|

म्याग्दी : म्याग्दीका दुई क्याम्पसमध्ये म्याग्दी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ भने पश्चिम म्याग्दीमा रहेको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।

मंगला क्याम्पसमा आइतबार भएको निर्वाचनमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी भीममाया रोका नेतृत्वको प्यानल नै विजयी भएको हो।

रोकाले १ सय ३० मत प्राप्त गरिन् भने नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत पाएका छन्। सचिवमा अनेरास्ववियुका रविन शाहीले १३० मत र कोषाध्यक्षमा तारा रानाले १२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अनेरास्ववियुबाट सदस्यहरुमा मेघबहादुर घर्ती (१३२), विन्दा रोका (१३५), सजिना सुबेदी (१३५), किशोरी फगामी (१३४) र यूमाया दर्जी (१३२) पाएर विजयी भएको निर्वाचन अधिकृत बलबहादुर कार्कीले बताए।

जम्मा २१२ मतदाता रहेको क्याम्पसमा १४३ मत खसेको थियो। निर्वाचन नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले भने बहिस्कार गरेको थियो।समानुपातिकमा १२ मत प्राप्त गरेको नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनमा एउटा स्थान पाउने उनले बताए।

मतदान बिहान ८ बजेर १० मिनेटमा शुरु भएको र ४ बजेसम्म १४३ जनाले मतदान गरेका थिए।

नवनिर्वाचित स्ववियु अध्यक्ष रोकाले चुनावपछिको यात्रामा सबै विद्यार्थी सँगै हुने बताइन्। उनले चुनाव एक प्रक्रिया भए पनि सहकार्य र सहमतिबाटै अगाडि बढ्ने प्रतिबद्धता जनाइन्।

पश्चिम क्षेत्रको शैक्षिक धरोहर मानिएको क्याम्पसले क्युएए प्राप्तिको अभियानमा स्ववियुमार्फत काम गर्ने प्रमुख लक्ष्यमा सघाउने नवनिर्वाचित अध्यक्ष रोकाको भनाई छ। विद्यार्थीको मतदानस्थल आसपासका क्षेत्रमा सदभावमय चुनावी माहोल देखिएको थियो।

म्याग्दी बहुमुखी क्याम्पसमा स्थगित

​म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ।

निर्वाचनको विषयलाई विद्यार्थी सङ्घ सङ्गठनबीच विवाद भएपछि क्याम्पस प्रशासनले निर्वाचन स्थगित गरिएको सूचना जारी गरेको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताए।

तालाबन्दीका विषय लिएर क्याम्पस सञ्चालक समिति, प्रशासन, निर्वाचन समिति र स्ववियु निर्वाचन २०७९ का लागि दर्तावाला सङ्घ सङ्गठनका प्रतिनिधिहरुबीच भएको बैठकको निर्णयबमोजिम विद्यार्थी सङ्घ सङ्गठनलाई सहमति गर्ने समयावधि तोकिएकोमा उक्त समयभित्र सहमति कायम भएको सूचना नआएकाले निर्वाचनका कार्यक्रम स्थगित गरिएको जानकारी उनले दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.