|

इलाम : घरेलु टोली राष्ट्रिय जागृति क्लबलाई हराउँदै चर्च व्बाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

प्रस्तावित इटहरी रंगशालामा जारी प्रतियोगिताको दोश्रो क्वार्टरफाइनल खेल चर्च व्बाइजले २—० गोल अन्तरले जितेको हो। पहिलो हाफमा १—० गोल अन्तरको अग्रता बनाएको चर्च व्बाइजले दोश्रो हाफमा १ गोल थप्यो।

चर्च व्बाइजको जितमा आशिष चापागाई र मौसम लिम्बुले गोल गरे । खेलको सुरुवातबाटै दबाब बनाएको चर्च व्बाइजले ४५ औं मिनेटमा अग्रता बनायो। आशिष चापागाईलाई डिबक्सभित्र राष्ट्रिय जागृतिका गोलरक्षक निरोज चौधरीले लडाएपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो।

कप्तान मिलन राईको पेनाल्टी प्रहार रिबाउन्ड भएर आएपछि पाएको अवसरलाई चापागाईले जाली चुमाए। गोल गर्ने बित्तिकै घाइते भएपछि दोश्रो हाफमा चापागाईलाई सन्तोष न्यौपानले सब्स्च्यिुट गरे।

६१ औं मिनेटमा सब्स्टिच्युट खेलाडी लिम्बुले अग्रता दोब्बर बनाए। विवेक पौडेलको स्थानमा मैदान प्रवेश गरेको ७ मिनेट नबित्दै लिम्बुले गोल गरेका थिए। खेलमा चर्च ब्वाइजले घरेलु टोलीमाथि निक्कै दबाब सृजना गरेको थियो।

३६ औं मिनेटमा चर्च व्बाइजमा बेम्पाको फ्रिकिक प्रहारलाई चापागाईले गरेको हेडर गोलरक्षक चोधरीले बचाए। ५४ औं मिनेटमा चर्च व्बाइजमा कप्तान मिलनको प्रहार फ्रेममा पर्न सकेन। ६९ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा सन्तोष न्यौपानले पाएको अवसर खेर फाले।

८० औं मिनेटमा गोलरक्षक अघि बढेको मौका गगनदिप सिंहको प्रहार आकासिएको थियो। इन्जुरी समयमा चर्च व्बाइजका कमल श्रेष्ठको प्रहारलाई गोलरक्षक चौधरीले बाहिर पठाइदिए।

कडा चुनौती दिए पनि राष्ट्रिय जागृतिले गोल पोष्टमा फितलो प्रहार मात्र गर्न सक्यो। खेलको २९ औं मिनेटमा कप्तान कब्बु राईको क्रसमा पाएको अवसरमा प्रवेश दनुवारको हेडर फ्रेममा पर्न सकेन।

खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका प्रशान्त लक्सम घोषित भए। उनले नगद १० हजार प्राप्त गरे।

राष्ट्रिय जागृति क्लबको आयोजनामा चैत ४ गते सुरु भएको प्रतियोगिताको तेश्रो क्वार्टरफाइनल खेलमा सोमबार ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले पाहुना टोली भारतको कञ्चनजंघा एफसीसँग प्रतिस्पर्धा गर्दै छ।

खेलपछि प्रतिक्रिया दिँदै राष्ट्रिय जागृतिका अफिसियल सजिवन राईले पहिलो गोल खाएपछि टिम दबाबमा परेको बताए। उनले गोलरक्षकको गल्तीबाट पहिलो गोल खानु नै पराजयको मुख्य कारण भएको बताए। एक महिनाको तयारीबाट टिमले उत्कृष्ट खेल देखाएको उनले बताए।

यता चर्च ब्वाइजका प्रशिक्षक प्रदिप हुमागाईले लिगको निरन्तर खेलका कारण खेलाडीहरु थकित भएकाले पाएका अवसर सदुपयोग हुन नसकेको बताए। उनले खेल मैदानको अनुभव नभएको कारण पनि पाएको अवसरलाई गोलमा परिणत गर्न नसकेको बताए। उनले खेलमा देखिएका कमजोरी आगामी खेलमा सुधार गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.