गठबन्धनको औचित्य छैन : खड्का

|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज (बिहीबार) राति १२ बजे मौन अवधि सुरू हुँदैछ।

उम्मेदवारले राति १२ बजेपछि प्रचारप्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाउने छैनन्। अहिले क्याम्पसहरूमा विद्यार्थी संगठनका नेताहरूलाई भेला हुने र भोट माग्न भ्याइ नभ्याइ छ। यस्तै माहोल नेपाल ल क्याम्पसमा पनि छ।

उक्त क्याम्पसमा पनि रोचक प्रतिस्पर्धा हुँदै छ। लोकतान्त्रिक-वाम विद्यार्थी संयुक्त प्यानलका साझा उम्मेदवार छन्। प्रचण्डनिकट अखिल क्रान्तिकारी अनेरास्ववियु, नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु, कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तालमेल गरेका छन्।

संयुक्त प्यानलबाट अध्यक्षमा विष्णु ढुंगेल उम्मेदवार छन्। सचिवमा मनोज सिंह, कोषाध्यक्षमा सिम्रन वनेम लिम्बु, सदस्यहरूमा अमृत ढकाल, मनिष भट्टराई, सपना गौतम, प्रज्वल बराल, विराज ढुंगाना, वन्दनाकुमारी रावत र नोजोमि आन लुईटेल उम्मेदवार बनेका छन्।

अर्का, प्रतिस्पर्धीमा नेकपा एमालेनिकट अनेरास्ववियुमा अध्यक्ष कैलाश तामाङको प्यानलबाट सचिवमा निशान्त बाबु खड्का उम्मेदवार छन्। कोषाध्यक्षमा सञ्ज्योती नेम्वाङ छन्। सदस्यहरूमा समिर रिजाल, प्रियंका साउद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल, सुरेश राई, आशतोषकुमार गुप्ता र प्रकाश सुनार उम्मेदवार छन्।

गठबन्धनको औचित्य छैन : खड्का

अध्यक्षका उम्मेदवार तामाङले ल क्याम्पसमा जित्ने सम्भावना नभएपछि विपक्षी विद्यार्थी संगठनबीच तालमेल गरेका र एक्लै लडेर जित हासिल गर्ने बताए। ‘अनेरास्ववियु २०३६ सालदेखि यहाँ विजयी हुँदै आएको छ, यो विरासत जोगाउने मेरो काँधमा आएको छ, म यो कायमै गर्ने छु,’ उनले भने।

उनले अहिले गठबन्धन गरेका संगठनहरू पार्टीको नारामा मात्रै सीमित भएकाले पनि उनीहरूको हार निश्चित रहेको बताए। ‘अनेरास्ववियुसँग लड्न नसकेर अरू संगठनसँगै जुटेका छन्, नेपाल  ल क्याम्पसमा उनीहरू पार्टीको नारा र झण्डा बोकेर आए। हामी डराएका छैनौँ, एक्लै लड्ने छाैँ, जीत हासिल गर्ने छौँ,’ उनले भने।

सचिवका उम्मेदवार निशान्त बाबु खड्काले ल क्याम्पसमा गठबन्धन गर्नुको औचित्य नरहेको टिप्पणी गरे। आफूहरूकै प्यानल जित्नेमा ढुक्क रहेको उनले बताए। उनले भने, ‘विद्यार्थी राजनीतिमा गठबन्धनको औचित्य छैन, यसले माउपार्टीको अभ्यास गराउने र विद्यालयलाई दूषित गराउँछ भन्ने हाम्रो निष्कर्ष छ।’

२०६५ सालसम्म उक्त क्याम्पसमा जित्दै आएको एमालेनिकट अनेरास्ववियुको विरासत कायमै राख्ने उनको भनाइ छ। ‘ल क्याम्पसमा २०६५ सालसम्म हामीले जित्दै आएका हौँ, यो जित्नुको कारण भनेको यहाँ भएका समस्या समाधान गर्ने, विद्यार्थीहरूको हक अधिकार सुनिश्चित गरेको र अध्ययनसँगै राजनीति मुख्य एजेण्डा भएकाले हो। अब पनि त्यो ऐतिहासिक विरासत जोगाउँछौँ, कायमै राख्छौँ,’ उनले भने।

यस्ता छन् दुई प्यानलका एजेन्डाहरू

अध्यक्षका साझा उम्मेदवार ढुंगेलले ल क्याम्पसलाई अझै व्यवस्थित र विद्यार्थीहरूको हक अधिकार सुनिश्चित गर्ने लगायत एजेण्डा रहेको जानकारी दिए। उनी भन्छन्, ‘जहिले विश्वविद्यालय, क्याम्पसमा पढाइ भएन भन्ने छ, त्यसैले हामीले नयाँ विश्वविद्यालयको परिकल्पना गरेका छौँ, विभिन्न मागसहित प्रधानमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाएका छौँ।’

उनले ल क्याम्पसमा यौन दुर्व्यवहारका घटना रोक्न विशेष टोली बनाउने पनि बताए। ‘क्याम्पसलाई शैक्षिक क्यालेन्डरमा लैजाने, सेक्सुअल हेरेसमेन्टका इस्यू छन्, यसका लागि काम गर्न नयाँ कमिटी बनाउने छौँ,’ उनले भने, ‘विद्यार्थीहरूको गुनासो सुन्ने, अन्तरराष्ट्रिय स्तरमै कानुनी शिक्षालाई अगाडि लाने लगायत एजेण्डा हाम्रा छन्, हामी सदैव शैक्षिक मुद्दा मात्रै बोक्ने प्रतिबद्धता पनि गर्छौं।’

एमालेनिकट अनेरास्ववियुका सचिव उम्मेदवार खड्काले भौतिक ल क्याम्पसको संरचनादेखि अध्ययन गर्दा देखिएका सबै समस्यालाई मुख्य एजेण्डा बनाएको बताए। ‘यहाँ आवश्यक पर्ने पूर्वाधार, शैक्षिक क्रान्तिका थुप्रै हाम्रा एजेण्डा छन्,’ उनले भने। 

अनिवार्य र निःशुल्क माध्यमिक शिक्षा सस्तो‚ सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षा, स्वच्छ खानेपानी, आधारभूत स्वास्थ्य सेवासहितको शान्त,सफा र सुन्दर शिक्षालय बनाउने अनेरास्ववियुको प्रतिबद्धता छ। देशलाई समाजवादी बाटोतर्फ डोर्‍याउने परिश्रम र प्राज्ञिक जनशक्ति उत्पादन गर्ने पनि उनीहरूको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.