|

धनगढी : धनगढीमा आज राष्ट्रका लागि संगीत अभियात्रा नामक कार्यक्रम सम्पन्न भएको छ। शनिवार धनगढीमा कम्युनिस्ट पार्टीका विभिन्न संगठनले उक्त कार्यक्रम गरेका हुन्।

नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन र कम्युनिस्ट एकताका लागि दबाव दिन जनसांगीतिक कार्यक्रम गरिएको बताइएको छ।

उक्त कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (बहुमत) जनमोर्चा, मसाल लगायतका कम्युनिस्ट नेता तथा कार्यकर्ता सहभागी थिए।

नेकपा एमालेका स्थायी कमिटी सदस्य सहित रहेका नेता मणि थापा, जनवादी गायकद्वय उदय श्रेष्ठ, जीवन शर्मा लगायतले उक्त अभियान थालनी गरेका हुन्।

कार्यक्रममा जनयुद्धको झल्को दिने गीत, कथा तथा नाटकसहित राष्ट्रियता झल्कने गीत प्रस्तुत गरिएको थियो। सुदूरपश्चिमबाट शुरु भएको यो अभियात्रा देशैभर चल्ने जनाइएको छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले संगीत अभियात्राले विचार विहीनताको अन्त्य, राष्ट्रियताको जागरण र विभाजित वामपन्थीलाई एकताबद्ध बनाउन दबाव दिने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रम चैत ७ गते सुर्खेत, चैत १० गते दाङ, चैत १३ गते बुटवल, चैत १६ गते भरतपुर, चैत १८ गते हेटौडा, चैत २० गते बर्दिवास, चैत २२ गते धरान, चैत २५ गते बिर्तामोड, चैत २८ गते पोखरा र वैशाख ५ गते काठमाडौँ पुगेर सम्पन्न हुने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डबल शाहले बताए।

काठमाडौँको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनमोर्चा नेपालका चित्रबहादुर केसी,  मोहन वैद्य किरण लगायतका नेताहरू सहभागी हुने नेता शाहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.