|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले ल्याएको बेपत्ता छानबिन तथा सत्य निरूपणसम्बन्धि विधेयकको प्रतिवाद गर्ने निर्णय गरेको छ। 

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको राप्रपाको संसदीय दलको बैठकले सरकारले भोलि (आइतबार) प्रतिनिधिसभामा पेस गर्न लागेको विधेयकको प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए। 

‘सरकारले ल्याउन लागेको विधेयक दोषीलाई उन्मुक्ति दिन ल्याउन लागिएको हो। विधेयक द्वन्द्वमा परेका नागरिकको न्यायका लागि होइन जसले मान्छे मारे उनीहरूलाई उन्मुक्ति दिनका लागि ल्याइएको हो। फौजदारी कसुरमा माफी दिन मिल्दैन। यो विधेयकको दफावार छलफलमा जान्छौं,’ उनले भने। 

संसदीय दलको प्रमुख सचेतकसमेत रहेका शाहीले सरकारले ल्याउन लागेको विधेयकमा मानव अधिकारको विषयमा कारबाही गर्नुभन्दा उन्मुक्ति दिनु, हत्या गर्नेलाई उन्मुक्ति दिनु, बाँदरमुडेजस्ता ठूला घटनामा मान्छे मार्नेलाई उन्मुक्ति दिने विषय उल्लेख रहेको बताए। 

‘यो विधेयकले मानव अधिकारको गम्भीर उल्लंघन गरेको छ। जस्तासुकै अपराध गरे पनि छुट दिने कुरा हामीलाई स्वीकार्य छैन,’ उनले भने। 

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा अर्को बैठक बसेर निर्णय लिने उनले बताए। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक फागुन २५ गते संसद सचिवालयमा दर्ता गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.