स्ववियुमा शैक्षिक एजेन्डाभन्दा पनि पैसा बाँड्ने चर्चा

|

काठमाडौं : विद्यार्थीहरूको मतदानबाट क्याम्पस/कलजेमा चुनिने वैधानिक संस्था हो– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)। निर्वाचनबाट योग्य नेतृत्व छानिन्छ र उसले विद्यार्थीको हक–अधिकारको निम्ति काम गर्नुपर्छ। विद्यार्थीहरूको माग र समस्याका आवाज बुलन्द पार्नुपर्छ। तबमात्र विद्यार्थीहरू क्याम्पसमा स्ववियु भएको महसुस गर्छन्।

तर,पछिल्लो समय स्ववियुबारे नै जानकारी छैन विद्यार्थीहरूलाई। थाहा नहुनुको कारण पनि छ। त्यो हो– विद्यार्थी संगठनहरू शैक्षिक मुद्दामा भन्दा पनि बढी राजनीतिक मुद्दामा लिप्त हुनु।

विद्यार्थी भर्ना, समयमा वार्षिक नतिजा प्रकाशन नहुनु, पाठ्यपुस्तक समयमा नपुग्नु जस्ता दर्जनौँ समस्याले शैक्षिक क्षेत्र ग्रस्त छ। तर यस्ता समस्या समाधानका लागि विद्यार्थी संगठन बोल्ने गरेको देखिँदैन।

स्ववियुमा शैक्षिक एजेन्डाभन्दा पनि भोटको लागि पैसा बाँड्ने चर्चा 

विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन मुखैमा आइपुगेको छ। स्ववियु निर्वाचन यही चैत ५ गते हुँदै छ।

विद्यार्थी संगठनहरूले यो बेला शैक्षिक मुद्दाका घोषणापत्र अर्थात् प्रतिबद्धताहरू सार्वजनिक गर्नुपर्ने हो। तर योभन्दा पनि कतै क्याम्पसमा ताला लगाउने, संगठनमै विवाद निम्त्याउने र धारिलो हतियार आतंक मच्चाउने काम अहिले गरेका छन्।

काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा चुनावको उम्मेदवारी दर्ताको दिन गत शनिबार खुकुरीसहित एकजना पक्राउ परेका थिए। प्रहरीका अनुसार नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन्।

यो निर्वाचनका लागि नेकपा एमालेनिकट अनेरास्ववियुले घोषणापत्र सार्वजनिक गरेको छ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि आज (बुधबार) पत्रकार सम्मेलन गरी प्रतिबद्धता सार्वजनिक गरेको छ। अरू संगठनहरूले सार्वजनिक गरेको पाइएको छैन।

बरू, अहिले निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा जित्नका लागि पैसा बाँड्ने कुराहरू अहिले चिया पसल, होटलमा प्रशस्तै सुनिने गरेको छ। गत सोमबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित एक होटलमा चुनावमा जित्नका लागि पैसा बाँड्ने कुरा सुनियो।

एक नेताले अर्को नेतालाई भनेका थिए, ‘यो चुनावमा कम्तीमा पनि १ लाख त खर्च हुन्छ, जो हामीसँग जोडिन्छन् १२ सय त दिन परिहाल्छ नि, नसके ५/६ सय दिनु नै पर्छ।’

अभिव्यक्ति दिएकै भरमा पूर्व प्रधानमन्त्री डा. भट्टराईविरूद्धको त्यो आन्दोलन

पार्टीका विद्यार्थी संगठनहरूले विपक्षी दलका नेताले बोल्ने अभिव्यक्तिलाई लिएर समेत सडकमा आउने गरेका उदाहरणहरू रहेका छन्।

२०७७ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठनका नेता तथा कार्यकर्ताहरूले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरूद्ध नाराबाजी गरेका थिए।

रेडियो नेपालको अन्तर्वार्तामा डा. भट्टराईले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका थिए। त्यसपश्चात् राष्ट्रिय युवा संघ र अनेरास्ववियू डा. भट्टराईविरुद्ध आन्दोलन गरेका थिए।

‘विद्यार्थीको भन्दा पनि माउ पार्टीका निर्देशन मात्रै माने’

त्रिविका एक उपप्राध्यापक अहिलेका विद्यार्थी संगठनहरू विद्यार्थीको भन्दा पनि माउ पार्टीको निर्देशन मात्रै मान्ने र त्यहीअनुसार अगाडि बढिरहेको बताउँछन्।

उनले भने, ‘अहिलेका विद्यार्थी संगठनहरूको गतिविधि हेर्दा माथिका माउ पार्टी र नेताका निर्देशन के छ र त्यहीअनुसार मुभ भइरहेका छन्, शैक्षिक मुद्दा वरिपरी उनीहरू हिँडेको देखिँदैन।’

क्याम्पसहरूमा गैरविद्यार्थीहरूले नेतृत्व गरिरहेको उनले बताए। यही मुख्य कारणले लामो समयसम्म स्ववियु निर्वाचनसमेत हुन नसकेको उनले बताए।

‘गैरविद्यार्थीहरूले विद्यार्थी राजनीतिको नेतृत्व गरिराखेका थिए, अहिले भने त्रिविमा विद्यार्थीबाटै उम्मेदवार उठेको देखिन्छ। उमेर हद लागेको छ, त्यसैले अझै चुनाव नगराउने चाल चालिरहेका छन्,’ उनले भने।

पछिल्लो समय विद्यार्थी संगठनहरू विद्यार्थीभन्दा पनि गुण्डाको संगठन भएको उनको भनाइ छ।

‘अहिले विद्यालयमा विद्यार्थीको संगठन नभएर बाहिरका गुण्डा ल्याएर क्याम्पस सञ्चालन गरिरहेका छन्,’ उनले प्रश्न गरे, ‘त्यो गुण्डाको संगठनले क्याम्पस, विश्वविद्यालय सञ्चालन गरेपछि क्याम्पस र विश्वविद्यालयको हालत के हुन्छ र भोलि राष्ट्रको हालत के हुन्छ?’

ती गुण्डाहरूले अहिले जीविकोपार्जनको स्रोत क्याम्पस र विद्यार्थीलाई बनाइरहेको उनको आरोप छ।

‘त्यसैले विद्यार्थीहरूको हक अधिकार, विश्वविद्यालयको उन्नयन, यो कुरामा उनीहरूलाई के सरोकार भयो र? पैसा उठाउने मात्रै थलो बनाइरहेका छन्,’ ती उपप्राध्यापकले भने। 

विद्यार्थीकै एजेण्डामा केन्द्रित हुन्छौं : बडाल

एमालेनिकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले विद्यार्थीकै एजेण्डामा केन्द्रित रहेको र रहँदै जाने दाबी गरे। ‘अधिकार प्राप्त गरेपछि हामी विगतदेखि नै सामुदायिक एजेण्डामा छौँ, शिक्षा ऐन ल्याउन बहस गर्‍यौं, अहिले जारी हुन लागेको संघीय शिक्षा ऐनमा हाम्रा सुझाव समेटिएका छन्,’ उनले भने।

उनले शैक्षिक मुद्दामा काम गरिरहे पनि सञ्चारमाध्यमहरूमा थोरैमात्र प्रवाह भएको तर्क गरे।

‘बढी राजनीतिक गतिविधिलाई मात्रै मिडियाले समेट्यो, त्यसो भएपछि आम मान्छेहरूमा राजनीतिक भए भन्ने जनगुनासो सुनिनु स्वाभाविक हो। हामी हाम्रो दायित्व राज्यलाई खबरदारी गर्ने हो, योबाट चुकेका छैनौँ,’ उनले भने।

जति नै विद्यार्थीहरूको हक अधिकारका निम्ति ध्यानाकर्षण गराए पनि राज्य चुकेको उनले बताए। ‘अहिले पनि पाठ्यक्रम, परीक्षालगायत समस्या ज्युँका त्युँ छन्,’ उनले भने, ‘दुनियाँका विश्वविद्यालयहरू प्रविधिसँगै कहाँ पुगिसके, हाम्रो भवनहरू भने जीर्ण अवस्थामै छन्। तै पनि हामी खबरदारबी गर्नबाट पछि हटेका छनौँ।’

अझै पनि विद्यार्थीहरू विदेश जाने सोच बनाइरहेका छन्। यो सोच परिवर्तन गर्नमा अनेरास्ववियु लागि परेको पनि उनको दाबी छ। ‘यहाँ पढेकालाई यहीँ अवसर प्राप्त गर्न शैक्षिक लोन दिन राज्यलाई माग गरौँ, त्यो पनि काम भयो,’ उनले भने।

‘विद्यार्थीहरूको अधिकारलाई सधैं स्थापित गरिरहन्छौँ’

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पनि आफूहरू शैक्षिक मुद्दामै केन्द्रित रहँदै आएको दाबी गर्छन्। 

उनले भने,‘पहिला त राजनीतिक स्वतन्त्रताको निम्ति नै हाम्रो विचार,दृष्टिकोण मान्यता अघि बढ्छन्,राजनीति स्वतन्त्रका लागि हाम्रो समुदायको अधिकार रक्षा गर्ने कुरामा दुविधा पाल्नु हुन्न, तर,हामीले राजनीतिलाई अराजनीतिक ढंगले अगाडि बढायौँ त्यसैले समस्या पारेको हो।’ हिजोको दिनमा व्यवस्था परिवर्तन गरेको र अब विद्यार्थी,समुदायहरूको अधिकारलाई स्थापित गर्ने खालका काम गर्दै जाने उनले प्रतिबद्धता जनाए।

‘अब राजनीतिक विचारमा विद्यार्थी संगठन गोलबद्ध हुने विचारसँग नजिक हुने कुरा निषेध गर्न मिल्दैन,राजनीतिक वैचारिक कामलाई अगाडि बढाउने,शैक्षिक कामलाई अगाडि बढाउने,र समुदायको अधिकारलाई स्थापित गर्न दबाब जागरणमा प्रतिपक्षी आन्दोलनको भूमिकालाई अगाडि बढाउने कुरामा हामीले त्यति धेरै नकरात्मक सोच्नुहुँदैन,’उनले भने।

क्याम्पसहरूमा देखिएको विकृति विसंगतिको अन्त्य गर्नेमा अनेरास्ववियु लाग्ने उनले बताए। ‘यो निर्वाचन विद्यार्थीहरूको हो,यसमा पार्टीगत हुनुहुँदैन,’उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.