|

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन्। 

आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसहित प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिने।  गत बुधबार (चैत) ८ मा विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसले दुई दिनको समय मागेपछि बैठक आज बस्न लागेको हो।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६७ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका हुन्।  पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए। उनलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए। गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।

राप्रपा बाहिरिएपनि अहिलेसम्म एमाले भने सरकारबाट बाहिरिएको छैन। यता, कांग्रेस कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा भने मुख्यमन्त्री नै आफुले पाउनुपर्ने माग राख्दै आएका छन्। ११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका ३ वटा दलका ६७ सांसदको समर्थन प्राप्त हुने देखिन्छ। कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन पाउने देखिन्छ । राप्रपाका १३, नेमकिपाका ३ र एमालेका २७ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन्।

केन्द्रमा सत्ता समीकरण बद्लिएपनि बागमती प्रदेशमा एमालेका मन्त्रीहरु अझै सरकारबाट बाहिरिएका छैनन्। एमाले प्रदेशसभाका प्रमुख सचेतक मधुसुदन पौडेलले आफ्ना मन्त्रीले प्रदेशसभामै राजीनामा घोषणा गरेर सरकारबाट बाहिरिने बताए। एमालेले दिउँसो साढे १२ बजे संसदीय दलको बैठक बोलाइएको छ।  

बागमतीमा एमालेका चार मन्त्री रहेका छन्। एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, केशव प्रसाद पोखरेल, कृषि तथा पशुपन्छि विकास मन्त्री छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.