|

गौर : छोराको हत्यामा प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पतीले जिल्ला प्रहरी कार्यालय रौतहटअगाडि आमरण अनशन बस्ने घोषणा गरेका छन्।

रौतहट जिल्लाको राजदेवी नगरपालिका–७ मुडलवाका कृष्ण यादवका २४ वर्षीय छोरा अभिमनुकुमार यादवको हत्या भएको ७ महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धान गर्न बेवास्ता गरेको भन्दै मृतकका आमाबुबाले न्यायको लागि गौरस्थित जिल्ला प्रहरी कार्यालयअगाडि नै आमरण अनशन बस्ने बताएका छन्।

न्याय पाउन आफूहरूको ज्यान गए पनि आफूहरू लडिरहने मृतकका मातापिताले सञ्चारकर्मीहरूसित बताएका छन्।

छोराको हत्यारा पत्ता लगाउन‚ न्याय पाउन दिनहुँ लगभग ६ महिनादेखि जिल्ला प्रहरी कार्यालय गौरमा धाइरहेको मृतकका ६० वर्षीय बुबा कृष्णले बताएका छन्। ​मृतकका बुबाका अनुसार अभिमनुको गाउँकै एकजना केटीसँग प्रेम भएको थियो।

अभिमनुकी प्रेमिकाले मोबाइलमा फोन गरेर सुनसरीको इटहरीस्थित एउटा कन्ट्रक्सन कम्पनीमा कार्यरत रहेका वेला छोरालाई बोलाएकै दिन उनको हत्या गरिएको थियो।

गत असोज १४ गते दशैंको पञ्चमीका दिन बेलुकी षड्यन्त्रपूर्वक ढंगले सीमावर्ती क्षेत्रमा ललाइफकाई लगेर नेपालमा हत्या गरि घटना लुकाउने‚ प्रमाणहरू मेट्न भारत बिहारको सीतामढी जिल्लाको बैरगनिया सहप्रखण्डको मसहा गाउँनजिकको रेलको लिकमा शव राखेको बुबा कृष्णले बताएका छन्।

गाउँकै एक युवतीसित ४ वर्षदेखि प्रेमसम्बन्धमा रहेका छोरालाई तीनै युवतीका आफन्तले हत्या गरेको आरोप कृष्णको रहेको छ।

मृतकका बुबा कृष्णले छोराको हत्या भएको ७ महिना बित्दा पनि न्यायको कुनै आशा नदेखिएकाले आफूहरु पूर्णतया निराश बनेको बताए। छोराको हत्या भएदेखि नै प्रहरी कार्यालय धाइरहेको भए पनि प्रहरीले अनुसन्धान गर्न बेवास्ता गरेको र अगाडि नबढाएको आरोप यादवको छ।

‘प्रहरी कार्यालय गौरमा किटानी जाहेरी दिए पनि त्यसमा उल्लेखित व्यक्ति दोषी हो कि होइन अनुसन्धान गर्नुपर्नेमा प्रहरीले न जाहेरी दर्ता गर्छ, न शंकास्पद व्यक्तिमाथि छानबिन गर्न तयार हुन्छ,’ कृष्णले भने‚ ‘अब छोराको हत्यारा पक्राउ गर्न असफल प्रहरीकै अगाडि हामी दुवै बुढाबुढी आमरण अनशन बसेर भोकभोकै आफ्नो पनि ज्यान त्याग्न तयार छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.