|

काठमाडौं : नेपालमा पछिल्ला केही वर्षयता मधुमेहका बिरामी बढेका छन्। तीन/चार वर्ष अघि पाँच लाख जति मात्रै मधुमेहका बिरामी रहेकोमा हाल कम्तीमा १५ लाख पुगिसकेको अनुमान गरिएको छ।

साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटीकी अध्यक्ष तथा मधुमेह तथा हार्मोनरोग विशेषज्ञ डा दिना श्रेष्ठका अनुसार पछिल्ला वर्षमा नेपालमा मधुमेहका बिरामी ह्वातै बढेका बताइन्। उनका अनुसार नेपालमा मधुमेह बढ्नुका मुख्यकारण मानिसमा बढ्दै गएको मोटोपनको समस्या हो। ‘खाने शैली परिवर्तन हुँदा मोटोपनको समस्या बढ्दै गएको छ। मोटोपन बढ्नु भनेको मधुमेह रोग निम्ताउनु जस्तै हो’, शुक्रबार सुरु भएको  साफिस इन्टरनेसनल इन्डोक्राइन सम्मेलनमा उनले भनिन्।

हाल नेपालमा मधुमेहका बिरामी बढ्नु ५० प्रतिशत कारण त मोटापन नै भएको उनले दाबी गरिन्। ‘हाम्रोमा आधिकारिकरूपमा यति नै बिरामी छन् भन्ने डाटा नभए पनि अनुमानमा हाल १५ लाख जति बिरामी छन्’, उनले भनिन्, ‘केही वर्षअघिसम्म चार/पाँच लाख मात्रै थिए।’ नेपालमा रहेका मधुमेहका बिरामीमध्ये १५ प्रतिशत त शहरी क्षेत्रमा र पहाडमा ५ प्रतिशत रहेकाे उनले बताइन्। उनका अनुसार पहाडमा भन्दा तराईमा धेरै छन्। अहिले मधुमेह देखिने धेरै बिरामी युवा उमेर समूहको रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

खानपानको शैलीले गर्दा नेपाल मात्र होइन नभई दक्षिण एसियाका अरु देशमा पनि मधुमेहका बिरामी बढेको डा श्रेष्ठले बताइन। ‘ खानपानको शैली लगभग नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तानमा लगभग उस्तै उस्तै छ। यसले गर्दा मधुमेहका बिरामी पनि यस क्षेत्रमा बढिरहेका छन्’, श्रेष्ठले भनिन्।  

यस्तै डा श्रेष्ठले मधुमेह थाइराइड तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूको विरुद्ध व्यतिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा भइरहेको लडाइमा सबै एकजुट भएर लाग्नु पर्ने बताइन्। ‘यस्ता जटिल एउटा देशले एक्लै काम गर्नुभन्दा विभिन्न देशका सरोकारवाला मिलेर अघि बढ्न सकियो भने सुसुप्त महामारीको रूपमा रहेको मधुमेह थाइराइड जस्ता समस्याको न्युनीकरण गर्न सकिन्छ’, डा श्रेष्ठले भनिन्।

मधुमेह तथा हार्मोनरोग विशेषज्ञ डा. सन्तोष शाक्यले नेपालमा देखिएको मधुमेहमा ३० प्रतिशत कारण वंशाणुगत पनि रहेको हुँदा आफ्नो परिवारको कोही नजिकै आफन्तमा मधुमेह छ भने खानपान तथा जीवनशैलीलाई विशेष ध्यान दिनुपर्ने बताए। ‘३० प्रतिशत मधुमेहको कारण वंशाणुगत पनि हो त्यसैले आफ्नो परिवारको नजिकैको व्यक्तिमा मधुमेह रहेको छ भने जीवनशैलीलाई विशेष ध्यान दिनु पर्छ,’ उनले भने।

काठमाडौंमा सुरु भएको सम्मेलनमा विभिन्न देशका विज्ञहरुबाट मधुमेह, थाइराइड, मोटोपना तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूमा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुने सम्मेलनको कार्यसूची छ। सम्मेलनको सुरुवात भएको शुक्रबारको उद्घाटन समारोहमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित वृत्तचित्र मधुमेह भाग-२ को प्रिमियर सो गरिएको थियो।

साफिस दक्षिण एसियामा रहेका इन्डोक्रिनोलोजी एसोसिएसनको छाता संगठन हो। यो संस्थामा बंगलादेश,भारत, अफगानिस्तान, श्रीलंका, पाकिस्तान माल्दिभ्स र नेपालका इन्डोक्राइन सोसाइटी आबद्ध छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.