|

बागलुङ : एक दशकअघिसम्म जिल्लाका अधिकांश गाउँ बस्तीमा ढुंगाका छानो भएका घर प्रशस्त देख्न सकिन्थ्यो।

केही वर्ष यता बन्ने घर भवनमा ढुंगाका छाना देखिँदैन। अहिले बन्ने घर  कि कङ्क्रिटले ढलान भएका छन्, कि जस्तापाताले छाइएका छन्। घरमा ढुंगाको छाना हाल्न छोडेपछि खानी उपयोगविहीन भएका छन् भने मजदुर समस्यामा परेका छन्। 

बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीका स्थानीय गम्भीर विकले ४० वर्षदेखि ढुंगाखानीमा काम गर्दै आएका थिए। खानीमै काम गरेर जीविकोपार्जन गर्दै आउनु भएका विकलाई अहिले समस्या पर्दै गएको छ। नगरपालिकाको ७ नम्बर वडा स्थित जैदी हर्दियामा ढुंगाखानी छ। परम्परागत रूपमा घर छाउनका लागि प्रयोग गरिने ढुंगाको पछिल्लो समय व्यापार घटेपछि ढुंगाखानीमा काम गर्दै आएका गम्भीर विकसहित ९ जनाको पेशा संकटमा परेको हो। पहिला १५ देखि २० जना मजदुरले काम गर्ने ढुंगाखानीमा कोरोना महामारीपछि घटेर ९ जनामा सीमिति भएका छन्। 

‘१५ वर्षको उमेरदेखि ढुंगा खानीमा काम गर्न थालेको हुँ, त्यसवेला ११ मा एक हात बिक्री हुने ढुंगा अहिले १३५ हातमा बिक्री हुन्छ। परिवारको लालन पालन र छोराछोरीको शिक्षा दिक्षा यही ढुंगा खानीबाट गरियो’ ढुंगाखानीका मजदुर विकले भने, ‘अहिले ढुंगा समेत त्यति राम्रो निस्किँदैन निस्केको ढुंगा बिक्री हुनै समय लाग्छ। अहिले जताततै जस्ताले छाएका र आरसीसी घर निर्माण हुन थालेपछि ढुंगाखानी संकटमा परेको छ।’

हाते औजारको सहायताले ढुंगा निकाल्दै आएका मजदुर पछिल्लो समय दिनभर काम गर्दा समेत हात मुख जोर्न समस्या हुन थालेको बताउँछन्। ‘शुरुबाटै यही काम गरियो। अरु काम गर्न  सिकिएन। अहिले ढुंगा निस्कन मुस्किल छ। खानीभित्र भित्रै पसेको छ भने व्यापार घटेर गएको छ। निकालेको ढुंगा कहिले बिक्री हुन्छ थाहै हुन्न’,मजदुर हिमबहादुर श्रीषले भन्छन्, ‘अन्य स्थानमा आधुनिक औजारको प्रयोगबाट ढुंगा निकाल्दा छाप्ने, आधुनिक घरमा टाँस्ने गर्दा राम्रै बजार पाएका सुनेका छौं, यहाँ त्यस्तो छैन हातले मिलाएको ढुंगा घर छाउन बाहेक अन्त काम लाग्दैन, घर अहिले जस्ताले छाउन थाले, आरसीसी भवन बनाउन थाले, अब ढुंगाखानीमा काम गरेर पेट पाल्न सकस छ।’ 

पहिला यही ढुंगाखानीबाट परिवार लालन पालन र शिक्षादीक्षा गर्दै आएका मजदुर ढुंगाखानीको व्यापार घटेपछि विस्थापित हुने क्रम जारी रहेको छ। ढुंगाखानीमा काम गर्ने बुढापाका बितेर गए भने युवाहरु विदेश पलायन हुँदा ढुंगाखानी सञ्चालनमा ल्याउनै समस्या भएको स्थानीय ढुंगा व्यापारी मनिकर्ण क्षेत्रीले दुखेसो गरे। क्षेत्रीले ४५ वर्ष देखि मजदुरले निकालेको ढुंगा विभिन्न स्थानमा पुर्‍याएर बिक्री गर्ने काम गर्थे। तर अहिले घर छाउने ढुंगाको महत्त्व घट्दै गएपछि यहाँको ढुंगाखानी समस्यमा परेको उनको भनाइ छ। उनले आधुनिक ढुंगाको प्रचलन कायमै रहे पनि हाते औजारको प्रयोबाट निस्किएका ढुंगा घर छाउन मात्रै काम लाग्ने भएकाले समस्या भएको छ।

‘पहिला ढुंगा पुर्‍याउनै मुस्किल हुन्थ्यो, यहाँको घर छाउने ढुंगा जैमिनी, बरेङ, गुल्मी लगायतको स्थान सम्म पुग्दथ्यो, अहिले ढुंगाले घर कमै मात्र छाउन थाले, जस्ता पाता र ढलान गरेर घर बनाउनदा ढुंगा बिक्री हुनै छोड्यो’ क्षेत्रीले भने, ‘ढुंगाखानीमा आधुनिक प्रविधिको प्रयोग गरेर छाप्ने र पक्की घरमा टास्ने ढुंगा निकाल्दा राम्रो बजार हुन्थ्यो होला, ढुंगाखानी भिरालो जग्गामा छ, विद्युत पुर्‍याउन समस्या छ।’

परम्परागत तरिकाले सञ्चालनमा आएको ढुंगाखानी दर्ता भएर सञ्चालनमा समेत आउन नसक्दा राज्यबाट पाउने सेवा सुविधाको बम्चित हुनुपरेको ढुंगाखानीमा काम गर्ने मजदरहरुले बताएका छन्। उनिहरुले ढुंगा निकाले बापतको केही रकम ढुंगाखानीको जग्गा भएको स्थानीय विद्यालय सरस्वती आधारभूत विद्यालयमा जम्मा गर्ने गरेका छन्। 

ढुंगाखानीमा प्रख्यात बनेको बागलुङ जिल्लाको ताराखोलामा उत्पादन भएको ढुंगा मार्बलको विकल्प बनिरहेको सन्दर्भमा जैमिनीमा परम्परागत तरिकाले निकालिएको घर छाउन प्रयोग गरिने ढुंगाको व्यापार घटेको छ। अहिले ताराखोलाको ढुंगा प्राङ्गण, सडक तथा पदमार्गमा छाप्ने तथा घरको भित्तामा टास्ने कर्यका लागि होटल, मन्दिर तथा घरधनीहरूबाट अत्यधिक माग आउने गरेको छ। सडक सञ्जालले ग्रामीण क्षेत्र जोडिएपछि परम्परागत ढुङ्गेघर विस्थापित भएका छन् भने सिमेन्टका घर धमाधम निर्माण भएका छन्। 

सार्वजनिक भवनदेखि सरकारी कार्यालय पनि आधुनिक शैलीमा बन्न थालेपछि मौलिकता बोकेका घर ओझेलमा पर्दै गएका छन्। मौलिक सम्पदताका संरक्षणमा भने कुनै पनि स्थानीय पालिकाले तदारुकता देखाएको पाइँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.