|

काठमाडौं : कलंकीकी ३४ वर्षीया सरिता शर्मा (नाम परिवर्तित)लाई लगातार एक हप्तासम्म ज्वरो आउने र रुघाखोकी लाग्ने भयो।

उनी घर नजिकैको निजी मेडिकलबाट औषधि किनेर खादा पनि सन्चो नभएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन्। अस्पतालमा आवश्यक परीक्षण गरेपछि उनलाई कडा खालको मौसमी फ्लू (इन्फ्लुएन्जा) भएको पुष्टि भयो।

सरिता मात्रै होइन‚ हाल खोकी लाग्ने, घाँटी दुख्ने, घाँटी खसखस हुने, ज्वरो आउने, नाकबाट पानी बग्ने/बन्द हुने, थकाइ, शरीर दुख्नेलगायत लक्षण लिएर अस्पताल पुग्ने विरामीको संख्या बढ्दै गएको छ।

टेकु अस्पतालका बहिरंग विभाग प्रमुख शंखर पाण्डेका अनुसार हाल दैनिक डेढ सयदेखि २ सयजनासम्म रुघाखोकी ज्वरो सहितका विरामी आउने गरेको बताए।

‘रुघाखोकी ज्वरो आउँदा एक हप्तासम्म घरमै बाफ लिने जस्तो घरेलु उपचारका साथ साथै स्थानीय मेडिकलबाट ‍औषधि ल्याएर खाँदा पनि सन्चो नभएपछि बल्ल अस्पताल आउने विरामी धेरै हुनुहुन्छ’‚ पाण्डेले भने।

अघिल्ला वर्षहरूमा भन्दा योपटक अलि चाँडै मौसमी इन्फ्लुएन्जाका विरामी बढेको समेत पाण्डेले बताए। उनले भने‚ ‘अघिल्ला वर्षभन्दा योपटक अलि चाँडै मौसमी फ्लुका बिरामी आउनु भएको छ। बल्ल पानी पर्न थालेर गर्मी शुरु भएको छ। अब झन् विरामी बढ्ने देखिएको छ।‘

टेकु अस्पतालकै कल्सन्टेन्ट फिजिसियन डा. मिलन ब्रजाचार्यका अनुसार योपटक कडा खालका मौसमी इन्फ्लुएन्जाका विरामी अलि धेरै देखिएको बताए। ‘मौसम परिवर्तन हुने समयमा अघिल्ला वर्षहरूमा पनि इन्फ्लुएन्जाका विरामी बढ्ने गरेका थिए तर योपटक अस्पताल आएका यस्ता विरामीमा कडा खालको लक्षण देखिएको छ’‚ डा. ब्रजाचार्यले भने। अघिल्लो हप्तासम्म विरामी धेरै आउने गरे पनि हाल इन्फ्लुएन्जाको जस्तै लक्षण लिएर आउने विरामी कम भएको समेत डा. ब्रजाचार्यले बताए।

यस्तै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपलब्ध गराएको विवरणअनुसार जनवरीदेखि मार्चसम्म गरिएको १ हजार ८७७ परीक्षणमा इन्फ्लुएन्जा ए (एचवानएनवान) २४ वटा, इन्फ्लुएन्जा ए (एच थ्री) २२४ वटा, एन्फ्लुएन्जा ए पोजिटिभ (उपवर्ग छुट्याउन बाँकी) १४ वटा र ३३ वटा इन्फ्लुएन्जा बीका नमुना पोजिटिभ पाइएका छन्।

कडा लक्षण देखिएपछि र चिकित्सकले सुझाएपछि मात्र जाँच गराउने भएकाले प्रयोगशाला परीक्षणको नमुना कम देखिन्छ।

इन्फ्लुएन्जा भाइरसको ए सबटाइप एचथ्रीएनटु (H3N2) अलि कडा हुने गर्छ। स्वास्थ्यमा पनि सोहीअनुसारको समस्या पार्ने गर्छ। टेकु अस्पतालमा मात्रै मंसिरयता ५० जनामा ए सबटाइप एचथ्रीएनटु (H3N2) संक्रमणका विरामी पुष्टि भएको डा. ब्रजाचार्यले बताए। ‘एचथ्रीएनटु टाइपको इन्फ्लुएन्जा समयमै उपचार गरिएन भने यसले निमोनिया समेत गराउन सक्छ। त्यसैले कडा खालको लक्षण छ भने समयमै परीक्षण गरेर चिकित्सकको निगरानीमा बस्नुपर्छ’‚ डा. ब्रजाचार्यले भने।  

सामान्यतया लक्षण देखिएको एक हप्तामा इन्फ्लुएन्जा आफैँ ठिक हुने भए पनि इन्फ्लुएन्जा भाइरसको ए सबटाइप एचथ्रीएनटु (H3N2)को लक्षण कडाका साथै लामो समयसम्म हुने हुँदा समयमै उपचार नगरे निमोनिया समेत गराउने हुँदा सतर्क रहनुपर्ने बताउँछन् सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला।

​‘हाम्रोमा खास स्वाइन फ्लू भनेर चिनिने H1N1  र ए सबटाइप एचथ्रीएनटु (H3N2) टाइपका इन्फ्लुएन्जा देखिन्छ। यसमा पनि (H3N2) टाइप अलि कडा हुन्छ जसले गर्दा फ्लू जस्तै लक्षण दिएर एक हप्तासम्म ठिक भएन भने चिकित्सकलाई देखाइ हाल्नुपर्छ’‚ डा. बाँस्तोलाले भने।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए मुख्या गरी ‘ए’ र ‘बी’ टाइपका भाइरस धेरै फैलने र महामारीकै रूप लिन सक्ने बताइन्छ।

डब्लूएचओका अनुसार विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका ३० लाखदेखि ५० लाख विरामी पहिचान हुने गरेका छन्। तीमध्ये २ लाख ९० हजारदेखि ६ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासका समस्या बढेर मृत्यु हुने बताइन्छ।

नेपालमा वर्षेनि कतिलाई फ्लू देखिन्छ भन्नेमा आधिकारिक तथ्यांक उपलब्ध छैन तर हरेक वर्ष फ्लूका जोखिममा रहेकाहरू गर्भवती बालबालिका ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूले इन्फ्लुएन्जाको खोप लगाउन सकिने डा. बाँस्तोला बताउँछन्। उनका अनुसार खोपले इन्फ्लुएन्जाबाट हुने जटिलता र अस्पताल भर्ना हुनबाट जोगाउन सहयोग गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.