|

तुलसीपुर : जथाभावी गिट्टीबालुवा निकालेपछि दाङमा खोला भासिई जमिन बाँझो हुने अवस्था आएको भन्दै किसान चिन्तित भएका छन्।

खोलाबाट अवैध रूपमा गिट्टीबालुवा निकाल्दा ठूला ठूला खाडल बनेपछि यस्तो समस्या आएको बताउँदै शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका हुन्।

शान्तिनगर गापा-२ विष्णुपुरका दलबहादुर विष्टले मापदण्डविपरीत गिट्टीबालुवा निकालिएपछि सिँचाइ गर्न नसकेर खेतीपाती गर्न वञ्चित भएको गुनासो गरे। शान्तिनगरमा पर्ने बौलाहा खोलाबाट केही वर्षदेखि जथाभावी गिट्टीबालुवा निकालेपछि खोला भासिँदा जमिन बाँझो हुने अवस्था आएको बताए।

उनले भने, ‘पहिलो चुनावका वेला पनि खोला दोहन भयो। खोलाका पूर्वपश्चिममा दर्ता खेत छन्। गिट्टीबालुवा निकाल्न मापदण्ड होला? चौडाइ, लम्बाइ, गहिराइ कति भन्ने हुन्छ, होला। दुवैतर्फ खेत भएको खोलाबाट जथाभावी दोहन गर्दा खोलो भासिदै गएको छ। यसबाट गत वर्ष पानी नभई खेत सुक्खा भए।’

उनले गतवर्ष माझ कुलोबाट पानी ल्याएर धान रोप्न बाध्य भएको भन्दै आफू जस्ता किसानका लागि कुनै पनि जनप्रतिनिधिले नसोचेको बताए। उनले जुन जनप्रतिनिधि आए पनि मनोमानी गर्ने गरेको बताए। उनका अनुसार खोला भासिएपछि करिब एक सय बिघा खेतीयोग्य जमिनमा असर परेको छ।

यसैगरी शान्तिनगर गापा-५ का कल्लुबहादुर चौधरीले खोला भासिएपछि खेतमा सिँचाइ गर्न समस्या भएको बताए। उनले भने, ‘खोला गहिरो हुँदा खेतमा पानी लैजान समस्या भयो। दैनिक १५-२० वटा गाडीले गिट्टीबालुवा उठाउँथेँ। हामीले जति भने पनि सुन्दैनन्।’

यस्तै उनले योपटक माघ महिनादेखि खोलाबाट गिट्टीबालुवा निकाल्न थालिएको बताए।

विष्णुपुरकै टीकाराम खड्काको पनि उस्तो गुनासो छ। खेतभन्दा खोला गहिरो भएपछि खेत बाँझो हुने अवस्था आएको उनले बताए। उनले भने, ‘पहिला खेती गर्न पानीको समस्या हुन्नथ्यो। अहिले खेतमा पानी चढ्दैन। खेत बाँझो हुने अवस्था भयो।’

उनका अनुसार केही वर्षदेखि मनपरी खोला दोहन हुँदा किसानले समस्या भोग्नु परेको हो। मनपरी खोलामा जेसिबी लगाउँदा ठूला खाल्डा हुने गरेको समेत उनीहरूले बताए। बौलाहा खोलामा गाउँपालिकाले गिट्टीबालुवा निकाल्न ३ ठाउँमा ठेक्का दिएको थियो।

शान्तिनगर गापा-२ का वडाध्यक्ष सुनिल वलीले भने, ‘गिट्टीबालुवा निकालिरहेको ठाउँ वडा नं २ र ५ पर्ने भन्दै गाउँपालिकाका अध्यक्षले दिनुहोस् भन्ने र हाकिमले त्यसैअनुसार गरिदिँदा काम बिग्रिएको हो। म जनप्रतिनिधि भएकाले वडा नं. २ का बासिन्दाले मलाई नै भन्छन्। मैले यो समस्या गाउँपालिकामा भन्दा कुनै सुनुवाइ भएन।’

सम्बन्धित वडाध्यक्षले कहाँ पानी चर्छ, कहाँ चर्दैन, कहाँ ठेक्का खोल्ने भन्ने सम्बन्धित वडाध्यक्षलाई सोध्नु भनेर परिपत्र गरेको पनि गापा अध्यक्ष प्रमोद बस्नेतको भनाइ थियो।

उनले आफूहरू जनप्रतिनिधि भएर आइसकेपछि साउनमा कार्यपालिकाको बैठक बसेर ठेक्का खोल्ने निर्णय गरेको बताए। ​​गिट्टीबालुवा उत्खननको जिम्मा दंगीशरण-३ स्थित सनलाइट निर्माणले पाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.