा पोषणको कमी मात्र होइन, अधिक पोषणको समस्या देखिएको छ अधिक पोषण शरिरमा हुनु पनि कुपोषण नै हो’, थापाले भने।

खानपान नै मुख्य समस्या

अधिक मोटो हुनु, उमेर अनुसारको तौल नहुनु र शरीरमा आइरनको कमी हुनु यी सबै समस्याको मूल जड नै खानपान रहेको थापाले बताए। ‘ हामीले खाने दैनिक खानमा सागसब्जी केही मात्रामा अन्न, प्रोटिनका लागि माछामासु र फलफूल मिलाएर खानु पर्ने हुन्छ’,  उनले भने, ‘तर अहिले धेरै प्रशोधित खाना खाने लामो समयसम्म प्याकेटमा राखिएका खानेकुरा खाँदा पोषण पुगेको छैन। जसले गर्दा मानिस कि धेरै मोटो कि आवश्यक पोषण तत्त्व नपाएर रोगी भइरहेको छ।’

 स्कूंलहरुमा फोलिक एसिड चक्की बाडिदै

१० देखि १९ वर्षका किशोरीमा २५ प्रतिशतमा उमेरअनुसारको तौल नभएको र धेरैमा एनेमियाको पनि समस्या देखिएपछि हाल हरेक स्कुलमा किशोरीलाई फोलिक एसिड चक्की वितरण गरिन थालिएको थापाले बताए। ‘ पोषणको कमी नहोस् भनेर हाल हामीले हरेक स्कुलमा १९ वर्षमुनिका स्कुले नानीहरूलाई फोलिक एसिड चक्की दिन थालेका छौँ। एक हप्ता बिराएर १३ हप्तासम्म दिने गरेका छौँ’, उनले भने।

यस्तै गर्भवतीलाई पनि नि:शुल्क फोलिक एसिड चक्की दिने गरिएको छ। गर्भावस्थाको समयमा १४५ ट्याब्लेट फोलिक एसिड खानुपर्ने र यो सबै नि:शुल्क दिने गरेको समेत थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.