|

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन्।

सरकारमा जाने तयारीमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहालबारे सो प्रतिक्रिया दिएका हुन्। शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वाससमेत व्यक्त गरे।

उनले जनताले बैंकबाट ऋण लिन नपाउने अवस्थाका अन्त्य गर्न सरकार गम्भीर हुने आशा आफूले गरेको पनि बताए।

अध्यक्ष साहले भने, ‘अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ। उहाँले केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहनुभएको छ। हामीले आशा राखौं–उहाँको कार्यकालमा यो चुनौतीहरुमा सुधार होस्। यो गतिहरुमा नयाँ रफ्तार समातोस् भन्ने विश्वास हामी प्रकट गर्न चाहन्छौँ।’

अध्यक्ष साहले कृषि पेसालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पनि आफूहरुले पार्टी एकता गर्नु परेको पटकपटक दोहोर्‍याए।

क्रान्तिकारीहरु एकतावद्ध भए मात्रै मुलुकमा जनताको आवश्यकता अनुसारको काम गर्न सकिने अवस्था आउने भएकाले आफूहरुले पार्टी एकताको कामलाई पनि सुरु गरेको उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.