|

दाङ :  पश्चिम नेपालकै  पुरानो, त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस  घोराहीमा रहेको  महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एक जना सदस्य बाहेक नेविसंघको प्यानल विजयी भएको छ।  बुधबार भएको निर्वाचनमा  नेपाल विद्यार्थी संघका मनोज डिसीले  अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्ववियुको सभापतिमा निर्वाचित भएका हुन्। 

उनले १ हजार ९६ मत प्राप्त गदै विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी  अखिल संयुक्त उम्मेदवार महराले ६२० मत प्राप्त  गरेका थिए।  क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँले तालमेल गरेका थिए।

त्यस्तै सभापतिमा विप्लव निकट अखिल क्रान्तिकारीका खुमबहादुर केसी ( खुमन) ले १२४ मत प्राप्त गरेका थिए। यस्तै  राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मुस्कान पोख्रेलले २८, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्टले १३० र अनेरास्ववियु छैटौँ ( क्रान्तिकारी) का सेवक भट्टराईले ४५ मत प्राप्त गरेका थिए।

सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी विजयी भएका छन्।  उनका  प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५८३ मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९९६ मत ल्याएर विजयी भइन्, भने  अखिल संयुक्तका सागर पण्डितले ६९४ मत प्राप्त गरि पराजित भए।

यस्तै सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल डाँगी र अनेरास्ववियुका सविन पोख्रेल विजयी  भएका छन्। चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहेपनि विप्लव निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो।

क्याम्पसमा ५ हजार ९४० जना मतदाता रहेकामा २ हजार १३२ मत खसेको छ। २०१६ सालमा स्थापना भएको क्याम्पस साविक राप्ती अञ्चलकै पुरानो र जेठोको क्याम्पसका रुपमा रहेको छ। उक्त क्याम्पसमा निर्वतमान  उपराष्ट्रपति नन्दकिशोर पुन,  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा,  पूर्व शहरी विकास मन्त्री मेटमणि चौधरी, कांग्रेस नेता खुमबहादुर खड्काले अध्ययन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.