|

तुलसीपुर :  कुनै वेला कक्षा ७ सम्म पढाइ हुने विद्यालयमा अहिले शिशु कक्षा मात्रै पढाइ हुने गरेको छ। गाउँमा विद्यार्थी नभएका पनि होइनन्। उनीहरू पढ्न अरू गाउँमा रहेका विद्यालय जान बाध्य छन्।

६० वर्षअघि सञ्चालनमा आएको विद्यालय स्थानीय सरकारको लापर्वाहीका कारण यो अवस्थामा पुगेको स्थानीयको बुझाइ छ।

दाङको तुलसीपुर उपमहानगर  हलवारस्थित श्री प्राथमिक विद्यालय यो अवस्थामा पुगेको हो। तुलसीपुर-७ हलवारकी सम्झना चौधरीले आफ्ना बच्चालाई उक्त विद्यालयमा भर्ना गरेकी छन्। उनले भनिन्, ‘विद्यालयको अवस्था दयनीय छ। बोर्डिङ महँगो छ। हामीले पढाउन सक्दैनौँ। अरू सरकारी स्कुल टाढा छन्।’

उनले गाउँको विद्यालयको अवस्था बिग्रदा आफूहरूलाई धेरै दुःख लाग्ने बताइन्। उनले गाउँको विद्यालयमा शिशु कक्षासम्म मात्र पढाइ हुँदा यहाँका विद्यार्थी टाढाको विद्यालयमा जान बाध्य भएको पनि बताइन्। यस्तै उनले गाउँको स्कुललाई सबैले चासो दिएर पहिलाको जस्तो पढाइ हुने व्यवस्था गरिदिन समेत आग्रह गरिन्।

हलवारकै रत्ना चौधरीले पनि विद्यालय कक्षा ५ सम्म भए पनि सञ्चालन भए सहज हुने बताइन्। उनले पनि यही विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन जरुरी रहेको बताइन्।

उनले भनिन्, ‘विद्यार्थी नभएको भन्दै यो विद्यालय अहिले यस्तो अवस्थामा आएको हो। यहाँका ठूलाबडाका छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन्। हामीले बोर्डिङ स्कुलमा पढाउन सक्दैनौँ। हाम्रो कुरा कसैले सुन्दैनन्।’

कुनै समय यो विद्यालय कक्षा सातसम्म सञ्चालन थियो। सबैभन्दा पुरानो विद्यालय  भएकाले अरू गाउँबाट पनि विद्यार्थी पढ्न आउँथे तर खाद्रे र कालाखोलामा सरकारी विद्यालय स्थापना भएसँगै विद्यार्थी पनि घट्दै गए।

गाउँमा बोर्डिङ स्कुल खुलेपछि विद्यार्थी झन् कम हुँदै गएपछि विद्यालयको अवस्था यस्तो भएको विद्यालयकी पूर्व विद्यार्थी सृजना शर्माले बताइन्।

उनले यो विद्यालयमा कक्षा ५ सम्म पढेकी थिइन्। उनले भनिन्, ‘त्यसवेला विद्यालय पनि राम्रो थियो। पर्सेनी र खाद्रेबाट पनि विद्यार्थी पढ्न आउथेँ।’

उनले यस विद्यालयलाई संरक्षण गरेर कम्तीमा कक्षा ५ सम्म पनि  पढाउने व्यवस्था गर्नुपर्ने सुझाव दिइन्।

तुलसीपुर उपमहानगरले  २०७५ सालमा उक्त विद्यालय मर्ज गरेपछि विद्यालयमा अहिले शिशु कक्षासम्म पढाइ हुन्छ। विद्यालयमा १८ जना विद्यार्थी छन्। २ जना शिक्षिका र एक जना कार्यालय सहयोगी छन्।

विद्यालयकी शिक्षिका गोमा चौधरीका अनुसार यहाँका ठूलाबडाहरूले चासो नदिँदा विद्यालय यस्तो अवस्थामा पुगेको हो। उनले भनिन्, ‘गाउँकाले पनि वास्ता गरेनन्। अर्कोतर्फ बोर्डिङ स्कुल सञ्चालनमा आएपछि विद्यार्थी घट्दै गएर अहिले यस्तो अवस्था आएको हो।’

यस्तै उनले यस विद्यालयपछि पर्नुमा वडाका कारण रहेको पनि बताइन्। उनले भनिन्, ‘वडा नं. ७ र ४ मा यो विद्यालय छ। यसको विकासका लागि ७ वडा नं. ७ ले ४ लाई भन्छ। वडा न नं. ४ ले ७ लाई भन्छ। यो कुन वडामा पर्छ। हामी अन्योलमा छौँ।’

यो विद्यालय कुन वडामा पर्छ भन्ने टुंगो नहुँदा पनि समस्या भएको विद्यालय व्यवस्थापन समितिकी सदस्य निमा चौधरीले बताइन्। उनले विद्यालयलाई माथि उठाउन सबैले ध्यान दिनुपर्ने बताइन्।

विद्यालय नहुँदा विपन्न परिवारका बालबालिकालाई समस्या भएको उनको भनाइ छ। हुनेखाने परिवारले बोर्डिङ स्कुलमा पढाए पनि विपन्न परिवारले आफ्ना छोराछोरीलाई एक घन्टा समय लाग्ने विद्यालयमा पठाउन बाध्य भएको पनि उनले बताइन्।

तुलसीपुर उपमहानगरले जहाँ विद्यार्थी त्यहाँ शिक्षकहरू भन्दै उपमहानगरमा विद्यार्थी नभएका १८ वटा विद्यालय मर्ज गरेको थियो। जसका कारणले पनि अहिले विद्यालयको अवस्था पनि यस्तो भएको हो। सबैलाई एउटै नीतिमा राख्दा समस्या भएको भन्दै आउँदा आवदेखि विद्यालय सञ्चालन गर्न दिने तयारी रहेको उपमहानगर विद्यालय निरीक्षक चक्र भण्डारीले बताए।

उनका अनुसार मर्ज भएका विद्यालयमा यदि फेरि विद्यालय सञ्चालन गर्न चाहेमा अभिभावक भेलामार्फत विद्यालय सञ्चालन गर्ने र कति कक्षासम्म विद्यालय सञ्चालन भन्ने कुरामा वडा कार्यालय र अभिभावक भेलाबाट सिफारिस भए आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्न दिने निर्णय भएको छ।

हलवारतिरको बस्ती समेट्ने त्यही मात्र विद्यालय भएको भन्दै उनले वडाको सीमांकनबारे छलफल गरेर टुंगो लगाउने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.