|

काठमाडौं : सत्ता समीकरण फेरिएसँगै चुनावलगत्तै सत्तामा पुगेको नेकपा एमाले अहिले प्रतिपक्षमा पुगेको छ।

राष्ट्रपतिमा भएको सहमति पालना गर्न प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार नभएको भन्दै एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो। एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि गत सोमबार प्रधानमन्त्रीले संसदबाट दोस्रोपटक विश्वासको मत पाएका छन्।

विश्वासको मत लिने क्रममा बोल्दै प्रचण्डले आफू प्रधानमन्त्री बनाइदेऊ भन्दै  बालकोट नगएको र अनेक गरेर बोलाइएको खुलासा गरे। अब एमालेको भूमिका के हुन्छ? प्रस्तुत छ यिनै समसामयिक विषयमा एमाले संसदीय दलका प्रमुख सचेतक एवं पूर्वस्वास्थ्य मन्त्री पदम गिरीसँग गरिएको कुराकानीको सम्पादित अंश :

प्रचण्डलाई अनेक गरेर बालकोट बोलाएर प्रधानमन्त्री बनाउनुभएको रहेछ होइन ? 

वास्तवमा पुष्पकमल दाहाल प्रचण्डको व्यक्तित्व, उहाँको छवि, पहिचान भनेको एउटा बेइमानी झुट र धोकापूर्ण राजनीतिको जगमा उभिएको छ। उहाँले इमानदारिताका साथ कहिल्यै पनि अभिव्यक्ति दिनुहुन्न।

युद्धको समयदेखि नै उहाँ झुक्याउने, उपयोग गर्ने यस्तो राजनीतिक इतिहासबाट गुज्रिएर आउनुभयो। अहिले पनि संभव भएसम्म झुटको खेती गर्दै उपयोगको राजनीति गर्नुहुन्छ। जसरी हुन्छ टिक्नुपर्छ भन्ने आशय देखिन्छ। अहिले पनि बोलाई बोलाई प्रधानमन्त्री बनाएको भन्नुहुन्छ। कांग्रेससँगको गठबन्धनमा बसेर सरकार बनाउन नसक्ने देखिएपछि आफैं बालकोट आएर बार्दलीमै बसेर हात हल्लाएको होइन र ! विगतका कमी कमजोरीमा मैले आत्मसमीक्षा गरेको छु, विगतका कुरा बिर्सिएर देश र जनताका लाग काम गरौँ भनेको उहाँले बिर्सनुभएछ।

खासगरी वामपन्थीहरु एकता आम जनता र कार्यकर्ताको चाहना भएको पनि प्रचण्डले त्यत्ति बेला भनेको बिर्सनुभएछ। यस्तै यस्तै आश्वासन र आत्मसमीक्षा पछि हामीले उहाँको नेतृत्वमा सरकार बनाउन सहयोग गरेका हौँ।

सरकारमा गएको २ महिना पूरा नहुँदै सहयात्री दललाई लात हानेर जानु योभन्दा निकम्मा के हुनसक्ला? यतिको बेइमानी र धोकेवाजपन आजसम्म खोजेपनि पाइँदैन । 

अध्यक्ष ओलीलाई दुई पटक प्रधानमन्त्री बनाइदिएको, एकपटकको ऋण तिर्नै बाँकी छ पनि भन्नुभयो नि ? 

प्रधानमन्त्री बनाउने कुरो हाम्रो जस्तो मुलुकमा जुन हाम्रो संवैधानिक कानुनी व्यवस्था छ, त्यसले त एउटा न एउटा पार्टीले अर्को एउटा पार्टीलाई सहयोग गर्नै पर्ने हुन्छ। कुनै पार्टीको बहुमत पुग्न सक्ने अवस्था छैन । कि संविधान संशोधन गरेर जानुपर्ने हुन्छ। कस्तो अवस्थामा प्रधानमन्त्री बन्यो भन्ने पनि हुन्छ। एउटा पार्टीको नेतृत्वलाई अर्को पार्टीले सहयोग गरेर सरकार बनाउनु स्वभाविक हो।

यसको निश्चित अवधि हुन्छ कि हुँदैन? त्यतिन्जेल सँगै जानुपर्ने होइन र ?  एमालेलाई सरकारबाट बाहिर निकाल्नुभयो। कंग्रेसलाई सरकारभित्र इन्ट्रि पनि गरिसक्नु भएको थिएन । त्यही समयमा उहाँले आफ्ना ५ हजारभन्दा बढी अयोग्य लडाकूहरु, जो नेपाल सरकारको कुनै रेकर्डमा छैन, आधिकारिकता पनि पाएको छैन।त्यस्तालाई २–२ लखका दरले पैसा बाँडिदिने भनेर करिब १ अर्ब रकम झ्वाम पार्नुभयो ।

मुलुक अहिले  आर्थिक संकटसँग गुज्रिरहँदा यहाँ तरलताको अभाव छ । आम नागरिक बाँच्न नसक्ने भएका छन् । विदेशी मुद्राको संचितीमा धेरै चाप छ । शिक्षक कर्मचारीलाई तलब खुवाउने पैसा समेत नभएको अवस्थामा राज्य ढुकुटीबाट १ अर्ब रुपैयाँ झ्वाट्ट झिकेर आफ्नैलाई दिन खोज्नुभएको छ । प्रत्येक मिनेट मिनेट सकेण्ड सेकेण्डमा देश कसरी लुट्ने बाहेक अरू ध्यान छैन । 

 प्रधानमन्त्रीले भनेजस्तै शान्ति, संविधान र गणतन्त्र लगायतका परिवर्तनमा खतरा एमालेबाट आएको हो त ?  

एमाले शान्ति, संविधान र गणतन्त्र लगायतका परिवर्तनको रक्षक हो। हामी शान्ति प्रकृया टुङ्गोमा लैजाने पक्षमा छौँ। यी विषयमा हेलचेक्रयाइँ र खेलाँची गर्दैनौं। जहाँ जस्तो पायक पर्यो त्यस्तै बोल्ने हामी होइनौं। माओवादी जस्तो अस्थिर भएर हिँड्ने पार्टी होइन। हामी जनताप्रति जिम्मेवार पार्टी हौँ । 

पहिलो पटक विश्वासको मत दिने क्रममा तपाईंको अध्यक्षले संसद विघटनको कुरा गरेकाले सबै बिग्रियो भन्ने प्रधानमन्त्रीको टिप्पणी सुनियाे नि!

विगतका कुरामा हाम्रो स्ट्याण्ड एकदम क्लियर छ। तत्कालीन समयमा संसदमा आफूहरूले पाएको जनमत खण्डित भएको र तत्कालको अंकगणितले राजनीतिक स्थायित्व नदिने भएकाले ताजा जनादेशमा जानका लागि संसद विघटन गरिएको कुरा अध्यक्ष ओलीले भनेको कुरा क्लियर छ।

यो पार्टीको पनि धारणा हो। विघटनको कुरा उहाँहरूको वहानाबाजी हो। विघटनकै कुरा थाहा हुँदा हुँदै पनि त प्रचण्ड, ओलीकै साथमा प्रधानमन्त्री बन्न आइपुग्नुभएको हो नि ! यस्ता कुरा उठाउनु भनेको जनताको आँखामा छारो हाल्ने, दिगभ्रमित पार्ने काम हो । व्यापार व्यवसाय बन्द गराउने , युवाहरूलाई कामका लागि विदेश पठाउने खेलो भइरहेको छ । यस विषयमा हामी सजग हुनुपर्छ ।

एमालेले के आधारमा यो सरकार वैशाखसम्म मात्र टिक्छ भनिरहेको हो?

यो सरकार किन टिक्दैन भने आप कुहिएपछि त्यसलाई घोची घोची झार्नुपर्दैन, त्यो आफैँ झर्छ । यो सरकारका आर्थिक नीतिहरू, राजनीतिक निर्णयहरू, पछिल्लो समय बनेको गठबन्धनका स्वार्थका आयामहरू हेर्ने हो र विश्लेषण गर्ने हो भने कुनै पनि हालतमा यो सरकार धेरै दिन जानेवाला छैन। सरकार निर्माणको यो अंकगणित तलमाथि भएर भन्दा पनि जनता नै सडकमा आएर यो सरकार धेरै दिन टिक्दैन कि भन्ने लाग्छ। 

अब एमालेको भूमिका के हुन्छ ?

हामी सत्तामा नभए पनि जिम्मेवार प्रतिपक्षको भूमिकामा रहन्छौं। हामीले उहाँहरूका कर्तुतहरू, उहाँहरूले देश र जनताप्रति दिएका धोका र अपराधहरूलाई संसदभित्र सशक्त र प्रभावकारी ढंगले उठाउँछौँ । जनतालाई यो विषयमा सूसुचित गर्छौं। हामी जनतालाई आव्हान गर्छौं कि यस्तो राजनीतिक नेतृत्वले देश सम्हाल्दा देश वर्वाद हुन्छ भनेर । हामी चौतर्फी दबाब सिर्जना गराएर सडकदेखि सदनसम्म यसको विरोध गर्छौं।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.