|

पाल्पा : तानसेन नगरपालिका–९ तिन्टीआँपमा शुक्रबार एकदिने कृषि मेला प्रदर्शनी गरियो। 

कृषि सेवा केन्द्र तथा पशु सेवा केन्द्र दमकडा, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कृषि मेला उपभोक्ता समिति तानसेन नगरपालिका– ९ को आयोजनामा शुक्रबार ९ नम्बर वडा कार्यालय, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ पाल्पाले सहयोग गरेका थिए।

मेलामा किसानले विभिन्न कृषि उत्पादनसम्बन्धी स्टल राखेका थिए। केरा, तरुल, फर्सी, मकै, धान, पिँडालु, विभिन्न प्रजातिका विरुवा, घरेलु कृषि औजार राखिएका थिए। प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषि यन्त्र उपकरण, बीउविजन, नर्सरी विरुवा प्रदर्शनी तथा बिक्रीवितरण स्टल राखिएको थियो। यस्तै पशु रोग तथा गोबर र माटो परीक्षण, जैविक मल उत्पादन प्रदर्शन, प्लान्ट क्लिनिक, कृषि परिकारको स्टल प्रदर्शन गरिएको मेला संयोजक इन्द्रप्रसाद पौड्यालले जानकारी दिए।

कृषिका लागि मदनपोखरा यस क्षेत्रको नमुना क्षेत्र हो। यहाँका कृषि उत्पादनलाई थप प्रचारप्रसार गर्न मेला प्रदर्शनी आयोजना गरिएको उनले बताए। ‘यो किसानको आफ्नै मेला हो। उनीहरू आफूले गरेको उत्पादनसहित सहभागी भए’, उनले भने, ‘यसले गर्दा यहाँका किसानलाई थप व्यावसायिक कृषितर्फ प्रेरणा मिलेको छ।’ 

किसानको मेहनतलाई सम्मान गर्न र थप उत्साहित बनाउन मेला आयोजना गरेको वडाध्यक्ष राजेशकुमार अर्यालले बताए। ‘मदनपोखराका किसान मेहनती, परिश्रमी स्वालम्बी, र पौरखी छन्। किसानले गरेको कृषि कर्मलाई प्रोत्साहन दिन उनीहरूकै प्रत्यक्ष सहभागीतमा कृषि मेला तथा प्रदर्शनी गरिएको हो’, उनले भने, ‘यहाँ कृषि उत्पादन बढाउन र परनिर्भरता अन्त्य गर्न वडा विस्तृत योजना बनाएर अगाडि बढेको छ।’

मेलामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहित जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि पुगेका थिए। 

यहाँ उत्पादन भएको तरकारी तानसेन बजार, बुटवल पोखरासम्म निर्यात हुन्छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.