असारभित्र बाँकी काम सक्ने ठेकेदारको प्रतिबद्धता

|

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–९ स्थित गोकर्णको यज्ञडोल (जगडोल)मा ‘राष्ट्रिय शहीद तथा निजामती पार्क’ निर्माणमा हालसम्म १२ करोड रूपैयाँभन्दा बढी खर्च भएको छ। यति धेरै खर्च भइसक्दा पनि ११ वर्षदेखि निर्माणाधीन पार्क अहिलेसम्म बन्न सकेको छैन।

शहरी विकास मन्त्रालयको योजना तथा वैदेशिक समन्वय शाखाका अनुसार विभागमा हस्तान्तरण भइ आएका ५ वटा रूग्ण ठेक्काको खर्च रकम १२ करोड ४४ लाख ४० हजार ७६८ रूपैयाँ छ। त्यही कार्यालयबाट ठेक्का लगाएको एउटा निर्माण कार्यको भने ६१ लाख २८ हजार ५२७ रूपैयाँ खर्च भएको छ।

दोस्रो जनआन्दोलनको अभिलेख राख्ने, शहीदलाई श्रद्धा व्यक्त गर्ने र शान्ति तथा एकताको सन्देश फैलाउने उद्देश्यले यो पार्क निर्माण सुरू गरिएको थियो। शहीद भएका निजामती कर्मचारी तथा घुन्सा दुर्घटनामा निधन भएका वनविज्ञको स्मरण गर्ने उद्देश्य पनि थियो।

२०६४ जेठ ११ गते मन्त्रिपरिषद्ले राणाशासनको अन्त्यदेखि पछिल्लो परिवर्तनसम्म शहादत प्राप्त गर्ने शहीदको सम्मानमा काठमाडौंको गोकर्णमा राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) सँगै निजामती पार्क निर्माण गर्ने निर्णय गरेको थियो। त्यही अनुरूप २०६८ सालमा उक्त पार्कको शिलान्यास भएको थियो।

सरकारले पार्क निर्माणका लागि ४६ करोड ७१ लाखमा डाँफे, सुनौला खिम्ती जेभी, बोखिम कन्स्ट्रक्सन, शान्ति निर्माण सेवा, सूर्य आरबी/जनपथ जेभी, चक्रेश्वरी/सूर्यजीवन जेभी कम्पनीलाई ठेक्का दिइएको थियो। यसमा ४ प्याकेजअनुसार काम छुट्याइएको छ।

सामुदायिक वनको ६५० रोपनी जग्गामा शिलान्यास भएको यी सबै निर्माणका काम २०७४ सालमा नै सक्नुपर्ने सम्झौता थियो तर आयोजना सुरू भएको ११ वर्ष बितिसक्दा पनि काम सकिएको छैन। बरू पटक–पटक यसको म्याद थपिँदै गयो। 

अहिले कामलाई तदारूकता नदिइँदा शहीद पार्क निर्माणको ११ वर्ष पूरा नहुँदै भत्किए संरचना। कुनै संरचना जंगलमा लथालिंग देखिन्छन्। फलामको भ्यूटावर भाँचिइसकेको छ।

रेस्टुरेण्टका लागि बनाइएको संरचनामा खिया लागेको छ। पानीट्यांकी, स्तुप झारले ढाकेको छ। पैदलमार्गममा जोडिएका बत्ती फुटेका छन् भने पर्खाल लगाइएको इँटा भत्किएका छन्। यज्ञडोल (जगडोल) लाई गोकर्णेश्वर नगरपालिकाको वडा ३,४ र ९ गरी तीनवटा वडाले छुन्छ।

ढिलाइबारे यसो भन्छ मन्त्रालय

काम ढिलाइबारे शहरी विकास मन्त्रालयका सूचना अधिकारी राजेन्द्र खतिवडाले निर्माण व्यवसायीको ढिलासुस्तीले समयमा काम नसकिएको बताए।

उनले अन्य ढिलाइका कारणहरूबारे भने, ‘विगतमा उक्त कार्यक्रम सञ्चालन गर्ने शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेज भइ ठेक्का व्यवस्थापनमा अन्योल पनि भएको थियो। तत्कालीन समयमा रूग्ण ठेक्काहरूको म्याद थपका लागि कानुनी व्यवधान नरहेको, कोभिड-१९ प्रभावले पनि समयमा काम सकिएन।’ 

गोकर्णेश्वर नगरपालिकाका वडा–४ का अध्यक्ष जयराम महतले ठेकेदार सम्पर्कमा नआएका कारणले पनि काममा ढिलाइ भएको तर्क गरे। 

बाँकी काम असार मसान्तमा सक्ने प्रतिबद्धता

मन्त्रालयका सूचना अधिकारी खतिवडाले अब बाँकी काम आगामी असार मसान्तसम्ममा सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता गरेको जानकारी दिए।

उनका अनुसार शहरी विकास तथा भवन निर्माण विभागमातहत आएको रूग्ण ५ वटा ठेक्काहरूमध्ये ३ वटा सम्पन्न भइसकेका छन्। ‘बाँकी २ वटा ठेक्काको हाल काम भइरहेको छ, असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीको प्रतिबद्धता छ,’ उनले भने।

मन्त्रालयले उपलब्ध बजेट तथा लक्ष्य अनुरूप प्रगति विवरण लिइ समयमै काम सम्पन्न गर्न पहल गरिरहेको उनले बताए।

‘मन्त्रालयले उक्त निर्माण कार्यका लागि उक्त कार्यक्रम कार्यान्वयन गर्ने कार्यलाई विभागमार्फत आवश्यक सहजीकरण गरिरहेको छ,’ उनले भने, ‘उपलब्ध बजेट तथा लक्ष्य अनुरूप प्रगति विवरण लिइ समयमै काम सम्पन्न गर्न पहल गरिरहेको छ।’ 

स्थानीय सरकार आएपछि अहिले धमाधम काम भइरहेको गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष महतले दाबी गरे। उनले भने, ‘स्थानीय सरकार आएपछि पहिला जस्तो अन्योल र काम रोकिने अवस्था छैन। कतिपय निर्माण कार्य सम्पन्न भइसकेका छन्, बाँकी काम भइरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.