|

सल्यान : सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा भुक्तानी नपाएको भन्दै ठेकेदार (निर्माण व्यवसायी)ले विद्यालयका २ भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको हो।

८ कोठे र ४ कोठे दुई भवनमा तालाबन्दी हुँदा विद्यार्थीको पढाईमा समस्या भएको विद्यालयका सह प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकीले बताए। विद्यालयमा तालाबन्दी हुँदा कक्षा ४, ५, ८, ९, १०, ११ र १२ कक्षाका विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको उनको भनाई छ।

ठेकेदारले ताला लगाएपछि भवन अभाव हुँदा दुइटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ। एसइईको परीक्षा केन्द्र भएकाले थप समस्या भएको उनले बताए।

उनले भने‚ ‘दुई भवनमा ठेकेदारले ताला लगाएपछि धेरै विद्यार्थीको पठनपाठन प्रभावित भएको छ भने १७ गतेदेखि हुने एसइईको परीक्षा केन्द्रसमेत यहीँ भएकाले त्यसको व्यवस्थापन कसरी गर्ने हो समस्या भएको छ।’

आफूहरुले पढ्दै आइरहेको भवनमा तालाबन्दी हुँदा जीर्ण भवनमा जोखिम मोलेर पढ्न बाध्य भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी मिनराज खड्काले बताए। उनले भने‚ ‘नयाँ भवनमा डिजिटल प्रविधिबाट पढ्दै आइरहेका थियौं तर त्यहाँ ताला लागेपछि कक्षा ११ र १२ का विद्यार्थी साथै बसेर पढ्न बाध्य छौं।’ 

विद्यालय भवन निर्माण कम्पनी (ठेकेदार) विरुद्ध अख्तियारमा मुद्दा परेकाले विद्यालयको खातामा आएको रकम निकासा गर्न समस्या भएको विद्यालय प्रशासनले जनाएको छ।

यता त्रिवेणी गाउँपालिकाले भने विद्यालयको खातामा रकम हालिसकेकाले ठेकेदारलाई रकम दिने नदिने विद्यालयको हातमा रहेको जनाएको छ।

अख्तियारले छानबिन गरिरहेकाले गाउँपालिकाका प्राविधिक गएर भवनको अन्तिम रिपोर्ट दिन नसक्ने गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए। विद्यालयमा लागेको तालाबन्दी खोल्न सहजीकरणका लागि आफूहरु लागि परेको उनको भनाई छ।

जिज्ञासु बिसी निर्माण कम्पनीले ८ कोठे भवनका लागि झन्डै २ करोड र ४ कोठे भवनका लागि १ करोड लागतमा निर्माण गर्ने सम्झौता गरेको थियो। निर्माण सम्पन्न भएको ६ महिनाभन्दा बढी भइसक्दा समेत आफूहरुले पाउनुपर्ने रकम नपाएको भन्दै ठेकेदार कम्पनीले गत शुक्रबार दुई भवनमा तालाबन्दी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.