|

म्याग्दी : चैत ७ गतेले म्याग्दीवासीलाई नमीठो अतीतको स्मरण गराइदिन्छ। चैत ७ सम्झनासाथ म्याग्देलीको नजरमा अनेक बिभत्स दृश्य नाच्न थाल्छन्। तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको आज १८ वर्ष पुगेको छ। 

२०६० सालको चैत ७ गते तत्कालीन विद्रोही माओवादी र नेपाली सेनाबीच बेनी भिडन्त भएको थियो। आक्रमणबाट मानवीय क्षति मात्रै भएको थिएन‚ पुरातात्विक, सांस्कृतिक, ऐतिहासिक र मौलिक क्षति पनि भयो ।

बेनी आक्रमणको घटना भएको समय जति घर्किँदै छ, त्यति नै उक्त घटना प्रमाणहरू र तत्कालीन पर्वत राज्यको मुकाम बेनीबजारका मौलिक स्वरुप  पनि हराउँदै गएका छन्। उक्त घटनाको एकमात्र जिउँदो साक्षीको रूपमा रहेको युद्धपोल पनि बेनीमा छैन।

विद्रोही र सेनाबीच भएको भिडन्तमा सयौं गोली लागेर छियाछिया बनेको बिजुलीको (खम्बा) पोल पनि ललितपुर पुर्‍याइएको छ। युद्धका अवशेष हराउँदै जान थालेका वेला नयाँ पुस्ता र विदेशीलाई युद्ध संग्रहालयमार्फत आकर्षित गर्न सकिने ऐतिहासिक महत्त्व बोकेको पोल ललितपुरबाट फिर्ता ल्याउन सकिएको छैन।

बेनीको मंगलाघाट जाने बाटोमा तत्कालीन सेनाको ब्यारेकसामु दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोललाई कनकमणि दीक्षितले तत्कालीन विद्युत प्राधिकरणका कर्मचारीहरूको मिलेमतोमा रातारात काठमाडौं पुर्‍याएको स्थानीयको आरोप छ।

पोल अहिले पाटनढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र रहेको यलमाया केन्द्रमा छ। युद्ध पोल बेनीमा फिर्ता ल्याउने विषयमा धेरै प्रयास भए। कैयौं योजना बनाइए तर उक्त पोल अझैसम्म पनि फिर्ता ल्याउन नसकिएको बेनी नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताए।

पोल फिर्ता गर्ने विषयमा मदन पुस्तकालय गुठी सकारात्मक रहेको बताइए पनि उक्त पोल फिर्ता गर्न मदन पुस्तकालयले अझैसम्म पनि तदारुकता नदेखाएको  धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले जानकारी दिए।

जिल्ला समन्वय समितिको आग्रहमा युद्धपोलको खोजी गर्न ललितपुर पुगेका बानियाँले दीक्षितलाई भेटेर समन्वय समितिको पत्र समेत बुझाएको डेढ वर्ष नाघिसकेको छ।

बेनी आक्रमणपछि भेटिएका हातहतियार लगायतका दस्तावेज संग्रह गरेर भावी पुस्तालाई जानकारी दिने युद्ध संग्रहालय बनाउने बेनी नगरपालिकाको योजना समेत कार्यान्वयनमा आउन सकेको छैन।

दोहोरो भिडन्तको साक्षी बनेको विद्युतको पोल लगायतका सामग्री संकलन गरेर संग्रहालय बनाउने बेनी नगरपालिकाको दुई वर्षअघिको योजना घोषणामै सीमित छ। २०७५ माघमा बेनी नगरकार्यपालिकाको बैठकले वडा नम्बर २ खबराको लभ्लीहिलमा युद्ध संग्रहालय बनाउने निर्णय गरेको थियो।

नगरपालिकाको आर्थिक वर्ष २०७६–०७७ र २०७७–०७८ को नीति तथा कार्यक्रममा पनि युद्ध संग्रहालय बनाउने योजना समावेश छ तर बजेटको व्यवस्थापन नभएकाले कार्यान्वयन हुन नसकेको बेनी नगरपालिकाले जनाएको छ।

सदरमुकाम बेनी आक्रमणमा १६ जना सर्वसाधारण, ३८ जना सुरक्षाकर्मी र ४२ जना विद्रोही पक्षका गरी ९६ जनाले ज्यान गुमाएका थिए। उक्त आक्रमणमा करिब चार सय जतिले ज्यान गुमाएको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.