|

विराटनगर : कोशी प्रदेश नामकरण भएलगत्तै पहिचान मेटाएर प्रदेशको नाम राखेको भन्दै असन्तुष्ट बनेका पहिचानवादी संघसंगठन अहिले आन्दोलनमा उत्रिरहेका छन्।

अघिल्लो  प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद र  पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वको प्रदेश सरकार रहँदा प्रदेश १ को नाम पहिचानसहितको हुनुपर्ने मागसहितको आन्दोलनबीच बिदा भएको थियो। प्रदेशसभाको कार्यकाल सकिएसँगै शान्त रहेका विराटनगरका सडक आइतबार तनावग्रस्त बनेका छन्। 

पुस १७ गते  प्रदेश १ को नाम कोशी प्रदेश राखेसँगै असन्तुष्ट बनेका पहिचानवादी संघ, संगठनले आइतबार जनप्रदर्शन गरे। उनीहरुले करिब २० हजार मानिस सडकमा उतारेको दाबी गरेका छन्।

दुई दिनअगाडि मात्रै प्रदेशको नाम कोशी खारेजीको माग गर्दै प्रदेशसभाअगाडि आयोजित पहिचानका लागि सडक साहित्य यात्रा कार्यक्रमका सहभागीलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यहाँबाट पत्रकार जनकऋषि राईसहित अर्का साहित्यकार तथा पत्रकार सञ्जय याख्खा पनि पक्राउ परेका थिए। त्यो घटनाले आक्रोशित बनेका पहिचानवादी संघ संगठनले आगामी दिनमा पछि नहट्ने चेतावनीसमेत दिएका छन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध नाराजाबाजीसमेत गरेका भीडले कार्कीले आदिवासी जनजातिको भावनाअनुरुप कदम नचालेको आरोप लगाएको छ। प्रदर्शनको क्रममा मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी र पुत्ला दहन समेत गरिएको छ। 

प्रदर्शनकारीले स्थानीय प्रशासनले घोषणा गरेको रोडशेषस्थित मुख्यमन्त्री कार्यालयअगाडिको निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीसँग झडपसमेत भएको छ। झडपमा २ जना प्रहरी घाइते भए भने प्रहरीले ४ जना प्रदर्शनकारी पक्राउ गरेको थियो।

पक्राउ परेकाहरुलाई प्रहरीले अबेर छोडिदिएको छ। प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले ४ राउण्ड हवाई फायर तथा दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको थियो।

प्रशासनले जारी गरेको निषेधित क्षेत्र तोडेर आन्दोलनकारी अगाडि बढेपछि भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ। झडपपछि मुख्यमन्त्री कार्यालयनजिकै कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्ने पहिचानवादी नेताहरूले कोशी प्रदेश सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए। पूर्वमन्त्री गोपाल किराँतीले दीर्घकालीन आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए।

आदिवासीलाई कुल्चिएको बताउँदै उनले भने, ‘अब कोशी प्रदेश सरकार लेख्ने तयारी हामीलाई के थाहा छ भने हामी त्यो पुस्ताका क्रान्तिकारी कार्यकर्ता हौं। नेपालको हरेक टोलटोलमा श्री ५ को सरकारको साइन बोर्ड हुन्थ्यो‚ आज खोई? सबै उप्काएर मिल्काइयो।’

उनले श्री ५ को सरकारलाई जसरी जनताको बलमा आन्दोलनमार्फत मटियामेट गरियो, त्यसरी नै कोशी प्रदेश सरकारको साइनबोर्ड पनि मिल्काउने चेतावनी दिए। उनले पहिचानको आन्दोलन दबाउने कोशिस गरिए बन्दुक उठ्ने चेतावनीसमेत दिए।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिलो चरणको आन्दोलन कास्टिङमात्रै भएको बताउँदै दोस्रो चरणमा मुख्यमन्त्री कार्यालय र प्रदेशसभालाई १ महिना घेराउ गर्ने चेतावनी दिए।

उनले कोशी नाम गुण्डागर्दी शैलीमा राखिएको बताउँदै संविधानमा ७२ घण्टाअगाडि सबै राजनीतिक दल र सरोकारवालालाई सार्वजनिक गर्नुपर्ने विषय गोप्य ढंगले गरिएको बताउँदै उनले यो विषयमा आफूहरुले आपत्ति जनाएको बताए।

प्रदेश २ मा गोप्य मतदान गरिएकोबारे बोल्दै प्रदेश १ मा हिक्मत कार्कीले खुल्ला मतदान गर्न लगाएको आरोप लगाए। उनले भने, ‘सांसदलाई कारबाहीको धम्की दिइयो। यो गुण्डागर्दीप्रति हाम्री खेद व्यक्त गर्दछौं। यो निर्णय उल्ट्याउनु पर्छ।’

यस्तै कोणसभामा विद्रोह गर्ने चेनावनी दिँदै आङकाजी शेर्पाले पहिचानसहितको प्रदेश माग्दा नदिए देशका लागि विद्रोह गर्ने बताए। आफूहरुको माग पहिचान रहेको बताउँदै उनले भने, ‘पहिचान  दिनलाई गाह्रो पर्नेछ भने प्रदेश होइन हामी देश माग्छौं। शान्तिपूर्ण आन्दोलन पर्याप्त नभए हामी विद्रोह गर्नेछौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.