|

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालेपत्रकारहरुमाथि गरेको टिप्पणीप्रति सभामुख देवराज घिमिरेले आत्मालोचना गर्नुपर्ने बताएका छन्। 

प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा आइतबार सञ्चारकर्मीसँग महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताए।

सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजको सामुन्ने गम्भीर ‘नोटिस’ मा रहेको उनले बताए। उनले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताए।

उनले भने‚ ‘त्यो विषय वास्तवमै गम्भीर छ। किनभने व्यक्तिको रुपमा विश्वप्रकाशले के सोच्छ, के बोल्छ उसको कुरा हो तर पार्टीको महामन्त्रीको रुपमा या सांसदको रुपमा विश्वप्रकाश शर्माले बोल्ने, सोच्ने, गर्ने व्यवहारको केही मर्यादाहरु हुन्छन्। त्यसैले के हो भने झापा क्षेत्र २ बाट निर्वाचित हुनुभएको नेकपा (एमाले) का सांसदका रुपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो। तर नेपाल देशको सभामुखले देशको चौथो अंगको सन्दर्भमा बोल्नुअगाडि सोच्नु पनि हजार पटक पर्छ। उहाँले जे बोल्नुभएको छ, त्यो विषय गम्भीर नोटिसमा समाजको सामुन्ने छ। त्यसप्रति हामी सबैको विमति छ। राष्ट्रको चौथो अंग भनेको अहिलेको लोकतान्त्रिक रुपान्तरण दलहरुले गराइदिएर अनि त्यसको अधिकार भोगिरहेको मात्रै होइन, यो लोकतान्त्रिक रुपान्तरण गर्नका लागि आफैँ संलग्न भएको चौथो अंग हो। त्यसकारण कुनै व्यक्तिको बारेमा कहीँ कतै टिप्पणी छ भने पनि त्यसलाई अलग रुपमा राख्ने एउटा विषय हो तर समग्रतामा पत्रकारहरुको बारेमा, चौथो अंगको बारेमा जे टिप्पणी आएको छ, त्यो अत्यन्त आलोच्य छ। हाम्रो लागि आलोच्य छ, उहाँले आत्मालोचना गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.