|

काठमाडौं : चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमा आयोजना गरेको तीनदिने पटकथा लेखन र निर्देशन कार्यशाला आइतबार सकिएको छ। चाबहिलस्थित बोर्डको हलमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै कार्यशाला समापन गरिएको हो।

चैत ३ गतेदेखि ५ गतेसम्म सञ्चालित कार्यशाला ​​पामे फिल्म फेस्टिवलले व्यवस्थापन गरेको थियो भने कार्यशालामा ४८ जना प्रशिक्षार्थी सहभागी थिए। 

विभिन्न पुरस्कार विजेता भारतीय फिल्ममेकर तथा पूर्व एफटिआइआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे) का एसोसिएट प्रोफेसर बर्वेले आफूले नेपालमा केही अनुभवी तथा केही नयाँ फिल्ममेकरहरूसँग ३ दिन बिताउन पाएकोमा खुशी व्यक्त गरे।

उनले भने, ‘मैले भिन्न वातावरणमा फरक अनुभूति गरेको छु। मलाई नेपाल बोलाएर यस कार्यशालाको प्रशिक्षक बन्ने मौका दिएकोमा म चलचित्र विकास बोर्डलाई धन्यवाद दिन चाहन्छु। प्रशिक्षार्थीले मसँग बाँड्नुभएका कथा र कथाका शैली मेरो लागि पनि निकै नयाँ थिए र मैले पनि सिक्ने अवसर पाएँ।’

प्रशिक्षार्थीको रुपमा सहभागी नेपाली चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले यो कार्यशालामा भाग लिन निकै उत्साह जागेर ३ दिनसम्म लगातार बसेको बताए।

‘हामी फिल्ममेकरहरूले कहिल्यै पनि सिक्ने अवसरलाई छोड्नु हुँदैन। म अन्य सहभागीभन्दा सिनियर भए तापनि मैले सँगै बसेर सिक्न कुनै अप्ठेरो महशुस गरिनँ।’

​आफ्नो समयमा यस प्रकारले ज्ञान प्राप्त गर्ने कुनै ठाउँ र अवसर पनि नभएको समयमा चलचित्र निर्देशन गरेको उनले बताए। उनले भने, ‘मैले बौद्धमा भिडियो हेरेको भरमा चलचित्र बनाउन थालेको हुँ। हामीले सिक्ने मौका नै पाउँदैनथ्यौँ। पुराना भिडियो फिल्म हेरेर सिक्थ्यौँ।’

बोर्ड अध्यक्ष भुवन केसीले सफल चलचित्र निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकोले सोही उद्देश्यसहित कार्यशाला आयोजना गरिएको बताए।

‘स्क्रिप्टिङ, कास्टिङ, निर्देशन र पोस्ट-प्रडक्शनसम्मको अवधारणाको विकासदेखि लिएर, यो कार्यशालाले फिल्म निर्माणका सबै पक्षहरूलाई समेटेको छ,’ उनले भने, ‘हामी विश्वास गर्छौं कि यस कार्यशालाबाट प्राप्त अन्तरदृष्टि र ज्ञानले महत्वाकांक्षी फिल्ममेकरहरूलाई मनोरञ्जन मात्र होइन, विचारोत्तेजक र सामाजिक रूपमा सान्दर्भिक फिल्महरू सिर्जना गर्न सक्षम हुन मद्दत पुगेको छ।’

चलचित्र विकास बोर्ड राष्ट्रिय चलचित्र उद्योगलाई सहयोग र प्रवर्द्धन गर्न सदैव प्रतिबद्ध रहेको बताउँदै केसीले भने, ‘चलचित्र उद्योगमा रोजगारी सृजना गर्ने, अर्थतन्त्र प्रवर्द्धन गर्ने र नेपालको कला र सांस्कृतिक सम्पदा विश्वसामु देखाउने क्षमता रहेको बुझेका छौं। नेपालको चलचित्र उद्योगको विकास र विस्तारका लागि उपयुक्त वातावरण सिर्जना गर्ने दिशामा बोर्डले काम गरिरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.