|

विराटनगर : स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ क्याम्पसमा प्रमुख तीन दलका विद्यार्थी संगठन चुनावी प्रतिस्पर्धामा छन्। चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा कांग्रेसको नेपाल विद्यार्थी संघ, एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

उनीहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् भने विराटनगरस्थित स्नातकोत्तर (डिग्री) क्याम्पसमा एमाले निकट अनेरास्ववियु एक्लै प्रतिस्पर्धामा छ। अनेरास्ववियुविरुद्ध नेविसंघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादीको अनेरास्ववियु  र समाजवादी विद्यार्थी युनियन नेपालले तालमेल गरेका छन्।

को–को छन् प्रतिस्पर्धामा ?

महेन्द्र आदर्श बहुमुखी क्याम्पसमा करिब एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको थिएन। १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा यति वेला तीन संगठनका विद्यार्थी नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

२०६५ सालमा भएको स्ववियु निर्वाचनमा महेन्द्र मोरङमा अखिल क्रान्तिकारीका तत्कालीन उम्मेदवार जयराम सुन्दास विजयी भएका थिए। 

मोरङमा स्ववियु निर्वाचनका लागि सभापतिमा नेविसंघले जसवन्त पौडेललाई उम्मेदवार बनाएको छ। अनेरास्ववियुले सभापतिमा नवीन पहाडीलाई उम्मेदवार बनाएको छ। यस्तै अखिल क्रान्तिकारीका सभापतिमा रोहित यादव उम्मेदवारी रहेको छ।​

समाजवादी विद्यार्थी युनियन र विद्यार्थी जनमत संघले सभापतिमा क्रान्तिकारीलाई समर्थन गर्ने अखिल क्रान्तिकारीका नेताहरू बताउँछन्। समाजवादी विद्यार्थी युनियन र विद्यार्थी जनमत संघले अध्यक्षबाहेकका अन्य पदमा भने आफ्नै उम्मेदवार रहेका छन्।

स्नातकोत्तर क्याम्पसमा भने अनेरास्ववियुले निर्मल गजुरेललाई अध्यक्षको उम्मेदवार बनाएको छ। नेवसंघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी र समाजवादी विद्यार्थी युनियनका तर्फबाट अखिल क्रान्तिकारीका शशि यादव अध्यक्षका उम्मेदवार छन्।

सचिव र कोषध्यक्षमा को–को छन् ?

अखिल (क्रान्तिकारी)का तर्फबाट सचिव पदका लागि आशिका लम्सालको उम्मेदवारी रहेको छ भने एकीकृत समाजवादी निकट अनेरास्ववियुका तर्फबाट निर्मल भण्डारीको उम्मेदवारी रहेको छ। नेपाल विद्यार्थी संघबाट सचिव पदका लागि पूजा विश्वासको उम्मेदवारी रहेको छ।

लोकतान्त्रिक विद्यार्थी संघबाट  सचिव पदका लागि पेशल यादवको उम्मेदवारी रहेको छ भने एमाले निकट अनेरास्ववियुका तर्फबाट सनिम ठकुरीको उम्मेदवारी रहेको छ। विद्यार्थी जनमत संघबाट सरोज शाहको उम्मेदवारी रहेको छ। कोषाध्यक्ष पदका लागि विद्यार्थी जनमत संघले अनिशाकुमारी मोचीलाई उम्मेदवार बनाएको छ।

एमाले निकट अनेरास्ववियुका तर्फबाट आरोग्य थापा रहेकी छिन्। समाजवादी विद्यार्थी युनियनका तर्फबाट राकेशकुमार यादवको उम्मेदवारी रहेको छ भने  एकीकृत समाजवादी निकट अनेरास्ववियुका तर्फबाट रोहित गौतमलाई उठाएको छ। नेपाल विद्यार्थी संघका तर्फबाट स्वस्तिक बोहराको कोषाध्यक्ष पदमा उम्मेदवारी रहेको छ। महेन्द्र मोरङ क्याम्पसमा ५ हजार ७ सय ९० जना र डिग्री क्याम्पसमा ३३४ जना मतदाता छन्।

सभापतिमा कसको अवस्था कस्तो ?

क्याम्पसमा हुने अनियमितता, विकृति र विसंगतीको अन्त्य हुनुपर्छ साथै विद्यार्थीका  समस्याको मागको सुनुवाइ हुनुपर्छ भन्ने विविध एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएका तीनैजना उम्मेदवारको  प्रतिस्पर्धा रोचक हुने  विद्यार्थी नेताहरू बताउँछन्।

२०६५ सालमा अखिल क्रान्तिकारीले सभापतिमा जितेको आधारमा क्रन्तिकारीका तर्फबाट उम्मेदवार रहेका यादव पनि उत्तिकै बलियो प्रतिस्पर्धी रहेको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी बताउँछन्।

एमाले निकट अनेरास्ववियुका तर्फबाट सभापतिका उम्मेदवार रहेका नवीन पहाडी र नेविसंघका जसवन्त पौडल उत्तिकै बलियो उम्मेदवार रहेको  विद्यार्थी नेताहरू बताउँछन्।

पहाडी र पौडेल दुवै विद्यार्थीसँग नजिकिएर उनीहरूको समस्यासँग नजिकबाट नियालेको भएर पनि यो पटक तीनैजना उम्मेदवारको रोचक भिडन्त रहने विद्यार्थी नेताहरूको बुझा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.